अच्युत पुरी
पर्यटक भिसामा गई काम खोज्ने प्रवृत्ति बढेपछि मकाउमा रहेका नेपालीहरू समस्यामा पर्न थालेका छन् । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुक मानिने मकाउमा पछिल्लो समय १४ दिने पर्यटक भिसामा आएर लुक्ने प्रवृत्ति बढेको यहाँस्थित गैरआवासीय नेपाली संघका पदाधिकारी बताउँछन् । ‘मकाउमा कामदार माग भएका वेला कानुनी प्रक्रिया पूरा गरी मात्र आएका नेपालीलाई कुनै समस्या छैन,’ संघका वरिष्ठ उपाध्यक्ष मंगल राईले भने, ‘तर, पर्यटक भिसामा आएर यतै बस्न खोज्ने सबैजसो नेपाली समस्यामा पर्ने गर्छन्।’
मकाउ क्षेत्रफलका दृष्टिकोणबाट सानो मुलुक हो । त्यसमाथि मकाउले पर्यटक भिसा केवल १४ दिनका लागि मात्र जारी गर्छ । करिब ३० वर्गकिलोमिटर क्षेत्रफल जमिनले ओगटेको मकाउमा गैरकानुनी रूपमा बस्न गाह्रो भए पनि नेपालबाट दलालको जालोमा फसिएर नेपालीहरू नियमित आउने गरेको अर्का नेपाली युवराज न्यौपाने बताउँछन् । ‘तपाईं यो सन्देश नेपालमा पुर्याइदिनुस्,’ उनले भने, ‘पर्यटक भिसामा मकाउ आउने कसैले पनि यहाँ काम गर्न पाउँदैनन् ।’
आकर्षक जागिरको प्रलोभनमा १० लाखसम्म लिन्छन् दलाल
पर्यटक भिसामा मकाउ पुगेर अलपत्र परिसकेपछि युवा मकाउमा नेपालीको हकहितका लागि खुलेका संघसंस्था र गैरआवासीय नेपाली संघमा पुग्ने गर्छन् । यसरी शरणमा पुग्ने सबैजसो युवाले नेपालमा दलाललाई १० लाखसम्म बुझाएको बताउने गरेको न्यौपानेले जानकारी दिए । ‘मकाउ भन्नासाथ यहाँको कानुन पढेर मात्र जाने विचार बनाउनुस्,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा गर्नेका लागि आकर्षक देश भए पनि गैरकानुनी व्यक्तिले काम पाउँदैनन् ।’
थोरै संख्या–आकर्षक रोजगारी
करिब साढे ६ लाख कुल जनसंख्या रहेको मकाउमा लगभग सोही संख्यामा विदेशी कामदार कार्यरत छन् । त्यसमध्ये नेपालीको संख्या ४ हजारभन्दा बढी रहेको संघले जानकारी दिएको छ । यहाँ अधिकांश नेपाली सुरक्षागार्डका रूपमा कार्यरत छन् । मकाउ क्यासिनो र होटेलका लागि विश्वप्रख्यात पर्यटकीय गन्तव्य हो । यहाँका क्यासिनोमा नेपाली सुरक्षागार्ड सबैभन्दा विश्वासिला मानिन्छन् । मकाउमा नेपालीले कामको प्रकृति र पद हेरेर मासिक डेढ लाखदेखि ७ लाख रुपैयाँसम्म कमाउने राईले जानकारी दिए । त्यसबाहेक कतिपय नेपालीले मकाउमै रेस्टुरेन्ट तथा अन्य व्यवसायसमेत प्रारम्भ गरिसकेका छन् ।
कामदार खोज्दै नेपालमै आउँछन् कम्पनी
मकाउमा आएर काम गरिरहेका नेपालीहरूका अनुसार जब मकाउमा कामदारको खाँचो पर्छ, त्यसपछि त्यहाँका कम्पनीहरू कामदारको खोजीमा आफैँ नेपाल आउँछन् । त्यसकारण दलालको प्रलोभनमा फसिएर ठूलो रकम बुझाउनु मूर्खता मात्र हुने न्यौपानेले बताए । उनका अनुसार मकाउमा कुनै कम्पनीले विदेशी कामदार आफ्नो इच्छाअनुसार राख्न पाउँदैन । एउटा कम्पनीमा तीनजना कामदार आवश्यक भए दुईजना अनिवार्य रूपमा स्वदेशी कामदार राखेपछि मात्र एकजना विदेशी राख्न पाइने कानुनी प्रावधान छ । सोहीकारण पर्यटक भिसामा आउने नेपालीले सीधै काम पाउने सम्भावना न्यून हुने उनले स्पष्ट पारे ।
रेमिट्यान्स भित्रने माध्यम हुन्डी
मकाउमा कार्यरत नेपालीले घर पैसा पठाउने एक मात्र माध्यम हुन्डी हो । मकाउबाट पैसा नेपाल पठाउन बैंकिङ च्यानल नरहेको, अरू औपचारिक माध्यम नखुलेको र हुन्डी कारोबारीले घरपायक सेवा दिने भएकाले यसको विकल्प नरहेको यहाँ कार्यरत नेपाली बताउँछन् । हुन्डी कारोबारकै कारण मकाउबाट आफूहरूले नेपाल पठाएको पैसाले राज्यका लागि योगदान गर्न नपाएको ती नेपालीको गुनासो छ । हुन्डी कारोबारीले मकाउमा पैसा बुझ्नासाथ नेपालमा घरमै पैसा पुग्ने भएकाले कामदारलाई भने सुविधा भएको छ ।
मकाउबाट मासिक कति रकम भित्रन्छ भन्ने यकिन तथ्यांक छैन । तर, औसत ४ हजार नेपालीले मासिक १ लाख रुपैयाँ पठाउँदा पनि वार्षिक करिब ५ अर्ब रुपैयाँ हुन्डीबाट मात्र नेपाल भित्रन्छ । हुन्डी कारोबारीहरू हङकङमा बस्ने र उनीहरूले मकाउसहित यस क्षेत्रआसपासमा सञ्जाल विस्तार गरेर कारोबार गरिरहेको नेपालीहरू बताउँछन् ।