चाडवाड नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरूको घुइँचो र बाक्लो चाप देखिन थालेको छ। वर्षभरि पराइ भूमिमा पसिना बगाएर परिवारको खुसी बुन्ने नेपालीहरू चाडपर्वको अवसरमा आफन्तसँग भेटघाट गर्न र खुसी साटासाट गर्न फर्किने क्रम तीव्र छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भेटिने हरेक अनुहारमा आफ्नै जन्मभूमि टेकेको छुट्टै उमंग, आँखामा खुसीका आँसु र हातमा पोकापुन्तुरा बोकेका यात्रुहरूको चहलपहलले चाडपर्वको रौनक फर्काएको छ।
घटस्थापनाको अघिल्लो दिन शनिबार त्रिभुवन विमानस्थलमा भेटिए वैदेशिक रोजगारीका लागि २१ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा बसिरहेका तनहुँको ऋषिङ गाउँपालिका–३ का थमनसिंह राना मगर। उनी लामो समयदेखि यूएईको अबुधाबीमा कार्यरत छन्। समय–समयमा बिदामा आउँदै–जाँदै गरेका उनी यसपटक भने करिब चार वर्षको अन्तरालमा परिवारसँगै बसेर बडादसैं मनाउन नेपाल फर्किएका हुन्। ‘आफ्नो जन्मभूमि फर्कंदा मनमा छुट्टै हर्ष आएको छ,’ उनी भन्छन्।
सबैका लागि भने यो आगमन केवल खुसीको कथा मात्र बनेर आएको छैन। दुबईमा विगत तीन वर्षदेखि कार्यरत चितवन राप्ती नगरपालिका–८ की संगीता तामाङ छोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आपतकालीन रूपमा स्वदेश फर्किएकी छन्। साढे दुई वर्षको अवधिमा अस्ति भर्खरमात्र बिदामा घर आएकी उनी, आफ्नी १२ वर्षीया छोरी सलोनी तामाङलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि पुनः हतारहतार नेपाल फर्कन बाध्य भएको बताउँछिन्।
यतिबेला उनलाई दसैंको खुसीभन्दा पनि छोरीको स्वास्थ्य अवस्थाका कारण गम्भीर चिन्ताले सताएको छ। आफूसँग भएको सबै पैसा सकिएर उपचारमा लाग्दा पनि निको नभएपछि थप उपचारको रकम जुटाउन समस्या परिरहेका कारण आफूमा चिन्ता बढेको उनले बताइन्।
इजरायलमा विगत पाँच वर्षदेखि कार्यरत ताप्लेजुङको मिक्वाखोलाकी कञ्चन क्षेत्री पनि लामो समयको अन्तरालमा दसैं मनाउन स्वदेश फर्किएकी छन्। वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षसम्म विदेश बस्दा जीवनमा धेरै कुरा सिकेको र आफ्नै खुट्टामा उभिन सक्षम बनेको उनले बताएकी छन्। ‘लामो समयपछि आफ्नै जन्मभूमि फर्कन पाउँदा खुसी महसुस भइरहेको छ,’ उनले भनिन्। एकैचोटि परिवारले घरमा देख्दा परिवारमा सरप्राइज हुने भएकाले उनले आफ्नो परिवारलाई बिनाजानकारी नेपाल आएको बताइन्।
मलेसियाबाट साढे तीन वर्षपछि दसैं मनाउन स्वदेश फर्किएका अर्घाखाँचीका सन्तोष पुनम मगरले लामो समयको अन्तरालमा परिवारसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्। भूमिकास्थान नगरपालिका–१, अर्घाखाँचीका सन्तोष पहिलो पटक लामो समयको वैदेशिक रोजगारीको बसाइपछि घर फर्किएका हुन्। साढे तीन वर्षपछि नेपाल फर्किएका उनी परिवारसँगै बसेर रमाइलो गर्दै चाडपर्व मनाउने र परिवारसँग यसपटकको दसैं विशेष रूपमा बिताउने योजनामा छन्।
बारा जिल्ला महागढीमाई नगरपालिकाका निवासी नितेश कुमार यादव विगत चार वर्षदेखि रोजगारीको सिलसिलामा मलेसिया बसेर नेपाल फर्किएका छन्। ‘चार वर्षपछि नेपाल फर्किएर परिवारसँग सँगै चाडपर्व मनाउन पाउँदा धेरै खुसी लागेको छ,’ उनी बताउँछन्।
इजरायलबाट तीन वर्षपछि बडादसैं मनाउन स्वदेश फर्किएका मोरङ गछियाका रेवतराम भुजेलले लामो समयको अन्तरालमा परिवारसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको बताए। वैदेशिक रोजगारीको सिलसिलामा इजरायलको बसाइ राम्रो रहेको र मेहनतको राम्रो प्रतिफल पाएको उनी बताउँछन्। ५० दिनको बिदा लिएर नेपाल आएका उनी परिवारसँग रमाइलो गरी चाडपर्व मनाइसकेर फर्कने तयारीमा रहेको उनले बताए।
यता मलेसियाबाटै तीन वर्षपछि दसैं मनाउन स्वदेश फर्किएका सिरहाको गोलबजार चौबरवाका असिन्डर कुमार पासवानले पनि लामो समयको अन्तरालमा परिवारसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा विगत तीन वर्षदेखि मलेसियामा रहँदै आएका उनी एक महिनाको बिदामा परिवारसँग दसैं मनाउन नेपाल आएका हुन्। उनले नेपालमा परिवार र आफन्तसँग मिलेर खुसीसाथ चाडपर्व मनाउनुका साथै आफ्ना सबै आफन्तसँग भेटघाट हुने बताएका छन्।
वर्षभरि रोजगारी र विभिन्न अवसरको खोजीमा विदेशमा समय बिताउने नेपालीहरूका लागि दसैं, तिहार र छठ पर्व परिवार तथा आफन्तसँग भेटघाट गर्ने विशेष अवसरका रूपमा रहने गरेका छन्। यही कारण चाडपर्व नजिकिँदै जाँदा विदेशबाट नेपाल फर्किने नेपालीको संख्या ह्वात्तै बढ्ने गरेको छ। विशेषगरी लामो समयदेखि परिवारबाट टाढा रहेका नेपालीहरू चाडपर्वको अवसर पारेर घर फर्किने तयारीमा जुट्ने गर्छन्।
चाडपर्वका बेला घरपरिवारसँगै बसेर खुसी साटासाट गर्ने, मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने र आफन्तसँग भेटघाट गर्न नेपालीहरू स्वदेश फर्किने क्रम बढेको हो। दसैंमा मान्यजनको हातबाट टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र छठ पर्वमा परिवार तथा समुदायसँगै धार्मिक परम्परा मनाउने विशेष महत्व रहेकाले पनि स्वदेश फर्किने नेपालीको संख्या बढेको हो।
विदेशमा रहेर परिवारको आर्थिक अवस्था सुधार्न योगदान पुर्याइरहेका नेपालीहरूका लागि चाडपर्व केवल उत्सव मात्र नभई परिवारसँग पुनःमिलन हुने भावुक अवसर पनि हो। लामो समयपछि घर फर्किँदा परिवारका सदस्यमा देखिने खुसी र उत्साहले चाडपर्वको महत्वलाई थप विशेष बनाउने गरेको छ।