अमेरिकामा सात नेपाली ‘खराबमध्येका अति खराब’ सूचीमा

15 April, 2026

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले देशव्यापी अध्यागमन अभियान तीव्र बनाउँदै गम्भीर अपराधमा संलग्न गैरनागरिकहरूलाई लक्षित गरेको छ। सोही क्रममा पक्राउ परेका सात जना नेपाली नागरिकलाई “सबैभन्दा खतरनाक अपराधी” को सूचीमा राख्दै ‘खराबमध्येका अति खराब’मा समावेश गरिएको छ।

ट्रम्प प्रशासनको निर्देशनअनुसार हिंसात्मक तथा गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्राथमिकतामा राखी देशनिकाला गर्ने नीति कार्यान्वयन भइरहेको अधिकारीहरूले जनाएका छन्। होमल्याण्ड सेक्युरिटीले यस्तो कदम राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको स्पष्ट पारेको छ।

होमल्याण्ड सेक्युरिटीको वेबसाइटमा उल्लेख छ, “होमल्याण्ड सेक्युरिटीले आइसद्वारा पक्राउ गरिएका ‘खराबमध्येका अति खराब’ आपराधिक विदेशीहरूलाई सार्वजनिक गरिरहेको छ। होमल्याण्ड सेक्युरिटीको नेतृत्वमा कर्मचारीहरूले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्दै ‘खराबमध्येका अति खराब’ बाट सुरु गरी सामूहिक देशनिकाला कार्य अगाडि बढाइरहेका छन्” ।

आइसीइका अधिकारीहरूले विभिन्न राज्यहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेका हुन्। सार्वजनिक गरिएको विवरणअनुसार उनीहरू यौन शोषण, ठगी, लागुऔषध ओसारपसार, चोरी तथा हिंसात्मक आक्रमणजस्ता गम्भीर अभियोगमा दोषी ठहर भएका छन्।

सूचीमा कोलोराडो, टेक्सस, न्यूयोर्क र एरिजोनालगायत राज्यहरूमा आपराधिक गतिविधिमा संलग्न रहेका नेपालीहरूको नाम उल्लेख गरिएको छ। केही व्यक्तिहरू नाबालिगसँग सम्बन्धित अपराधमा दोषी ठहर भएका छन् भने अन्य ठगी, डकैती र लागुऔषध कारोबारमा संलग्न रहेको बताइएको छ।

यसैबीच, पछिल्लो समय अमेरिकाबाट नेपाली नागरिकलाई देशनिकाला गर्ने क्रम उल्लेखनीय रूपमा बढेको छ। सन् २०२६ को सुरुवातसँगै सयौं नेपालीहरू फिर्ता पठाइसकिएको तथ्याङ्कले देखाउँछ। अप्रिल ७ मा मात्र ४८ जना नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं पठाइएको थियो।

अध्यागमन विभागका अनुसार, वर्षको पहिलो दुई महिनामै २३१ जना नेपाली देशनिकाला भइसकेका छन्। यसले अमेरिकामा कडाइ गरिएको अध्यागमन नीतिको प्रभाव स्पष्ट रूपमा देखाएको छ।- (पत्रकार किशोर पन्थीको सहयोगमा)

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024