हेटौँडाले अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्यायो, पहिलो चरणमा ६० श्रमिक समेटिए

17 June, 2026

Post Raj Adhikari

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाले ६० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत सञ्चालन गरिएको ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रममार्फत उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराएको हो।

मंगलबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र विभिन्न पेसा तथा श्रम क्षेत्रमा संलग्न ६० श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै परिचयपत्र वितरण गरेको छ। हेटौँडा उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा घरेलु कामदार, कृषि क्षेत्र तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई पहिलो चरणमा कोषमा समावेश गरिएको हो।

कोषमा आबद्ध भएका श्रमिकलाई परिचयपत्र वितरण गर्दै हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले सामाजिक सुरक्षा योजनाले श्रमिकको भविष्य सुरक्षित बनाउने बताइन्। उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुलाई दीर्घकालीन सुरक्षा र सम्मानजनक श्रमको आधारका रूपमा व्याख्या गर्दै अन्य श्रमिकलाई समेत यस अभियानमा सहभागी गराउन आग्रह गरिन्।

उपमहानगरपालिकाका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध हुन प्रत्येक श्रमिकले मासिक एक हजार १४० रुपैयाँ योगदान गर्नुपर्नेछ भने रोजगारदाताको तर्फबाट एक हजार ३४० रुपैयाँ जम्मा गरिनेछ। यसरी संकलित रकम सामाजिक सुरक्षा कोषमा जम्मा भई श्रमिकलाई विभिन्न सामाजिक सुरक्षा योजनाको लाभ उपलब्ध हुनेछ।

रोजगार सेवा केन्द्रका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने अधिकांश श्रमिक सामाजिक सुरक्षा, बिमा तथा अन्य संरक्षणका सुविधाबाट वञ्चित रहने गरेका छन्। यस्ता श्रमिकलाई संस्थागत सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

श्रमिकहरूको वृद्धावस्था सुरक्षा, स्वास्थ्य उपचार, दुर्घटना तथा आश्रित परिवारको संरक्षणलाई लक्षित गर्दै सरकारले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरिरहेको वेला स्थानीय तहबाट यस्तो पहल सुरु हुनुलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।

उपमहानगरपालिकाले आगामी दिनमा थप श्रमिकको तथ्यांक संकलन गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानलाई विस्तार गर्ने जनाएको छ। विशेष गरी निर्माण, कृषि, घरेलु श्रम तथा अन्य अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई निरन्तरता दिइने उपमहानगरपालिकाको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024