वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँचजनालाई पक्राउ गरेको छ।
अपराध अनुसन्धान कार्यालयले काठमाडौंका ४१ वर्षीय रामदास महर्जन र २९ वर्षीय सरिब गिरी, धादिङकी ३४ वर्षीया सन्तोषी लामा, सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा र रामेछापका ३८ वर्षीय ललितबहादुर तामाङ रहेका छन्।
महर्जनले युएई पठाइदिने भन्दै ७ जनाबाट ४५ लाख, गिरीले क्यानडा पठाइदिने भन्दै एकजनाबाट २० लाख, धादिङकी लामाले स्पेन पठाइदिने भन्दै एकजनाबाट १५ लाख, सिन्धुपाल्चोकका लामाले अजरबैजान पठाइदिने भन्दै ५० हजार र तामाङले कोसोभो पठाइदिने भनी दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
पीडितहरूले जाहेरी दरखास्तका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।