अध्यागमन विभागले श्रम अनुमति नलिई काम गर्ने ८८ जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।
मरिण गाउँपालिका–४, सिन्धुलीस्थित जयमान फुड्स प्रालिमा काम गरिरहेका ८८ जनाको व्यावसायिक भिसा रद्द गरेको हो। छेन्दु तियान फुड्स लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन उद्योगमा ८८ जना चिनियाँ नागरिकले श्रम अनुमति नलिएको विभागले जनाएको छ। यो उद्योग भैंसीको मासु प्रशोधन गरी चीनमा निर्यात गर्ने उद्देश्यले स्थापना गरिएको हो।
‘८८ जना विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकाले व्यावसायिक भिसा रद्द गरेको हो,’ विभागका प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका अतिरिक्त अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अगाडि बढाइएको छ।’
त्यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतको संयुक्त टोलीले उक्त उद्योगको अनुगमन गरेको थियो।
श्रम विभागका प्रवक्ता मणिनाथ गोपले सम्बन्धित मन्त्रालय र गृह मन्त्रालयको सिफारिस भएपछि मात्रै विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति पाउने बताए। ‘कम्पनीको सम्झौता पत्रमा उल्लेख भएअनुसार सम्बन्धित मन्त्रालयको सिफारिस चाहिन्छ। जयमान कम्पनीले श्रम अनुमति लिएको छैन,’ गोपले भने।