कामदारले पाएनन् ज्याला, ठेकेदार सम्पर्कविहीन

21 July, 2025

गोल्डेन बुढा

जुम्लाको तिला गाउँपालिका-४ नुवाकोट गाउँका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्। निर्माण कार्य सकिए पनि कामदारले पारिश्रमिक नपाएकाे गुनासो गरेका हुन्।

छिमेकी जिल्ला जाजरकोट घर भएका ठेकेदार राजेन्द्र रसाइलीले कामदारलाई काम गरेवापतको ज्याला दिएका छैनन्। नुवाकोट गाउँका कामदार दलबहादुर नेपालीका अनुसार विसं २०८० सालमा डाेल्पा जिल्लाकाे जगददुल्ला गाउँपालिका-२ झ्यालकाेटमा भवन निर्माण र २०८१ सालमा जुम्लाको सिंजा गाउँपालिका-१ जाँच गाउँमा खानेपानी निर्माणको काम गरेका थिए।

जगदुल्लाबाट साढे ३ लाख रुपैयाँ र सिंजाको जाँचबाट ६ लाख ९५ हजार रुपैयाँ ठेकेदारले ठगेको कामदारहरू बताउँछन्। ‘निर्माण कार्य सकिएर योजना सञ्चालनमा आइसकेका छन्। तर, हामीले अहिलेसम्म पारिश्रमिक पाएका छैनौँ। ठेकेदार राजेन्द्र अहिलेसम्म सम्पर्कमा छैनन्,’ दलबहादुरले भने, ‘ठेकेदारको खोजी गरेर कामदारको पारिश्रमिक उपलब्ध गराइदिनुपर्ने माग गरेका छौं।’

उनले कामदारको श्रम शोषण गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। डोल्पाको जगदुल्लामा ४० जना कामदार र सिंजाको जाँचमा ७१ जना कामदारले काम गरेका छन्। यी दुवै ठेक्का रसाइलीले नै लिएका थिए। ‘लामो समयसम्म पारिश्रमिक पाउने आशामा बस्यौं,’ उनले भने, ‘अहिले सम्पर्कविहीन भएपछि मात्रै ठगिएको थाहा भयो।’

१ सय ११ जना कामदारहरूले ठेकेदारविरुद्ध छानबिन गरेर कारबाही गर्न माग गरेका छन्। ‘हामीले श्रमको मूल्य पाएनौं। पहिले फोन गर्दा घण्टी गइरहन्थ्यो तर उठ्थेन,’ दलबहादुरले भने, ‘अहिले त फोन नलाग्ने बनाइसके। कहिलेकाहीँ फाेन नठ्नु फरक कुरा हो तर ब्याक कल नगर्नु र फाेन नलाग्ने गर्नु नियतमाथि खाेट हो। हामीलाई सरासर ठग्न लागिएको छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024