बेलायत पठाइदिने भन्दै ७ लाख बढी ठगी

24 July, 2026

बेलायतको राजधानी लण्डनस्थित होटलमा आकर्षक तलबसहित हाउस किपिङको काम लगाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उक्त व्यक्तिको खोजी गरेको छ। 

रामेछापका शान्तलाल तामाङले गोरखा साविक पृथ्वीनारायण गाविस–२ घर भई हाल ललितपुर बस्दै आएका राजकुमार भण्डारीले बेलायतमा रोजगारी दिलाइदिने भन्दै आफूबाट ७ लाख ७० हजार रुपैयाँ लिएको तर न त रोजगारी मिलाएको र रकम फिर्ता गरेको आरोप लगाएका छन्। 

तामाङका अनुसार भण्डारीले दुई वर्षअघि आफूजस्तै १८ जना युवालाई पनि वैदेशिक रोजगारीको नाममा ठगी गरेको र त्यसपछि सम्पर्कविहीन भएको बताएका छन्। 

तामाङले भण्डारीसँग चिनजान गराइदिने भूमिका खेलेकी कविता चौधरी (महर्जन) समेत घर बेचेर बेपत्ता भएपछि आफूहरू ठगीमा परेको स्पष्ट भएको बताए। त्यसपछि उनले जिल्ला प्रहरी परिसर ललितपुरमा लिखित उजुरी दर्ता गराएका थिए। तर, हालसम्म आरोपी पक्राउ पर्न नसकेको उनको गुनासो छ। 

पीडितका अनुसार भण्डारीको व्यक्तिगत खातामा रहेको कामना विकास बैंक मार्फत पटक–पटक गरी ७ लाख ७० हजार रुपैयाँ जम्मा गरिएको थियो। यसैबीच, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका भण्डारीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बुझाउन २०८१ फागुन २८ गते महानगरीय अपराध अनुसन्धान महाशाखा लाई पत्राचार गरिसकेको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024