इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय ३६ जना नेपाली श्रमिक छनोट गरेको छ । इजरायलको इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) ले लट्रीमार्फत ८ सय ३६ जनालाई छनोट गरेको हो । त्यसका लागि १ हजार १ सय १५ जनालाई लट्रीमा सहभागी गराइएको थियो । तिमध्ये ७५ प्रतिशतले हुन आउने ८ सय ३६ जनालाई छनौट गरेको हो ।
इजरायले छनोटमा परेकाहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ । जसका आधारमा विभागले श्रमिक पठाउने प्रक्रिया अघि बढाउनेछ । केयरगिभरका लागि २ हजार ३ सय जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय ३१ जना मात्रै पास भएका थिए ।
लट्रीको प्रत्यक्ष प्रसारणका क्रममा नेपालका लागी इजरायली राजदूत श्मुलिक एरी बासले इजरायलको हेरचाह क्षेत्रमा छिट्टै २ हजार १ सय भन्दा बढी थप कोटा खुल्ने बताए ।
साथै इजरायल र नेपालले होम बेस्ड केयर (घरमै आधारित हेरचाह) र ‘कृषि कामदार’ सम्बन्धी दुई द्विपक्षीय सम्झौताहरूलाई अन्तिम रूप दिन लागिएको समेत बताए । जसमा नेपाली श्रमिकलाई धेरै अवसरहरू रहेको उनको भनाइ थियो ।
छनोट भएका उम्मेदवारहरूले स्वास्थ्य परीक्षण र आपराधिक पृष्ठभूमि जाँच लगायतका भर्ना प्रक्रियाका अन्तिम चरणहरू अघि बढ्नेछन् । स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका र कुनै आपराधिक रेकर्ड नभएका व्यक्तिहरू सन् २०२६ को सेप्टेम्बरदेखि इजरायल जाने पाउनेछन् ।
यस द्विपक्षीय सम्झौता अन्तर्गत भर्ना हुने नेपालीले इजरायली कानुन अनुसार इजरायली कामदारहरू सरह नै न्यूनतम तलब र रोजगारीका सुविधाहरू पाउनेछन् ।
लट्री कार्यक्रममा पिबाकी निर्देशक शिर्ले राइसिन स्यासनले नेपालका लागि छुट्याइएको कोटाअन्तर्गत छनोट प्रक्रिया चाँडै सुरु हुने बताइन् । उनले नेपालसँगको श्रम सम्झौताअन्तर्गत पारदर्शी रूपमा श्रमिक भर्ना प्रक्रिया अघि बढाइएको र नेपाली श्रमिकलाई इजरायल लैजान आफूहरू उत्साहित रहेको उल्लेख गरिन् ।
इजरायलले २ हजार ३ सय केयरगिभरका लागि आवेदन माग गरेको थियो । १५ हजार भन्दा बढीले अंग्रेजी भाषा परीक्षा दिएका थिए । तर, अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय ३१ जना मात्रै पास भएका थिए । तिमध्ये लट्रीका लागि १ हजार १ सय १५ जना मात्रै योग्य भएका थिए ।
बाँकी रहेको कोटा र थप कोटा गरेर चाडै नयाँ आवेदन खुला गरिने इजरायले जनाएको छ ।