वैदेशिक रोजगारीका पीडितलाई ३५ करोडभन्दा बढी क्षतिपूर्ति

23 June, 2026

Amar Raj Naharki

वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका तनहुँका आप्रवासी श्रमिक र उनीहरूका परिवारले सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत स्थापनाकालदेखि हालसम्म ३५ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति तथा आर्थिक सहायता प्राप्त गरेका छन्।

नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, स्थानीय तहको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममार्फत सहायता उपलब्ध गराइएको हो। विसं २०७६ मङ्सिर १ गतेदेखि २०८२ असार मसान्तसम्म जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन भइरहेको सामी कार्यक्रमले तीनै तहका सरकारसँग समन्वय गरी विभिन्न प्रकृतिका मुद्दामा कुल ३२ करोड १४ लाख ५८ हजार ५१८ रुपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको छ।

आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक लुना रानामगरका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै तीन करोड ४९ लाख ८३ हजार ९०६ रुपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता पीडित परिवारलाई उपलब्ध गराइएको छ। हालसम्म कुल ३५ करोड ६४ लाख ४२ हजार ४२४ रुपियाँ सहायता उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।

यस वर्ष केन्द्रमा प्राप्त ११९ वटा उजुरीमध्ये ५५ वटाको सफल निरूपण भइसकेको छ भने बाँकी ६४ वटा उजुरी प्रक्रियामा रहेका छन्। चालु आर्थिक वर्षमा पालिकागत रूपमा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकाका पीडितले एक करोड नौ लाख ६२ हजार २८१ रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका छन्। त्यस्तै म्याग्दे गाउँपालिकाका पीडितले ८७ लाख ९९ हजार र भानु नगरपालिकाका पीडितले ८४ लाख ७६ हजार रुपियाँ प्राप्त गरेका छन्।

केन्द्रमा दर्ता भएका कुल मुद्दामध्ये सबैभन्दा बढी ठगीसम्बन्धी ३९५ वटा मुद्दामा पाँच करोड ४६ लाख ६१ हजार रुपियाँ क्षतिपूर्ति दिलाइएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १२८ जना कामदारका परिवारलाई २० करोड ४३ लाख ४४ हजार ५१८ रुपियाँ आर्थिक सहायता उपलब्ध गराउन समन्वय गरिएको छ।

यसैगरी सम्झौता वा करार उल्लङ्घनसम्बन्धी १०५ वटा मुद्दामा ११ लाख रुपियाँ, कार्यस्थलमा भएका दुर्घटना, चोटपटक तथा स्वास्थ्य उपचारसम्बन्धी १९४ वटा मुद्दामा छ करोड १२ लाख ९८ हजार रुपियाँ तथा अन्य विविध २६ वटा मुद्दामा ५५ हजार रुपियाँ क्षतिपूर्ति दिलाइएको छ।

विदेशी जेलमा परेका २९ जना, अलपत्र परी उद्धार गरिएका ९८ जना तथा सम्पर्कविहीन भएका २६ जना कामदारको समस्या समाधानका लागि सम्बन्धित राजदूतावास तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिएको केन्द्रले जनाएको छ।

आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा मात्रै जिल्लाका सात हजार ९६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन्। जसमध्ये सबैभन्दा बढी व्यास नगरपालिकाका एक हजार ५५३ जना, शुक्लागण्डकी नगरपालिकाका एक हजार ३२० जना तथा भानु नगरपालिकाका एक हजार १४४ जनाले सेवा लिएका छन्।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या उच्च रहेको तनहुँजस्तो जिल्लाका लागि सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी साबित भएको बताउनुभयो। उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका कार्यालयबाटै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई राहदानी बनाउने चरणदेखि सही सूचना, सिप र वित्तीय साक्षरतासम्बन्धी परामर्श दिँदा ठगीका घटनामा कमी आएको छ।

उहाँले समस्यामा परेका कामदार तथा परिवारले समयमै न्याय, परामर्श र सहयोग प्राप्त गर्ने वातावरण बनेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः समाजमा स्थापित हुन तथा उद्यमशीलतामा जोडिन कार्यक्रमले सहजीकरण गरिरहेको बताउनुभयो।

यसैबिच व्यास नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत मङ्गलबार सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको र आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024