मलेसियाले नधानेको गुजारा, गाउँमा बाख्रा–कुखुराले धानिदिए

22 July, 2026

Nirmala Ghimire

रोजगारीका लागि मलेसिया गएका अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का दिनेश खत्री ३ वर्षको करार अवधिपछि फर्किए।

अहिले गाउँमा खेतीकिसानी गरिरहेका छन्।

दिनेश २०७० सालमा रोजगारीका लागि मलेसिया गएका थिए।

उनलाई फ्याक्ट्रीमा मेकानिकल काम गर्ने भन्दै पठाइएको थियो। मलेसिया पुगेपछि उनले फोर क्लिप अपरेटरका साथै लरीमा सामान लोड–अनलोड गर्ने र कम्पनीभित्र सामान मिलाएर राख्ने काम गरे।

मलेसिया जान उनले एक लाख ३५ हजार रूपैयाँ खर्च गरेका थिए।

त्यति बेला मलेसियाका लागि ‘फ्री भिसा, फ्री टिकट’ लागू भइसकेको थिएन। सरकारले ८० हजार रूपैयाँ शुल्क तोकेको थियो। तर म्यानपावरले एक लाख ३५ हजार रूपैयाँ असुलेको उनी बताउँछन्।

दिनेशका अनुसार म्यानपावरले फ्याक्ट्री वर्करको काममा १४ सय रिंगेट न्यूनतम तलब हुने भनेको थियो। तर १२ घन्टा काम गर्दा पनि भनेजस्तो तलब भएन।

‘मलेसिया जाँदा लागेको ऋण तिर्न नै एक वर्ष काम गर्नुपर्‍यो,’ उनले भने।

तीन वर्ष मलेसियामा काम गरेपछि २०७३ सालमा उनी स्वदेश फर्किए।

‘१२ घन्टा काम गरेर पनि घरखर्च टार्न सहज भएन। अर्काको देशमा दिनरात दुःख गरेर पनि आर्थिक अवस्था नसुध्रिएपछि फेरि विदेश जान मन लागेन। अब आफ्नै देशमा केही गर्छु भन्ने सोच बनाएर मैले मलेसिया छाडेँ,’ उनले सुनाए।

योजना अनुसार नै फर्किएपछि उनले गाउँमै बाख्रापालन सुरू गरे। घरमा केही बाख्राहरू थिए। १० वटा बाख्रा थपे। २० वटा बाख्राबाट उनले व्यवसाय सुरू गरे।

२०७४ सालको साउनदेखि उनले ‘दिपेश एन्ड विवेश कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर व्यवसायलाई औपचारिक रूपमा सञ्चालन गर्न थाले।

बिस्तारै बाख्राको संख्या बढाउँदै लगे। केही समयमै ६० वटा खसीबाख्रा भए। अहिले स्थानीय जातका सँगै जमुनापारी जातका समेत पाल्न थालेका छन्।

फार्ममा करिब ४० वटा बाख्रा छन्। उनले तीन वटा भैंसी, कुखुरा र मौरी पनि पालेका छन्। बगैंचामा सुन्तला लगायत फलफूल खेती पनि गरिरहेका छन्।

‘विदेशमा काम गर्दा परिवारलाई खान पुर्‍याउन पनि गाह्रो थियो। अहिले घरै बसेर खान पुगिरहेको छ। घरका सबैले काम पाएका छन्। थोरै बचत पनि हुन्छ,’ दिनेशले भने।

फार्ममा परिवारका चार जना सदस्य नियमित रूपमा काम गर्छन्। आवश्यकता अनुसार उनी ज्यालादारीमा पनि कामदार राख्छन्। वार्षिक हिसाब गर्दा कम्तीमा दुई जनाले नियमित रोजगारी पाउने अवस्था भएको दिनेश बताउँछन्।

बजार व्यवस्थापनमा पनि उनलाई खासै समस्या छैन। स्थानीय बजारमै खसीको राम्रो माग छ। ग्राहकको अर्डर अनुसार मासु काटेर पनि बेच्छन्।

तर माग अनुसार उत्पादन गर्न नसकिएको उनी बताउँछन्।

अहिले हरेक सामाजिक तथा पारिवारिक कार्यक्रममा मासुको माग बढेकाले बाख्रापालनको राम्रो सम्भावना छ।

केही संघर्ष, दुःख भए पनि दिनेशले अहिले छाक टार्न परदेशको भर पर्नुपरेको छैन। घरै बसेर गुजारा चलिरहेको छ। सबै खर्च कटाएर केही बचत पनि हुन्छ।

‘विदेशमा अरूको अन्डरमा काम गरेर कमाएकोभन्दा अहिले आफ्नै गाउँमा मेहनत गरेर कमाएको आम्दानीसँग खुसी छु,’ दिनेशले भने।

उनी व्यवसाय विस्तार गर्ने सपना बुनिरहेका छन्। तर लगानी नभएकाले योजना अघि बढ्न नसकेको गुनासो उनको छ।

‘अझै केही बाख्रा, भैंसी थप्न सके राम्रो कमाउन सकिन्थ्यो, तर पैसा छैन,’ दिनेशले भने, ‘गाउँको जग्गा धितोमा नजाँदो रहेछ। बिना धितो ऋण पाइँदैन। ऋण पाए बाख्राभैंसी थप्न सकिन्थ्यो।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024