राजदूतसँग श्रममन्त्रीको अडान- मलेसियाको एफडब्लुसिएमएस सिन्डिकेट स्वीकार्य हुँदैन

16 September, 2026

मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणालीमा सीमित नेपाली मेनपावर व्यवसायीलाई मात्र सूचीकृत गरी एकाधिकार लाद्न खोजिएको विषयप्रति नेपाल सरकारले आपत्ति जनाएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग मंगलबार भएको भेटवार्तामा यस्तो व्यवस्था द्विपक्षीय श्रम सम्झौताविपरीत भएकाले स्वीकार्य नहुने बताएका हुन्।

मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री यादवले एफडब्लुसिएमएस प्रणालीमा नेपालका केही इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार रहेको बताए।

उनले संस्थाहरू सूचीकृत गरिएको मूल्याङ्कन प्रणाली र त्यसको मापदण्ड नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन आग्रह गरे।

मन्त्री यादवले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा खुम्च्याउने र सीमित संस्था वा समूहको नियन्त्रण कायम गर्ने कुनै पनि व्यवस्था प्रचलित कानुनी प्रावधान र दुई देशबीचको श्रम सम्झौताविपरीत हुने बताए।

उनले सबै इजाजतपत्र प्राप्त संस्थाहरूका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने धारणा राखे।

छलफलका क्रममा मन्त्री यादवले हाल सूचीकृत गरिएका केही संस्थाहरू आफैं पनि यो प्रणालीबाट बाहिरिन इच्छुक रहेको जानकारी कार्यवाहक राजदूतलाई गराए।

उनले यो विवाद समाधान गर्न जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श थाल्न र मलेसिया सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरिदिन कार्यवाहक राजदूत अजमानसँग विशेष आग्रह गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024