‘उत्पादनशील क्षेत्रमा रेमिट्यान्स लगानी गर्नुहोस्’

15 Dec, 2019

टंक क्षेत्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले साताव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को उद्घाटन गरेका छन्। मन्त्री यादवले आप्रवासी कामदार दिवस २०१९ को अवसरमा सर्लाहीको हरिवनमा आयोजित ‘विदेशबाट आएको विप्रेशणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।

‘सीप र रोजगार ः आर्थिक समृद्धिको आधार’ भन्ने मूल नारासहित एक सातासम्म देशव्यापी रुपमा मनाइने दिवस शुक्रबारबाट सुरु भएको हो। उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरे। ‘जुन कामका लागि विदेश जाने हो, त्यसमा दक्षता हासिल गर्नुस्,’ मन्त्री यादवले भने, ‘त्यसपछि जुन देशमा जाने हो उक्त देशको भाषामा दक्षता एवं कानूनको आधारभूत जानकारी लिएर गए अझ निकै सहज हुन्छ।’

वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक पर्ने सीप निःशुल्क रुपमा सिकाउन सरकारले सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी गरिरहेको उनले जानरकारी दिए। त्यस्तै मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा अन्य देशका श्रमिकको तुलनामा नेपाली श्रमिकले निकै कम पारिश्रमिक पाईरहेको समेत बताए। ‘अन्य देशका श्रमिकको तुलनामा एउटै काम गर्दा पनि नेपाली श्रमिकले निकै कम पारिश्रमिक पाइरहेका छन्,’ उनले भने, ‘समान काम गर्दा अन्य देशका श्रमिक सरह नै नेपाली श्रमिकले पनि पारिश्रमिक पाउनुपर्छ भन्ने विषयमा सम्बन्धित देशमा लबिङ गरिरहेका छौं।’

अब वैदेशिक रोजगारीका जापानसहित युरोपेली युनियनमा आवद्ध देशमा समेत रोजगारीको अवसर सिर्जना गर्न पहल भइरहेको मन्त्री यादवले जानकारी दिए। ‘अब जापान एवं युरोपेली युनियनमा आवद्ध देशमा समेत नेपालीका लागि रोजगारीका अवसर सिर्जना गर्न पहल भइरहेको छ,’ यादवले भने। वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गराउनेतर्फ ध्यान दिनुपर्ने मन्त्री यादवको धारणा थियो। प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकमले उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्छ भन्नु भन्दा पनि जीविका धान्ने कुरामा निकै टेवा पु-याएको बताए।

कार्यक्रममा आयोजक संस्थाको तर्फबाट प्रस्तुत गरिएको तथ्यांक अनुसार नेपाल भित्रिने विप्रेषणको १.१ प्रतिशत मात्र उत्पादनशिल क्षेत्रमा खर्च भईरहेको र बाँकी रकम घरघडेरी तथा विलासि प्रयोगमा खर्च भईरहेको उल्लेख छ। हेल्भेटास नेपालको आर्थिक एवं प्राविधिक सहयोग रहेको कार्यक्रम सहयोगी समाज नेपाल तथा स्वाबलम्न केन्द्रले संयुक्त रुपमा आयोजना गरेका हुन्। आयोजक संस्थाका हरि थापाले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा दुई नं. प्रदेश भित्रका ८ वटै जिल्लाका वितिय संस्थाका प्रतिनिधि, उद्योगी व्यापारी, वैदेशिक रोजगारीबाट फर्केर अन्य व्यवसाय गरिरहेकाहरु तथा वैदेशिक रोजगारीमा रहिरहेका परिवारको उपस्थिती रहेको थियो। मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही आएका यादव तीन दिनसम्म विभिन्न कार्यक्रममा सरिक हुँदै शुक्रबार काठमाडौं फर्किएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024