कम्पनी छोडेका ईपीएस कामदारलाई २ महिना समय थप

29 February, 2020

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया आएर कम्पनी छाडेर बसेका कामदारले कम्पनी खोज्न थप दुई महिना समय पाउने भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण कम्पनी छाडेका कामदारले नयाँ कम्पनी पाएका छैनन् ।

ईपीएस रहेका कामदारले एउटा कम्पनी छाडेपछि तीन महिनाभित्र अर्को कम्पनीमा काम गरिसक्नुपर्ने नियम छ। सो समयमा नयाँ कम्पनीमा काम नगरे स्वतः अवैधानिक हुने भए पनि अहिले कोरियाभरी नै कोरोना भाइरस संक्रमण बढेपछि फेब्रुअरी २८ देखि अप्रिल ३० सम्म तीन महिना कटेपनि कम्पनी अवैधानिक नहुने यहाँको न्याय मन्त्रालयले जनाएको छ।

काम छोडेका कामदारलाई नोदोम्बो(जब सेन्टर)ले नयाँ कम्पनीको म्यासेज पठाउने गर्छ। कोरोनाको संक्रमण बढेसँगै नयाँ म्यासेज थोरै मात्र आएका छन्। म्यासेज आएका कम्पनीले मान्छे नराख्ने समस्या काम छोडेर बसेका नेपालीले भोगिरहेका छन्।

‘कोरोना संक्रमणका कारण तीन महिनाभित्र कम्पनी खोज्न समस्या भयो भनेर हामीले केही समयअघि एआरडी कोरियालाई पत्र पठाएका थियौं।बिहीबार उनीहरुले थप दुई महिना समय कम्पनी खोज्न दिएको जानकारी हामीलाई दिएका छन्।’ नेपाली राजदूतावासका श्रम सहचारी डिल्लिराम बास्तोलाले भने। ‘यसबाट अहिले कम्पनी छाडेर बसेका नेपालीहरु लाभान्वित हुनेछन्। यो निर्णय नेपाल लगायत इपिएसबाट कोरिया आउने १६ देशकै कामदारलाई लागु हुनेछ।’ उनले थपे।

कोरोना भाइरसको कारण बढ्दै जाँदा यहाँका धेरै कम्पनीमा काम घटेको छ। केही कम्पनी बन्द भएका छन्। कामको अभाव भएसँगै केही कम्पनीहरुले कामदार कटौती गरेका छन् भने केहीले बेतलबी छुट्टि दिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024