विदेशमा हण्डर खाएपछि बाख्रापालनमा

3 August, 2014

पैसा कमाउन खाडी मुलुक साउदी अरब पुगे। कमाइ राम्रो नभएपछि फर्किएर विकसित मुलुक जाने प्रयासमा तीन लाख रुपैयाँ दलाललाई दिए। विदेश जाने चक्करमा काठमाडौं जाँदाआउँदाको हैरानी आफ्नै ठाउँमा छ। दमेक–६, बनौँका धनप्रसाद सापकोटाको लाखौं रुपैयाँ खर्च भयो सफलता हात लागेन।

त्यही हण्डरले उनलाई विदेश नजाने निर्णयमा पुर्याईयो र थाले पशुपालन। ‘अर्काको देशमा गएर गोठालोभन्दा आफैं मालिक, आफैं कामदार बन्ने अभियानमा छु,’ घरैमा पशुपालन व्यवसाय सुरु गरेका सापकोटाले भने।  विदेशमा कमाइ हुने आसमा भौंतारिएका सापकोटाले अहिले बाख्रापालन व्यवसाय गरेर उताको भन्दा धेरै कमाइ गरिरहेका छन्। आफ्नै घरमा उन्नत जातका बाख्रापालन सुरु गरेका सापकोटाले अहिले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। ‘साउदीका रोडको तातो बालुवामा काम गर्दा १२ हजार रुपैयाँ कमाउँथें,’ सापकोटाले भने, ‘अहिले घर परिवारसँगै बसेर वार्षिक करिब साढे दुई लाख रुपैयाँ आम्दानी गरिरहेको छु।’ 

व्यवसाय गर्न सुरुमा लगानी गर्न कठिन भएपछि हेफर इन्टरनेसनलको सहयोगमा दीपज्योति युवा क्लब, (डिवाइसी) बागलुङले १२ वटा बाख्रा सापकोटालाई दिएको थियो। ‘उपहार स्वरुप दिएका सबै बाख्रा फिर्ता गरिसक्नु भयो,’ डिवाइसीका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले भने, ‘अहिले व्यवसायमा लागेर आत्मनिर्भर बन्नुभएको छ।’

दुई वर्षअघि पशुपालन सुरु गरेका सापकोटाको खोरमा अहिले २५ बाख्रा छन्। ‘संस्थाले दिएका सबै बाख्रा फिर्ता गरेपछि समय–समयमा बाख्रा बेचेर आम्दानी गरेको छु,’ उनले भने, ‘अब बाहिर जाने मानसिकता तोडेर पशुपालनमा लागें।’ व्यवसाय गर्न व्यावसायिक सीप पनि डिवाइसीले दिएको उनले बताए। उनले ब्याडे बोकोसमेत पालेका छन्। अन्य किसानले पालेका बाख्रीको गर्भाधानमा सहभागी गराएपछि प्रतिबाख्री किसानसँगब सय रुपैयाँ लिने गरेका छन्। सुरुमा काम गर्न डोको बोकेर हिँड्दा लाज लाग्ने गरे पनि विदेशबाट फर्किएपछि त्यस्तो हुन छाडेको उनको भनाइ छ। 

पशुपालनको लागि बारीमा विभिन्न प्रजातिका घाँस रोपेका छन्। साउदी अरबको भन्दा धेरै कमाइ गर्न थालेका सापकोटाले पशुपालनसँगै तरकारी खेती सुरु गरेका छन्। बन्दा, काउली, लसुन, अदुवा, आलु जस्ता तरकारी लगाएका छन्। करिब दुई क्विन्टल अदुवा बेचेर एकै सिजनमा २६ हजार रुपैयाँ आम्दानी गरेको सुनाए। घरनजिकै कच्ची मोटरबाटो पुगेकोले उत्पादनले सहजै बजार पाउने भएपछि सजिलो भएको छ। यो वर्ष अदुवा, आलुको उत्पादन बढाएर मनग्य आम्दानी गर्ने तयारीमा छन्। त्यही आम्दानीबाट छोराछोरीको पढाइ खर्चसँगै घरव्यवहार चलाएका छन्। छोरो विदेश नगई घरमै व्यवसाय सुरु गरेकोमा बूढी भएकी आमा जमुनादेवी पनि खुसी छिन्। ‘यहीँ केही गरभन्दा नमानेपछि विदेश गएर हण्डर खायो,’ जमुनाले भनिन्, ‘अहिले यहीँ बाख्रा पाल्न थालेकोमा खुसी लागेको छ।’ यहीँ बसेपछि बुढेसकालको सहारा बन्छ,’ उनले भनिन्।

सापकोटाले बाख्रापालन गरेर राम्रै कमाउन थालेपछि छिमेकमा पनि बाख्रापालन सुरु गरेका छन्। उनको सफलतासँगै सोही स्थानकी भगवती सापकोटाले बाख्रा पालेकी छिन्। ‘एकजना सफल भएपछि अरुलाई पनि उत्साह थपिँदो रहेछ,’ उनले भनिन्, ‘अहिले गाउँमा बाख्रापालनको लहर चलेको छ।’ त्यहाँका १९ जना किसानले सृजनशील समूह गठन गरेर व्यवसाय अघि बढाएका छन्। त्यहाँका किसानले व्यावसायिक रुपमा पशुपालन गरेर आत्मनिर्भर भएको जिल्ला पशु कार्यालयका निमित्त प्रमुख निलकण्ठ शर्माले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024