श्रम शोषणको सिकार बनेका १६ नेपाली स्वदेश फर्किँदै

10 June, 2026

Ajaya Shah

रोजगारीका लागि भारत पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना नेपालीलाई भारतको हरियाणा राज्यमा बन्धक बनाइएका अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ ।

आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी कार्यालय बर्दिबासको पहलमा उनीहरूको उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार श्रम शोषणमा परेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने तयारी भइरहेको छ ।

उद्धार टोलीका सदस्य अशोक सदाका अनुसार भारतीय प्रहरीको सहयोगमा बन्धक बनाइएकाहरूलाई मुक्त गरिएको हो । काम गरेबापतको पारिश्रमिकसमेत प्रहरीको पहलमा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

पीडितहरूलाई डर, धम्की तथा यातना दिएर बन्धक बनाइएको बताइएको छ । उनीहरूले आफूमाथि भएको कुटपिट र यातनाका तस्बिर तथा भिडियो परिवारजनलाई पठाएपछि घटनाबारे जानकारी बाहिर आएको थियो ।

पीडितका आफन्तहरूले दोषीमाथि कानुनी कारबाही र उद्धारको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नेपाली दूतावासमा निवेदन दिएका थिए । वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले आफ्ना छोराछोरी तथा श्रीमतीहरू बन्धक बनेको भन्दै उद्धारका लागि पहल गर्न अनुरोध गर्नुभएको थियो ।

प्रारम्भिक विवरणअनुसार उनीहरूलाई २७ मार्च २०२६ मा भारतको हरियाणा राज्यअन्तर्गत झज्जर जिल्लाको हेलन गाउँस्थित कुखुरा फार्ममा अन्डा सङ्कलन गर्ने काममा राम्रो आम्दानी हुने प्रलोभन देखाएर लगिएको थियो । तर त्यहाँ पुगेपछि उनीहरूलाई श्रम शोषण गर्दै बन्धक बनाइएको आरोप लागेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024