कुवेतमा अलपत्र नेपाली महिलाको उद्धार गर्न सांसद ओलीद्वारा सरकारको  ध्यानाकर्षण

18 June, 2026

राप्रपा सांसद खुश्बु ओलीले कुवेतमा अलपत्र परेका नेपाली महिलाको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन्। बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद ओलीले केही समयअघि कुवेतमा अमानवीय पीडामा परेकी शर्मिला दर्जीलाई नेपाल फर्काउन सफल भएको र यस प्रक्रियामा संसद् तथा सम्बन्धित निकायको समन्वयले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

पीडितसँग भेट गरी उनको कुरा सुन्दा आँत काप्ने खालको पीडा रहेको उल्लेख गरिन् । बोर्डिङ पास लिइसकेपछि पनि सम्बन्धित व्यक्ति तथा मानव तस्करीसँग जोडिएका समूह र निकायले उनलाई रोक्ने प्रयास गर्दै जेल पठाएको र पछि राजदूतावाससँग समन्वय गरेर निरन्तर पहल गरेपछि ती महिला नेपाल फर्किन सफल भएको उनले बताइन्।

उनका अनुसार कुवेतको जेलमा अझै सयौँ नेपाली महिला रहेको र उनीहरूले मानसिक तथा शारीरिक पीडा भोगिरहेको भन्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

करिब ६५ हजार नेपाली महिला अवैध बाटो हुँदै कुवेत पुगेको र उनीहरू समस्यामा परेको बताउँदै ओलीले सरकारलाई तत्काल उद्धार प्रक्रियामा तीव्रता दिन आग्रह गरिन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024