अस्ट्रेलियामा सात नेपाली कोरोनाबाट संक्रमित

28 March, 2020

हेमन्त काफ्ले 

अस्ट्रेलियामा रहेका सात जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। 

सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने उनीहरू हाल आइसोलेसनमा रहेका छन्। 

उनीहरू बस्ने अपार्टमेन्टमा ५० भन्दा बढी नेपाली विद्यार्थी समेत बसोबास गर्दै आएका छन्। 

‘ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य तीन जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन्’, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने,‘हामीले उनीहरूको स्वास्थ्य स्थितिका बारेमा चासो राखेका छौं। हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको जानकारी आएको छ।’ 

यसैगरी, मेलवर्नमा एकै परिवारमा रहेका तीन जनामा कोरोना संक्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ। 

‘हामीकहाँ हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नमा बसोबास गर्ने सात जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दूतावासले उनीहरूसँग सम्पर्क गरिरहेको छ’, राजदूत दाहालले भने। 

कोरोनाको संक्रमणले संसार आतंकित बन्दै गएको बेला अस्ट्रेलियामा भने अझै सार्वजनिक यातायात र सपिङ सेन्टरहरू बन्द भएका छैनन्।

अझसम्म केन्द्रीय सरकारले स्कुल तथा कलेज बन्द गर्ने निर्णय नगर्दा विद्यार्थीहरू यसबाट प्रभावित हुने जोखिम बढेको छ। 

हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको र यस्तो परिस्थितिमा सबैले संयम भएर घरमा बस्न र भीडभाडमा नजान राजदूत दाहालले आग्रह गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024