यूएईमा ३ सय ९१ नेपाली अवैध, आममाफीका लागि दूतावासले सुरू गर्‍यो घुम्ती सेवा

17 August, 2018

वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ ।

यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि  यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वजनिक गरिएको हो ।

साउन ३१ गते बिहीवार एक सूचना जारी गर्दै दूतावासले विभिन्न कारणले यूएईमा अबैधानिक बन्न पुगेका नेपालीहरुको पासपोर्ट अध्यागमनमार्फत दूतावासको कार्यलयमा प्राप्त भएको जनाएको हो ।

नेपाली दूतावासले यूएईमा बिना भिसा लुकिछिपी बसेका सबैको नाम, पासपोर्ट नम्बर र जिल्लाको नाम सहित सूचना जारी गरी आफ्नो पासपोर्ट लिएर वैध बन्न या स्वदेश फर्किन अनुरोध गरेको छ ।

यूएई सरकारले गत अगस्ट १ देखि अक्टोबर ३१ सम्म लागू हुने गरी सुरु गरेको ३ महिने आममाफीको सुविधा लिन र यसको प्रक्रियामा सहभागी बन्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यसका लागि नेपाली दूतावासले घुम्ती शिविर संचालन गरी सुविधा दिइरहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताएका छन् ।

हिजोआज विभिन्न इमिरेट्सबाट  दैनिक ४० देखि ५० जनासम्म दूतावासको सम्पर्कमा आएर वैध बन्ने या घर फर्किने गरेको दूतावासका श्रम सहचरी मोतीराम भुसालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

अबैधानिक बनेका नेपाली कामदारको पासपोर्ट खोजी ,एकतर्फी यात्रा अनुमति पत्र वितरण तथा वैधानिक बनी बस्न चाहानेलाई नेपाली दूतावासले आवश्यक सहयोग गर्दै आएको छ ।

नेपाली दूतावास अबुधाबीले आफ्नो कार्यालयमा प्राप्त सूचना र पासपोर्ट नियमित क्रमश अध्यावधिक गराइने सूचना जारी गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026