विश्वव्यापी रूपमा बढ्दै गएको मानव बेचबिखनको समस्यालाई दृष्टिगत गरी संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१३ मा प्रस्ताव पारित गरी हरेक वर्ष जुलाई ३० लाई ‘अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस’ का रूपमा मनाउने घोषणा गरेको हो । यसै अनुरूप आज हामी १४ औँ अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाइरहेका छौँ । यस दिवसको उद्देश्य मानव बेचबिखनको गम्भीर समस्याप्रति विश्व समुदायको ध्यान आकर्षित गर्नु, पीडितको आवाजलाई बुलन्द बनाउनु, अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु र मानव बेचबिखनमुक्त समाज निर्माण गर्ने सामूहिक प्रतिबद्धतालाई पुनः स्मरण गराउनु हो । यो दिवस केवल औपचारिक कार्यक्रम आयोजना गर्ने अवसर मात्र नभई मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्धन तथा प्रत्येक नागरिकलाई सुरक्षित जीवन सुनिश्चित गर्ने साझा प्रतिबद्धता दोहो¥याउने महत्वपूर्ण अवसर पनि हो ।
मानव सभ्यताको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेको छ भन्ने एक ज्वलन्त उदाहरणको रूपमा मानव बेचबिखन रहेको छ । विश्व आज विज्ञान, प्रविधि र विकासको तीव्र गतिमा अघि बढिरहेको छ भने यही आधुनिक युगमा पनि लाखौँ मानिस आफ्नो स्वतन्त्रता गुमाएर शोषण, हिंसा र दासत्वको जीवन बाँच्न बाध्य भएको छ । आज अपराधीले सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत मानिसलाई चिट्ठा प¥यो भन्ने, रोजगारी विज्ञापन, वैदेशिक वैवाहिक प्रस्ताव, मोडलिङ, विदेश अध्ययनको अवसर र आकर्षक आम्दानीको प्रलोभनमा फसाई श्रम तथा यौन शोषणमा लगाउने गरेका छन् । हालका वर्षमा श्रम र यौन शोषणबाट मानव अङ्ग तस्करी जस्तैः किड्नी, छाला, अन्डाको बेचबिखन हुँदै मानव बेचबिखनको अर्को खतरनाक स्वरूप ‘साइबर स्क्याम ट्राफिकिङ’ का रूपमा देखा परेको छ ।
अपराधी समूहले सामाजिक सञ्जाल, रोजगार वेबसाइटमार्फत लोभलालच, झुक्यान र विश्वासमा पार्ने त्यस्तै विज्ञापनमार्फत उच्च तलब, निःशुल्क भिसा, आकर्षक कार्यालयको काम वा सूचना प्रविधिसम्बन्धी रोजगारीको आश्वासन दिएर युवकयुवतीलाई विशेष गरी दक्षिणपूर्वी एसियाका विभिन्न देशमा पु¥याउने गरेका छन् । त्यहाँ पुगेपछि उनीहरूको राहदानी नियन्त्रणमा लिइन्छ, परिवारसँग सम्पर्क गर्न रोक लगाइन्छ र अनलाइन ठगी, क्रिप्टोकरेन्सी लगानी ठगी, रोमान्स स्क्याम तथा अन्य साइबर अपराधमा जबरजस्ती संलग्न गराइन्छ । काम गर्न अस्वीकार गरेमा वा कमाएर दिन नसकेमा उनीहरूलाई शारीरिक यातना, मानसिक हिंसा, खानाबाट वञ्चित गर्ने, कैदमा राख्ने तथा परिवारलाई तिम्रो मानिस जेलमा छ, कानुनी प्रक्रिया गर्न पैसा पठाउ भन्दै पुनः बेचबिखन गर्ने जस्ता अमानवीय व्यवहार गरिन्छ । यसप्रकारको अपराधले मानव बेचबिखन र साइबर अपराधबिचको सम्बन्धलाई अझ गहिरो बनाएको छ ।
यसैलाई ध्यानमा राखेर यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखन दिवसको नारा ‘प्रलोभनको जालमा परेका’ भन्ने नारासहित विश्वभरि मनाउँदै छ । यस नाराले विशेष गरी साइबर स्क्याम केन्द्रमा जबरजस्ती काम गर्न बाध्य बनाइएका हजारौँ पीडितको अवस्थालाई उजागर गर्दछ । मानव बेचबिखन केवल कानुनी अपराध मात्र नभई मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादामाथिको प्रश्नचिह्न हो । संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालय (युएनओडिसी) को मानव बेचबिखनसम्बन्धी वैश्विक प्रतिवेदन, २०२४ अनुसार सन् २०२२ मा विश्वभर ६९ हजार ६२७ जना मानव बेचबिखनका पीडित थिए, जसमा बालालिकाको सङ्ख्या ३८ प्रतिशत छ । यो त केवल औपचारिक तथ्याङ्क मात्र रहेको छ भने उजुरी नगरेका, जानकारीमा नआएका यसको दुई गुणा रहेको छ भनी अनुमान गरिएको छ । त्यस्तै गरी सन् २०२४ को युएनओडिसी प्रतिवेदनले १५६ देशका तथ्याङ्ककोे विश्लेषण गर्दै द्वन्द्व, गरिबी, जलवायु परिवर्तन, विपत् र अनलाइन माध्यमको दुरुपयोगका कारण मानव बेचबिखन अझ भयावह रूपमा बढेको भनिएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय संस्थाले पछिल्ला वर्षमा साइबर स्क्याम सञ्चालन गर्ने आपराधिक गिरोहले हजारौँ मानिसलाई मानव बेचबिखन आरोपमा नियन्त्रणमा राखी अनलाइन ठगीमा प्रयोग गरिरहेको तथ्य औँल्याएका छन् । साथै विश्वभरका देशलाई यस विषयमा सतर्क हुन, सोहीबमोजिम कदम चाल्न आग्रह पनि गरिरहेको छ ।
नेपालको अवस्था
नेपालबाट यौन पेसाका लागि आकर्षक महिला, बालिका भारतका ठुला सहरका कोठीमा पु¥याइन्थ्यो । जसलाई सीमापार बेचबिखन भनी चिनिन्थ्यो भने समय परिवर्तनसँगै यसको स्वरूप परिवर्तन हुँदै देशभित्र नै अनौपचारिक क्षेत्र जस्तै मसाज पार्लर, डान्स बार, नाइट क्लब, खाजाघरको नाममा नाबालिकाको यौन शोषण, बालश्रम शोषणमा पर्ने आन्तरिक बेचबिखनमा पर्ने भएको विभिन्न तथ्याङ्कले देखाएको छ । त्यस्तै गरी पछिल्लो समय नेपालका उच्च डिग्री प्राप्त गरेका युवा पनि उच्च तलबको सूचना प्रविधि, ग्राहक सेवा, डिजिटल मार्केटिङ वा अनलाइन बिक्रीसम्बन्धी कामको प्रलोभनमा परेर म्यानमार, लाओस, कम्बोडियालगायतका देशका साइबर स्क्याम केन्द्रमा पुग्ने जोखिम बढ्दै गएको अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएका छन् । यस्तो अवस्थामा उनीहरू आफैँ मानव बेचबिखनका पीडित बन्नुका साथै अन्तर्राष्ट्रिय साइबर अपराधमा जबरजस्ती प्रयोग गरिने अवस्था सिर्जना भएको छ ।
आन्तरिक बेचबिखनको कुरा गर्नु पर्दा, माइती नेपालको हालै २०८३ साल वैशाखदेखि आजको मितिसम्मको तथ्याङ्क अनुसार काठमाडौँबाट मात्र ६९ महिला, बालबालिका अनौपचारिक क्षेत्रबाट उद्धार गरिएकोमा ४० जना नाबालिका छन् । जसमध्ये नौ जनाले मानव बेचबिखन तथा ओसारपसार, दुई जनाले जबरजस्ती करणी, छ जनाले बालबालिकासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराएकोमा नौ अभियुक्त पक्राउ भएको र त्यसमध्ये छ पुपक्र्षमा थुनामा र तीन जना धरौटीमा रिहा भएका छन् । त्यस्तै गरी नेपाल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ देखि हालसम्ममा अनलाइन स्क्यामिङका २९ वटा मुद्दा दर्ता भएका छन् ।
विशेष गरी आर्थिक रूपमा कमजोर, रोजगारीको खोजीमा रहेका युवा, महिला, बालबालिका र आपत्कालीन अवस्थाबाट गुज्रिरहेका मानिस अपराधीको निसानामा परेका छन् । साथीभाइको देखासिकी, प्रलोभन, पढाइ छोडेका, सहरबजारका बारेमा ठुलो सपना देखेका, सही सूचना नपाएका, धूमपान तथा मद्यपानको कुलतमा फसेका, अभिभावकको कन्ट्रोलमा नरहेका बालबालिका विशेष गरी पीडित तथा प्रभावित भइरहेका छन् । अर्कोतर्फ विशेष गरी युवापुस्ताले अनलाइनमा प्राप्त हुने अवसरको सत्यता जाँच नगरी विश्वास गर्दा बदलिँदो अपराध र नयाँ जोखिम बढ्ेको पाइन्छ तर पनि अपराधको बदलिँदो स्वरूप, पीडित पहिचानको कठिनाइ, पीडितमाथि नै लाञ्छाना लगाउने, सामाजिक विभेद, असुरक्षित आप्रवासन, पीडितको पुनस्र्थापनाको समस्या थप चुनौती बनेको छ ।
नेपालको कानुनी व्यवस्थालाई नियाल्दा नेपालको संविधान २०७२ ले प्रत्येक व्यक्तिलाई शोषणविरुद्धको अधिकार सुनिश्चित गरेको छ । संविधानको मौलिक हक अन्तर्गत कुनै पनि व्यक्तिलाई बेचबिखन, दास वा बन्धक बनाउन नपाइने व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लागु भएको र यो समयानुकूल संशोधनको प्रक्रियामा छ । त्यस्तै गरी नेपाल सरकारले पालेर्मो प्रोटोकलमा हस्ताक्षर गरिसकेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ बनेको छ तर साइबर माध्यमबाट हुने बेचबिखनको बढ्दो जोखिमलाई ध्यानमा राख्दै साइबर अपराधसम्बन्धी कानुन, अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, डिजिटल प्रमाण सङ्कलन तथा सीमापार उद्धार संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।
तर कानुन मात्र पर्याप्त हुँदैन भनी नेपाल सरकारले गरेका काममा हालेमालो गर्दै गैरसरकारी संस्थाले विभिन्न माध्यमबाट उद्धार, पुनस्र्थापना र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सरकारीस्तरबाट कानुन प्रभावकारी कार्यान्वयन, अनुसन्धान क्षमता वृद्धि, पीडितमैत्री न्याय प्रणाली र अपराधीमाथि कडा कारबाही गर्दै आएकोमा गैरसरकारी संस्थाले पनि निःशुल्क कानुनी सहायता (प्रोवोनो) सेवा प्रदान गर्दै आएको छ । पीडिकलाई कानुनी कारबाही गर्नु मात्र समस्याको समाधान होइन, पीडितको संरक्षण, सुरक्षा, क्षतिपूर्ति र समाजमा पुनस्र्थापना गर्नु पनि त्यत्तिकै आवश्यकता छ ।
मानव बेचबिखन रोक्न स्थानीय समुदायको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । स्थानीय तह, विद्यालय, परिवार, युवा समूह, महिला समूह तथा सामाजिक संस्थाले जनचेतना अभिवृद्धि, सही सूचना प्रवाह र जोखिममा रहेका व्यक्तिको पहिचान तथा संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नु पर्छ । सामाजिक सञ्जालमा आउने आकर्षक रोजगारी, विवाह, अध्ययन वा अन्य अवसरका प्रस्तावको सत्यता राम्रोसँग जाँच गर्ने बानी बसाल्न आवश्यक छ । गलत सूचना, झुट्ठा मनमोहक आश्वासन र अनलाइन ठगीप्रति सचेत हुनु पर्छ ।
विशेष गरी युवालाई डिजिटल साक्षरता, सुरक्षित वैदेशिक रोजगारी, अनलाइन ठगीको पहिचान तथा साइबर सुरक्षाबारे नियमित अभिमुखीकरण गर्नु अहिलेको आवश्यकता हो । विद्यालय र विश्वविद्यालयमा पनि साइबर स्क्याम तथा मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने छ । सञ्चार माध्यमले सनसनीपूर्ण समाचारभन्दा तथ्यमा आधारित, समाधानमुखी र जिम्मेवार पत्रकारितामार्फत मानव बेचबिखनविरुद्ध सचेतना फैलाउनु पर्दछ । मानव बेचबिखनविरुद्धको अभियान सरकारको मात्र दायित्व होइन, यो समाजका प्रत्येक नागरिकको साझा जिम्मेवारी हो । समुदायको एकता, समयमै सूचना आदानप्रदान, कानुनी सचेतना र सबै पक्षको समन्वित प्रयासबाट मात्र सम्भव हुन्छ । एउटा सचेत निर्णयले एउटा व्यक्तिको जीवन मात्र होइन, एउटा परिवार र समग्र समाजको भविष्यसमेत सुरक्षित बनाउन सक्छ ।
मानव बेचबिखन केवल अपराधको विषय होइन, यो मानवताको परीक्षा पनि हो । कुनै पनि समाजको वास्तविक विकास त्यतिबेला मात्र सम्भव हुन्छ, जब प्रत्येक नागरिक सुरक्षित, सम्मानित र स्वतन्त्र जीवन बाँच्न सक्छ । परम्परागत बेचबिखनसँगै साइबर स्क्याममार्फत हुने मानव बेचबिखनलाई समयमै पहिचान गरी प्रभावकारी कानुनी, प्राविधिक तथा सामाजिक उपाय अवलम्बन गर्न सके मात्र आधुनिक दासत्वविरुद्धको अभियान सफल हुन सक्छ । यदि हामी सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक योगदान दिऔँ भने मानव बेचबिखनमुक्त, सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज निर्माण अवश्य सम्भव छ ।