विदेशमा रहेका नेपालीलाई मताधिकार

24 July, 2026

Narayan Kafle

निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तले विदेशबाट हुने मतदान तथा अन्तरजिल्ला मताधिकारको व्यवस्थालाई प्राथमिकतामा राखेर आफ्नो कार्ययोजना संसदीय सुनुवाइ समितिसमक्ष पेस गरेका छन् । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्तद्वय डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेले मूलभूत विषयमा समान धारणासहितको कार्ययोजना सुनुवाइ समितिमा पेस गर्नुभएको हो । कार्की र वाग्लेले अगाडि सार्नुभएका धेरै विषय समान छन् । सुब्बाको कार्ययोजना सूचना प्रविधिको उपयोगको सुनिश्चितता र सुरक्षाका विषयमा समेत थप केन्द्रित छ ।

प्रस्तावित पदाधिकारीले साउन ४ गते नै आफ्नो कार्ययोजना पेस गर्नुभएको छ । समितिमा प्रस्तावित आयुक्तद्वय सुब्बा र वाग्लेको सुनुवाइ साउन १२ र कार्कीको सुनुवाइ १३ गते हुने गरी कार्यतालिका तय भएको छ । कार्ययोजनामा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले विदेशमा रहेका नेपाली र अन्तरजिल्लाको मताधिकार तथा उम्मेदवार अस्वीकारको विकल्पको कानुन निर्माण र कार्यान्वयन कार्यभार भएको उल्लेख गर्नुभएको छ ।

सूचना प्रविधि प्रयोगको नीति

विदेशमा रहेका र अन्तरजिल्ला निर्वाचनको उपयुक्त विधि छनोट गरी कार्यान्वयन गर्ने सुब्बाको कार्ययोजनामा उल्लेख छ । आयुक्तका रूपमा छ वर्षमा आफूले गर्ने कामको सङ्क्षिप्त विवरण पनि कार्ययोजनामा उहाँले समावेश गर्नुभएको छ । वार्षिक रूपमा गर्ने काम, सरोकारवाला निकाय र अपेक्षित उपलब्धिलगायतका विवरण कार्ययोजनामा उल्लेख छ ।

चुनाव नलडे दल खारेज

वाग्लेले पनि निर्वाचनमा विदेशमा रहेका मतदाताको मताधिकार, अन्तरजिल्ला मताधिकार, सूचना प्रविधि प्रयोग, मौजुदा कानुनको सुधारलगायतलाई नै कार्ययोजनामा समेट्नुभएको छ । निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग र इन्टरनेट भोटिङको सम्भाव्यता अध्ययन र कार्यान्वयनको प्रतिबद्धता जनाउनुभएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024