काम खोज्दै उत्तराखण्डको अल्मोडा पुगेको दुई महिनामै पहिरोले लियो दुई नेपालीको ज्यान

3 September, 2026

Bhawani Bhatta

भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने धार क्षेत्रको तूनीमा सोमबार बिहानैदेखि पानी परिरहेको थियो । दिनमा ज्याला मजदुरीको काम हुन सकेन । कालीकोटको नगरहरीनाथ गाउँपालिका-९ का चक्रे दमाई र डिल्ली दर्जी एउटै कोठामा सुतेका थिए । पानी नपरे बिहानै काममा जाने निधो थियो ।

‘तर बिहान त दुवै जना घरभित्रै पुरिएको अवस्थामा भेटिए,’ डिल्लीका भाइ नाता पर्ने तपेन्द्र दर्जीले भने, ‘हामीले पनि बिहान ८ बजेतिर ठेकेदारले खबर गरेपछि मात्रै थाहा पाएका हौं ।’ तपेन्द्र डिल्ली र चक्रे बस्ने ठाउँभन्दा केही टाढा बस्थे । तर उनीहरू काम भने सँगै गर्थे । कहिले घर बनाउने त कहिले सडक निर्माणको यस्तै काममा उनीहरू लागेका थिए ।

तूनीमा सोमबार राति पहिरोले घर भत्किँदा दुई नेपाली कामदारको मृत्यु भएको हो । तिनैमध्येका हुन् चक्रे र डिल्ली । उनीहरू दुवै काका-भतिजा हुन् । उनीहरू दसैँका लागि घर फर्किने योजना थियो । तर दसैँ आउनुअगावै पहिरोले सबै सपना खोसिदिएको छ ।

डिल्ली र चक्रे दुई महिनाअघि मात्रै कामको खोजीमा तूनी पुगेका थिए । उनीहरू चार/पाँच वर्षदेखि त्यहाँ एउटा कोठा लिएका थिए । तूनी पुगेपछि उनीहरू त्यही कोठामा बस्दै आएका थिए । कोठा चर्केको र जस्ताको छाना हालेको थियो । त्यही घर भत्किएर दुवै जनाको सुतेकै अवस्थामा मृत्यु भएको अल्मोडाको जिल्ला विपद् व्यवस्थापन अधिकारी विनित पालले बताए । उनका अनुसार पहिरोले घर पूरै पुरिएको थियो ।

‘त्यहाँ पहिलेदेखि जोखिम थियो, अहिले ज्यानै लियो,’ तपेन्द्रले भने, ‘फेरि यहाँ पहिरो खसिरहन्छ ।’ उनका अनुसार नरहरिनाथ गाउँपालिका वडा नं. ९ बाट एउटै गाउँका १०/१२ जना ज्याला मजदुरीको काम गरिरहेका थिए ।

मृतक दुवैको शव अल्मोडाको बेस अस्पतालमा पोस्टमार्टम गरेर घरतर्फ पठाइएको छ । नेपाल–भारत सीमा गड्डाचौकीसम्म एम्बुलेन्सको व्यवस्था अल्मोडा प्रशासनले गरिदिएको मृतकका आफन्त सुरेश दर्जीले बताए ।

बुधबार साँझ शव घरभन्दा केही टाढा घाटसम्म पुर्‍याइएको नरहरिनाथ गाउँपालिका ९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए । उनका अनुसार दुवैको बिहीबार अन्तिम संस्कार गरिनेछ । ‘घरसम्मै गाडी पुग्दैन । केही तल कर्णाली किनारको घाटमै राखिएको छ,’ बोहोराले भने, ‘भोलि अन्तिम संस्कार गरिनेछ ।’

बर्खायाममा खेतीपातीको काम सकेर ठूलो संख्यामा नेपालीहरू कामको खोजीमा भारतको उत्तराखण्ड, हिमाचल लगायतका क्षेत्रमा जाने गरेका छन् । बर्सेनि बाढी र पहिरोमा परेर नेपाली कामदारले ज्यान गुमाउँदै आएका छन् ।

गत वर्ष मात्रै भारत उत्तराखण्डकै उत्तरकाशीको धरालीमा आरिघोप्टे वर्षापछि आएको बाढीमा परेर धेरै नेपाली कामदार बेपत्ता भए । कृषि, होटेल र विकास निर्माणका काममा ज्याला मजदुरीको काम गर्ने उनीहरूको कुनै अत्तो पत्तो लागेन । यति मात्रै होइन उक्त बाढीमा कति नेपाली बेपत्ता भए भन्ने एकिन तथ्यांक समेत छैन । गत वर्ष नै पौडी गढवालमा पनि पहिरोमा परेर ५ नेपाली कामदारको मृत्यु भएको थियो ।

यसरी भारतमा प्राकृतिक विपद्‌मा परेर ज्यान गुमाएका परिवारका आफन्तले कुनै राहत तथा क्षतिपूर्ति समेत पाउँदैनन् । भारतको रोजगारीलाई व्यवस्थित नगर्दा नेपाली कामदारहरू बिमादेखि अन्य सुविधाबाट वञ्चित हुने गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024