कामदारको बिमा रकम दोब्बर वृद्धि

7 April, 2016

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको म्यादी जीवन बिमाको बिमांक वैशाख १ गतेदेखि लागू हुने गरी शतप्रतिशत वृद्धि गरेर १० लाख रुपैयाँ पुर्‍याइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले यसअघि बिमांक ५ लाख रहेकामा वृद्धि गरी १० लाख पुर्‍याउने निर्णय गरेको हो ।

 

बिमांक रकम शत प्रतिशत वृद्धि भए पनि कामदारले जम्मा गर्नुपर्ने प्रिमियम भने ६५ प्रतिशतमात्रै वृद्धि हुने जानकारी बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले कान्तिपुरलाई दिए । कामदारले वैदेशिक रोजगारमा जाँदा म्यादी जीवन बिमाका लागि २५ सयदेखि ६५ सय रुपैयाँसम्म प्रिमियम तिर्नुपर्छ ।

 

उनका अनुसार कामदारका लागि बिमाको नयाँ व्यवस्था वैशाख १ देखि कार्यान्वयनमा ल्याउन बिमा समितिलाई आग्रह गरिएको छ । नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा बिमाबापत १० लाख, शव ल्याउन र किरियाखर्चका लागि साढे चार लाख र बोर्डले कल्याणकारी कोषबाट दिने ३ लाख गरी आश्रित परिवारले कम्तीमा साढे १७ लाख रुपैयाँ पाउने जानकारीसमेत काफ्लेले दिए । यसले विदेशमा कामदारको मृत्यु भएमा आश्रित परिवारलाई थप राहत पुग्नेछ । बैठकले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले करार अवधिभन्दा कम्तीमा ६ महिना थप समय रहने गरी बिमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । 

 

बोर्डले वैदेशिक रोजगारीमा जाँदा बिमा गराउन बिमा अभिकर्ता आवश्यकता नपर्ने भएकाले कामदारसित बिमा अभिकर्ता रकम (बिमा गराएबापतको कमिसन) नलिने व्यवस्था गर्न बिमा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाउन बिमा समितिलाई आग्रहसमेत गरेको छ । मन्त्रिपरिषद्ले नियमावली संशोधन गरेपछि बिमा कमिसन दिनु नपर्ने र त्यसबाट कामदारले तिर्नुपर्ने प्रिमियम रकमसमेत घट्ने जानकारी काफ्लेले दिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024