अमेरिका भिजा लगाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

18 February, 2020

काठमाडौं – अमेरिका जान भिजा पक्रिया मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भिजा मिलाइदिनका लागि बैंक व्यालेन्स् देखाउन भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरको ठिमीबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा बागलुङ, बागलुङ नगरपालिका–२ घर भइ हाल ललितपुर इमाडोल बस्दै आएका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोकका ३४ वर्षीय गणेश लामा रहेको महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।

उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको थियो। काठमाडौं तार्केश्‍वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानको लागि बैक व्यालेन्स् देखाउनुपर्ने भन्दै आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ जम्मा गर्न लगाएको उनले बताए। भोलीपल्ट बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरेर उनी सम्पर्क विहिन भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।

पीडितले जाहेरी दिएपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता सिंहले बताए। त्यसबाहेक कुँवर र लामाले अन्य तीन जनाबाटसमेत ७० लाख रुपैयाँ ठगी गरेको प्रहरीको दावी छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024