काम गर्न जापान जाने नेपाली ठगिने क्रम बढ्दो

4 December, 2025

पछिल्लो समय वैदेशिक रोजगारीका लागि जापान जाने नेपाली ठगीमा पर्ने गरेको पाइएको छ । नेपालबाट काममा लगाइदिने भन्दै जापानमा अलपत्र पार्ने गरेको पाइएको हो ।

जापानको ठगीको विषय सरकारी निकायमा त्यति धेरै नआएपनि विभिन्न संघ संस्था तथा उद्धारकर्ताहरूले यो समस्या दिनप्रतिदिन बढ्दै गएको जनाएका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने र काम नपाएपछि बिचल्ली हुने घटना दिनप्रतिदिन आइरहेको वैदेशिक रोजगार उद्धार नेपालले जनाएको छ । उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले अचेल दैनिक ३/४ वटा कल जापानमा ठगीमा परेको भनेर आउने गरेको बताए ।

‘हरेक दिन ३/४ वटा कल आउँछ । हामी समस्यामा पर्‍यौं, खान र बस्न समेत पाएनौं, उद्धार गरिदिनुपर्‍यो भनेर ह्वाट्सएप तथा मोबाइलमा कल आउँछ’ उनले भने । वर्किङ भिसामार्फत कुकको काममा जाने नेपाली समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

नेपालका एजेन्ट तथा ट्राभल कम्पनीहरूले जापानका होटलहरूमा काम लगाइदिने भन्दै नेपाली पठाउने गरेका छन् । जापानमा बस्ने नेपालीले नै खोलेका होटलमा काम लगाइदिने भन्दै एजेन्टहरूले १० देखि २० लाख रूपैयाँसम्म लिने र जापान पुगेपछि बिचल्लीमा पार्ने गरेको अध्यक्ष गोलेको भनाइ छ ।

‘जापानमा बस्ने नेपालीहरूले होटल खोलेका हुन्छन् । अनि सिप, भाषा नजानेका जान खोज्छन् । भाषा सिकेर गएको भए त अन्य होटलहरूमा समेत काम गर्न सजिलो हुन्थ्यो नि,’ गोलेले भने, ‘भाषा नै नजानेपछि अन्य देशका नागरिकको होटलमा काम पाइँदैन, त्यसपछि बिचल्ली हुने र उद्धार गरिदिनुपर्‍यो भनेर आउँछन् ।’

बाहिरको सडकमा भौतारिरहेको अवस्थामा समेत उद्धार गरिएको अध्यक्ष गोलेको भनाइ छ । ‘काम नपाएकाहरू सडकमा बिचल्ली अवस्थामा बस्ने गरेका छन्’ उनले भने, ‘काम नपाएपछि पैसा हुँदैन, त्यसपछि सडकमा भौतारिहेर बस्नुपर्ने अवस्था आउँदो रहेछ ।’

पाल्पाका हरि शर्मा (परिवर्तित नाम) सात महिना अगाडि जापान पुगेका थिए। एक एजेन्टलाई १२ लाख ६० हजार रूपैयाँ बुझाएर जापान पुगेका उनले सात महिनासम्म काम पाएनन् । आफूलाई बिचल्ली बनाएको भन्दै उनी केही दिन अघि मात्रै नेपाल फर्किएका छन् । कुकको कामको लागि जापान गएका उनी केही काम नपाएपछि घर फर्किएका हुन् ।

यतिबेला उनले पैसा लिएर जापान पठाउने एजेन्टविरुद्ध उजुरी दिएका छन् ।

त्यस्तै रामेछापका रामबहादुर अधिकारी (परिवर्तित नाम) वैदेशिक रोजगारीका लागि जापान पुगे । जापान गएपछि ६ महिनासम्म कुनै काम नपाएपछि उनी हालै नेपाल फर्किएका छन् ।

एजेन्टलाई १८ लाख रूपैयाँ तिरेर जापान पुगेका उनले ६ महिनासम्म काम नपाएपछि अलपत्र परेका थिए । त्यसपछि घर परिवारको सहयोगमा उनी नेपाल फर्किएका हुन् ।

वैदेशिक रोजगार विभागले भने जापानमा त्यस्तो खालको समस्या भएकाहरू कमै आउने गरेको जनाएको छ । विभागका निर्देशक टिकाराम ढकालका अनुसार जापान जाने क्रममा ठगीमा परेको भन्दै उजुरी गर्न आउनेहरू एकदमै न्यून रहेको बताए । ‘ठगीमा परेको भन्दै निवेदन दिनेहरू आउँछन । तर, जापानको त्यतिधेरै केस छैन्,’ निर्देशक ढकालले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024