काभ्रेबाट ४९ म्यानमारका शरणार्थी काठमाडौं फर्काइयो

8 May, 2025

यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज (बुधबार) काठमाडौं फर्काइएको छ।

स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काएको हो।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौंस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए।

उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो।

यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए।

एक सय ४० जना शरणार्थी बस्ने गरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरु उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए।

काठमाडाैंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन्।

ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024