सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा

13 August, 2026

Raj Karki

नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। देशको ठूलो जनशक्ति युवा छ। युवासँग ऊर्जा छ, सिर्जनशीलता छ, नयाँ कुरा सिक्ने क्षमता छ र परिवर्तन गर्ने साहस पनि छ तर यही युवा जनशक्ति आज रोजगारी, उद्यम, सीप र भविष्यको सुनिश्चितताको खोजीमा छ। कोही विदेश जाने तयारीमा छ, कोही वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा केही गर्न चाहन्छ, कोही सानो व्यवसाय सुरु गर्ने सपना बोकेर बैंक तथा सरकारी कार्यालयको ढोका चहारिरहेको छ। यस्तो अवस्थामा युवाको अपेक्षा सरकारले दिने आर्थिक सुविधा वा अनुदानमा सीमित मात्र हुनु हुँदैन।

युवाले खोजेको वास्तविक कुरा अवसर हो, आत्मनिर्भर हुने वातावरण हो, आफ्नो सीपको सम्मान हो र आफ्नो श्रमबाट भविष्य निर्माण गर्ने बाटो हो। नेपाल सरकारले राष्ट्रिय युवा नीति २०८२ अघि सारेको छ। मन्त्रालयले पनि युवालाई शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील बनाउँदै राष्ट्र निर्माणमा परिचालन गर्ने विषयलाई महत्त्वपूर्ण मानेको छ।

अब चुनौती नीति बनाउने मात्र होइन, त्यसलाई युवाको दैनिक जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नु हो। त्यसैले आजको आवश्यकता स्पष्ट छ–सहज सुविधा होइन, सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा।

अनुदान समस्याको समाधान होइन

युवालाई आर्थिक सहयोग गर्नु आवश्यक हुन सक्छ तर एकपटक अनुदान दिएर मात्रै युवाको भविष्य सुरक्षित हुँदैन। बरु त्यस्तो सहयोगलाई सीप, व्यवसाय र उत्पादनसँग जोड्न सकिएमा त्यसको प्रभाव दीर्घकालीन हुन्छ।

मानौँ, कुनै युवालाई सिलाइ मेसिन दिइयो। मेसिन पाउनु राम्रो कुरा हो तर त्यसपछि के त? भन्ने प्रश्न आउँछ। उसलाई आधुनिक डिजाइन सिकाइयो कि सिकाइएन? बजार कहाँ छ भनेर जानकारी दिइयो कि दिइएन? डिजिटल मार्केटिङ सिकाइयो कि सिकाइएन? बैंकिङ तथा लेखा व्यवस्थापनको ज्ञान दिइयो कि दिइएन? उत्पादनलाई ब्रान्ड बनाएर बिक्री गर्ने अवसर दिइयो कि दिइएन? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
यदि यी प्रश्नको उत्तर छैन भने मेसिन एउटा सामान मात्र बन्न सक्छ तर मेसिनसँगै सीप, बजार, प्रविधि, वित्तीय ज्ञान र उद्यमशीलता जोडियो भने त्यही मेसिन एउटा रोजगारीको केन्द्र बन्न सक्छ। त्यसैले अबको युवा नीति ‘युवालाई के दिने?’ भन्दा ‘युवालाई के गर्न सक्ने बनाउने?’ भन्ने प्रश्नबाट निर्देशित हुनुपर्छ।

सीपलाई दोस्रो दर्जाको काम नठानौँ

नेपालमा अझै एउटा सामाजिक सोच परिवर्तन गर्न आवश्यक छ– सीपमूलक कामलाई सानो काम ठान्ने प्रवृत्ति। हामीले डिग्रीलाई सम्मान गर्छौँ तर सीपलाई त्यति सम्मान गर्दैनौँ। कार्यालयको जागिरलाई प्रतिष्ठित ठान्छौँ तर आफ्नो हातको सीप प्रयोग गरेर व्यवसाय गर्ने व्यक्तिलाई त्यति महत्त्व दिँदैनौँ। यो सोच परिवर्तन नगरी युवा आत्मनिर्भर बन्न सक्दैन। टेलरिङ, बुनाइ, काष्ठकला, धातुकला, हस्तकला, कृषि, पर्यटन, होटल व्यवसाय, निर्माण, सौन्दर्य सेवा, सूचना प्रविधि, डिजाइन तथा अन्यअ प्राविधिक क्षेत्रमा सीप भएका युवाले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छन्।

म आफैँ परम्परागत सीपसँग जोडिएको व्यवसायमा काम गरिरहेको युवा व्यवसायी भएकाले मैले नजिकबाट देखेको कुरा हो– सीप पुरानो हुन सक्छ, तर सोच कहिल्यै पुरानो हुनु हुँदैन। परम्परागत टेलरिङलाई आधुनिक फेसन उद्योगमा बदल्न सकिन्छ। स्थानीय उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ। हातको सीपलाई डिजिटल प्रविधिसँग जोड्न सकिन्छ। यही परिवर्तनका लागि युवा नीतिले प्रोत्साहन दिनुपर्छ।

विदेश जाने बाध्यता कम गरौँ

वैदेशिक रोजगारी नेपाली युवाको एउटा महत्त्वपूर्ण विकल्प बनेको छ। विदेश गएर आफ्नो परिवार र देशको अर्थतन्त्रमा योगदान गर्ने युवाको श्रमको सम्मान हुनुपर्छ तर प्रश्न अर्को पनि छ – नेपालमै युवाले भविष्य देख्न सक्ने वातावरण हामीले कहिले बनाउने?
यदि एउटा युवा नेपालमा बसेर आफ्नो सीप प्रयोग गरी राम्रो आम्दानी गर्न सक्छ, सानो व्यवसायलाई ठूलो बनाउन सक्छ र अरू पाँच वा दस जनालाई रोजगारी दिन सक्छ भने त्यसले देशको अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्‍याउन सक्छ। त्यसैले ‘विदेश नजाऊ’ भनेर मात्र युवालाई रोक्न सकिँदैन। देशमै रोजगारी, बजार, पूँजी, प्रविधि र सम्मान दिनुपर्छ। युवाले नेपालमै सम्भावना देख्न थालेपछि मात्र वैदेशिक रोजगारीको बाध्यता क्रमशः कम गर्न सकिन्छ।

शिक्षा र सीपबीचको दूरी हटाउनुपर्छ

नेपालको शिक्षा प्रणालीमा पनि परिवर्तन आवश्यक छ। सबै युवाले एउटै बाटो रोज्नुपर्छ भन्ने छैन। कसैलाई विश्वविद्यालयको शिक्षा आवश्यक हुन्छ, कसैलाई प्राविधिक शिक्षा, कसैलाई व्यवसायिक तालिम र कसैलाई आफ्नै व्यवसाय सञ्चालन गर्ने सीप। विद्यालय तहदेखि नै युवालाई ‘सिक र कमाउ’ अर्थात् सिक्दै कमाउने संस्कृतिसँग जोड्न सकिन्छ।
फेसन डिजाइन, टेलरिङ, कृषि प्रविधि, होटल व्यवस्थापन, डिजिटल मार्केटिङ, इलेक्ट्रिकल, प्लम्बिङ, निर्माण, हस्तकला, सौन्दर्य सेवा, सूचना प्रविधि जस्ता क्षेत्रमा व्यवहारिक शिक्षा विस्तार गर्नुपर्छ।

विशेषगरी फेसन उद्योग र परम्परागत सीपलाई प्राविधिक शिक्षासँग जोड्नुपर्ने आवश्यकता छ। नेपालमा उत्पादन हुने कपडा, नेपाली डिजाइन, हस्तकला र स्थानीय सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने ठूलो सम्भावना छ।

युवालाई उद्यमी बनाउने वातावरण

युवा व्यवसायी बन्न चाहन्छ, तर व्यवसाय सुरु गर्दा अनेकौँ समस्या आउँछन्। व्यवसाय दर्ता, कर प्रणाली, बैंक ऋण, धितो, बजार, प्रविधि, कर्मचारी व्यवस्थापन र सरकारी प्रक्रियाले धेरै युवालाई निरुत्साहित गर्छ। त्यसैले युवा उद्यमीका लागि एकद्वार सेवा, सरल दर्ता प्रक्रिया, सहुलियतपूर्ण ऋण, व्यवसायिक परामर्श, डिजिटल सेवा र बजारसँग जोड्ने कार्यक्रम आवश्यक छ।
युवालाई ऋण मात्र दिएर पुग्दैन। ऋणसँगै व्यवसाय सञ्चालन गर्ने ज्ञान पनि दिनुपर्छ। सरकार, बैंक, निजी क्षेत्र, शैक्षिक संस्था र युवा उद्यमीबीच सहकार्यको बलियो प्रणाली विकास गर्नुपर्छ।

युवालाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा हेर्नु गलत हो। युवा स्वयं रोजगारी सिर्जना गर्न सक्ने शक्ति हो। एउटा सफल युवा उद्यमीले आफूसँगै अरू धेरै युवालाई रोजगारी दिन सक्छ। एउटा सानो सिलाइ व्यवसाय ठूलो उत्पादन केन्द्र बन्न सक्छ। एउटा सानो कृषि व्यवसाय प्रशोधन उद्योग बन्नसक्छ। एउटा स्थानीय हस्तकला व्यवसाय अन्तर्राष्ट्रिय ब्रान्ड बन्नसक्छ। त्यसैले युवा नीति रोजगारी खोज्ने युवाबाट रोजगारी सिर्जना गर्ने युवातर्फ केन्द्रित हुनुपर्छ। यसका लागि सफल युवा उद्यमीको अनुभवलाई पनि नीति निर्माणमा समेट्नुपर्छ। नीति कागजमा मात्र होइन, व्यवसाय सञ्चालन गरिरहेका युवाको वास्तविक अनुभवमा आधारित हुनुपर्छ।

सम्मान पनि रोजगारी जत्तिकै महत्त्वपूर्ण छ। युवालाई आर्थिक अवसरसँगै सामाजिक सम्मान पनि चाहिन्छ। हामीले श्रमको सम्मान गर्न सिक्नुपर्छ। किसान, टेलर, कालिगढ, डिजाइनर, प्राविधिक, उद्यमी, कलाकार वा डिजिटल क्षेत्रमा काम गर्ने युवा– सबै राष्ट्र निर्माणका साझेदार हुन्। काम सानो वा ठूलो हुँदैन; कामप्रतिको इमानदारी, सीप र सोच ठूलो हुन्छ। जब समाजले युवाको सीपलाई सम्मान गर्न थाल्छ, युवाले पनि आफ्नो श्रमप्रति गर्व गर्न थाल्छ।

परिणाममुखी युवा नीतिको खाँचो

अब हामीले युवा नीति कागजमा कति राम्रो छ भनेर मात्र बहस गर्ने होइन, त्यसको परिणाम के आयो भनेर हेर्नुपर्छ। कति युवाले सीप पाए? कति युवाले व्यवसाय सुरु गरे? कति रोजगारी सिर्जना भयो? कति युवा विदेश जानुपर्ने बाध्यताबाट रोकिए? कति परम्परागत सीप आधुनिक उद्योगमा रूपान्तरण भए? कति युवा उद्यमी बजारसँग जोडिए? यस्ता प्रश्नको उत्तर दिने गरी परिणाममा आधारित युवा नीति आवश्यक छ। युवालाई लाभग्राहीको सूचीमा राखेर मात्र देशको भविष्य बदलिँदैन। युवालाई नीति निर्माण, कार्यान्वयन र मूल्याङ्कनको प्रक्रियामै सहभागी गराउनुपर्छ।अन्त्यमा नेपालका युवामा क्षमता छैन भन्ने होइन। अवसरको कमी छ। युवा मेहनत गर्न चाहन्छ, सिक्न चाहन्छ, व्यवसाय गर्न चाहन्छ, नयाँ सिर्जना गर्न चाहन्छ। उसलाई आवश्यक छ, सही नीति, सहज वातावरण, पूँजीमा पहुँच, बजार, प्रविधि र सम्मान। सरकारले युवालाई केही समयका लागि आर्थिक सुविधा दिएर सहयोग गर्न सक्छ तर सीप, रोजगारी र उद्यमको वातावरण निर्माण गरेर मात्र दीर्घकालीन आत्मनिर्भरता सुनिश्चित गर्न सक्छ।

हामीले युवालाई हात फैलाउने होइन, हातले अवसर सिर्जना गर्ने बनाउनुपर्छ। युवालाई रोजगारी खोज्नेमात्र होइन, रोजगारी सृजना गर्ने बनाउनुपर्छ। युवालाई विदेश जाने बाध्यतामा होइन, नेपालमै सम्भावना देख्ने आत्मविश्वासमा उभ्याउनुपर्छ।

परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडौँ। स्थानीय उत्पादनलाई ब्रान्ड बनाऔँ। युवाको श्रमलाई सम्मान गरौँ। उद्यमलाई प्रोत्साहन गरौँ। सीपलाई शिक्षासँग जोडौँ। सरकारी नीतिलाई बजार र उत्पादनसँग जोडौँ। किनकि नेपालको युवा केवल देशको भविष्य होइन– आजकै नेपालको आर्थिक र सामाजिक परिवर्तनको शक्ति हो। त्यसैले स्पष्टका साथ भन्न सकिन्छ– ‘सहज सुविधा होइन– सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा।’

यही सोचलाई व्यवहारमा उतार्न सकेमा युवा नेपालको समस्या होइन, नेपालको सबैभन्दा ठूलो सम्भावना र शक्ति बन्नेछ।
आज अन्तर्राष्ट्रिय युवा दिवससमेत भएको सन्दर्भमा हाम्रा युवा केन्द्रित नीति, योजना र कार्यक्रमको समीक्षा गर्दै यसलाई आगामी दिनमा परिणाममुखी बनाउने प्रण गर्ने अवसर पनि हो।

सन् २००० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको यो दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024