घर फर्किंदा सीमामा नेपाली कामदारलाई जहिल्यै सास्ती

20 October, 2026

Bhawani Bhatta

५२ वर्षीय कालीबहादुर सहकारीलाई कामको खोजीमा भारत जान लागेको चार दशक पुग्यो । १२ वर्षकै उमेरदेखि उनी भारतको उत्तराखण्डस्थित कालापहाड पुगेका हुन् । अहिले पनि उत्तराखण्डकै गढवाल, अल्मोडा क्षेत्रमा पुग्ने गरेका छन् । चार दशकदेखि ज्यालामजदुरी गर्ने उनलाई धेरै कुरा परिवर्तन भएजस्तो लाग्छ । तर एउटै कुरा अझै परिवर्तन भएको छैन । त्यो हो, नाकामा जाँचका नाममा हुने सास्ती र यातायातका साधनमा जहिल्यै ठगिनुपर्ने ।

यसपटक पनि उनले दसैंका लागि घर फर्किँदा सीमावर्ती बजार बनबासाबाट गड्डाचौकीसम्मको भाडा दुई गुणाभन्दा बढी तिर्नुपर्‍यो । सामान्यतया बनबासादेखि गड्डाचौकी नाकासम्मको भाडा ५० भारु पर्छ । सामान भए केही थप गर्नुपर्छ । तर उनले अढाई सय तिर्नुपर्‍यो ।

‘यो कुरा त कहिल्यै नसुध्रिने भयो, अनेक बहानामा पैसा लिइहाल्छन्,’ उनले भने, ‘ठाउँठाउँमा चेकजाँच पनि नहट्ने भयो ।’ उनका अनुसार नाकामा भारत र नेपाल दुवैतर्फ जाँचमा पनि निकै समस्या हुने गरेको छ । भारततर्फ त झन् जाँचका लागि भारी बोकेरै लाइन लाग्नुपर्ने र एक्सरे मेसिनमा जाँच गराउनुपर्ने हुन्छ । यसका लागि पिठ्युँमा भारी बोकेर लामो लाइनमा पर्खिनुपर्ने हुन्छ ।

अहिले पनि उनी ज्यालामजदुरीकै काम गर्छन् । दैनिक ज्याला ५ सयदेखि ६ सयसम्म पाउँछन् । ४० वर्षअघि दैनिक ज्याला १०/२० रुपैयाँ पाउने बेला पनि भारततर्फ जाँदा होस् वा फर्किंदा यस्तै समस्या हुन्थ्यो । त्यो समस्या अहिले पनि उनको भोगाइमा उस्तै छ ।

कालीकोटको पचालझरना गाउँपालिकाका उनी हरेक वर्ष खेतीपाती लगाएर कामको खोजीमा भारत जाने गर्छन् । फेरि खेतीपाती भित्र्याउन घर फर्किन्छन् । यसैगरी वर्षौंदेखि उनी आउजाउ गरिरहेका छन् ।

यसपटक उनी अल्मोडाबाट दसैँ मनाउन घर आएका हुन् । अल्मोडामा उनी ढुंगा फोड्ने, माटो बोक्ने, इँटा बोक्ने लगायतका काम गर्दै आएका छन् । दैनिक ज्याला कहिले ५ सय त कहिले ६ सय पाउँछन् । त्यसैबाट उनले घरपरिवारको गुजारा गर्दै आएका छन् ।

‘आउनेजाने भाडादेखि धेरै कुराको मूल्य बढिसक्यो, तर हाम्रो ज्याला निकै कम बढेको छ,’ उनले भने, ‘त्यही ज्यालामा आफ्नो खानुबस्नु र घरपरिवारको खर्च चलाउनै मुश्किल भएको छ ।’ उनी तिहारलगत्तै खेतीपाती भित्र्याउने र गहुँ छर्ने काम सकेर फेरि काममा फर्किनेछन् ।

‘हामीले घर फर्किंदा जहिल्यै बढी भाडा तिर्नुपरेको छ, कहिले सामान भन्छन्, कहिले चेकजाँचको भन्छन्,’ कालीकोटकै अर्को नेपाली कामदार विशाल विकले भने, ‘ज्यालामजदुरी गरेर चाडपर्वका लागि बचाएको रकम पनि बाटोमै सकिन्छ ।’ यो पटक पनि उनले बनबासाबाट गड्डाचौकीसम्मको भाडा २ सय तिरे । जबकि सामानसहितको भाडा पनि सय रुपैयाँ हाराहारी पर्ने गरेको छ ।

भारततर्फ मात्रै होइन, नेपालतर्फ पनि घर फर्किने नेपालीहरूबाट चर्को भाडा लिने गरेको पाइन्छ । गड्डाचौकीदेखि महेन्द्रनगरसम्म ५० रुपैयाँ नेपाली भाडा पर्छ । तर अहिले सामान आदिको भनेर घर फर्किनेबाट सय नेपाली रुपैयाँ लिने गरेको पाइन्छ । तर यसबाहेक कसैले पनि कहिँकतै उजुरी वा गुनासो गर्दैनन् । घर फर्किने हतारो र तत्काल न्याय पाउने विश्वास नभएका कारण उनीहरू चुपचाप आफ्नो बाटो लाग्ने गरेका हुन् ।

बढी भाडा लिएको वा अन्य समस्याबारे गड्डाचौकीस्थित यात्रु सहायता कक्षमा यस वर्ष एउटा पनि गुनासो नआएको यात्रु सहायता कक्षले जनाएको छ । कक्षमा गुनासो गर्नसमेत कोही आउँदैनन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026