शवमात्रै आउने विभागले हाकिम पाएन

14 November, 2013

सधैं आकर्षक पोस्टिङका लागि हानाथाप चल्ने परराष्ट्र सेवामा यतिबेला विदेशमा दुःख पाएका नेपालीहरूको मामला हेर्ने कन्सुलर विभागमा महानिर्देशकका रूपमा पठाउन एउटा सहसचिव भेटिएकोे छैन । यसअघि उपसचिवलाई कायममुकायम बनाएर अनाकर्षक कन्सुलर विभाग चलाइएको थियो । विदेशमा नेपाली समुदायको संख्या र मामलामा उल्लेख्य वृद्धि हुँदै गएका कारण यो निकाय गत वर्ष महाशाखाबाट विभागीय स्तरमा स्तरोन्नति भएको हो । कर्मचारीहरू कामको प्रवृत्ति र अतिरिक्त लाभको अभावका कारण त्यहाँ जान रुचाउँदैनन् । कसैको प्राथमिकता नपरेका कारणले पनि विभागको त्रिपुरेश्वरस्थित कार्यालय अव्यवस्थित र अनाकर्षक रहेको छ । विभागीयस्तरमा बढुवा गरिएपछि पनि त्यहाँ कोही जान नमानेपछि एक उपसचिवलाई प्रमुख बनाएर पठाइएको हो । उपसचिवका रूपमा कन्सुलर विभाग चलाएका यादवराज खनालले गत महिना अनिवार्य अवकाश पाएपछि विभाग नेतृत्वविहीन बन्दै आएको छ । दैनिक दर्जनौं गम्भीर समस्या तेर्सिने कन्सुलर विभागमा परराष्ट्र मन्त्रालयले महानिर्देशक पठाउन नसकेपछि त्यहाँ भाँडभैलो सुरु भएको छ । ‘हामीलाई अब सेवाग्राहीले जेसुकै गर्ने स्थिति छ । काम सबै रोकिएको छ । हामीले पनि तलब खान पाएका छैनौं,’ एक अधिकृतले कान्तिपुरसँग भने । पछिल्ला दिनसम्म परराष्ट्रमन्त्री माधव घिमिरेको गृह मन्त्रालयतर्फको व्यस्तता र परराष्ट्र सचिव अर्जुनबहादुर थापाको विदेश यात्रालाई कारण देखाइँदै आए पनि त्यसमा सत्यता नभएको अधिकारीहरू बताउँछन् । मन्त्रालयले केही दिनअघि मात्र भारतस्थित दूतावासको डेपुटी चिफ अफ मिसन -डीसीएम) मा सहसचिव कृष्णप्रसाद ढकाललाई नियुक्त गरेको हो । त्यससँगै कन्सुलर विभागका लागि भने मन्त्रालयले केही गर्न सकेन । ढकाल छ महिनापछि भारत पोस्टिङमा जानेछन् । ‘दिनदिनै लासमात्रै आउने यो ठाउँमा को आउन चाहोस्,’ विभागका कर्मचारी भन्छन् । मन्त्रालयका अधिकारीहरूका अनुसार कोही सहसचिव जान नमानेकाले वरिष्ठ उपसचिवलाई भए पनि त्यहाँ पठाउने कोसिस भइरहेको छ । ‘त्यो पनि सम्भव भइरहेको छैन,’ उनीहरू भन्छन् । यसैबीच खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले केही दिनमै भारतका डीसीएम खगनाथ अधिकारीलाई स्वीट्जरल्यान्डका लागि राजदूतमा नियुक्त गर्ने तयारी सुरु गरेको छ । त्यसैकारण ढकाललाई भारत पोस्टिङ गरिएको जानकार स्रोत बताउँछन् । कन्सुलर विभागको यस्तो दुर्दशा चलिरहँदा बुधबार परराष्ट्रले सबैजसो शाखा अधिकृतहरूको सरुवा गरेको छ। परराष्ट्र सेवाभित्रको आकर्षक पोस्टिङको सदावहार होडबाजी र राजनीतिक दलहरूको समेत नजर लागेका कारण सरकारले महिनौं, वर्षौं बित्दा पनि विभिन्न पाँच देशमा राजदूत नियुक्त गर्न सकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026