वैदेशिक रोजगार विभागका कर्मचारीलाई कस्न पहिलोपटक आचारसंहिता

13 May, 2026

वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीलाई अनुशासित बनाउन पहिलोपटक आचारसंहित लागू गरिएको छ । विभागकी महानिर्देशक मीरा आचार्यले समग्र वैदेशिक रोजगार क्षेत्रमा सुशासन कायम गर्न आचारसंहित लागू गरिएको जानकारी दिइन् । सेवा प्रवाहमा प्रभावकारी बनाउन ‘वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीको आचारसंहित, ०८३’ जारी गरेर लागू भइसकेको उनले बताइन् । ‘विभागमा कार्यरत कर्मचारीले के गर्न हुन्छ, के गर्न हँदैन भन्ने कुरालाई प्राथमिकतामा राखेर आचारसंहिता जारी भएको छ,’ उनले भने, ‘अबदेखि कर्मचारीले कार्यालय समयमा म्यानपावर व्यवसायी वा अन्य पिडकसँग औचित्वबेगर छलफल गर्न पाउँदैनन् ।’ आचारसंहितामा कर्मचारीले कुनै पनि प्रकारको मोलाहिजा, पक्षपात वा पूर्वाग्रह नराखी राष्ट्र र जनताको बृहत्तर हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

विभागमा कार्यरत कर्मचारीले म्यानपावर व्यवसायीसँग साँठगाँठ गरेर श्रमिकलाई थप दुःख दिने गरेको आरोप लाग्दै आएको छ । त्यस्तै, विभागपरिसरमै घुस असुल्ने, श्रमिकको उजुरीलाई समयमै सम्बोधन नगर्नेलगायत गुनासो बढ्दै गएका छन् । आचारसंहिताले सेवाग्राहीको समस्यालाई तोकिएको समयभित्रै सम्बोधन गर्न र निष्पक्ष निर्णय गर्न प्रोत्साहन गरेको महानिर्देशक आचार्यले जानकारी दिइन् ।

वैदेशिक रोजगार कानुनको अपव्याख्या गरी श्रमिकको हितप्रतिकूल कार्य गर्ने कर्मचारीको प्रवृत्तिमा पनि आचारसंहितामार्फत अंकुश लगाउन खोजिएको छ । ‘वैदेशिक रोजगारसम्बन्धी कानुनको अपव्याख्या नगरी समान रूपमा कानुनको कार्यान्वयन गर्नुपर्नेछ,’ आचारसंहितामा भनिएको छ, ‘झुटा विवरण तयार गर्ने, वैदेशिक रोजगार ठगीमा सहयोग गर्ने वा भ्रमपूर्ण सूचना दिने कार्य गर्नुहुँदैन ।’

कर्मचारीले व्यक्तिगत फाइदा पुग्ने कुनै पनि निर्णय गर्न नहुने, अरूलाई बदनाम गर्न नपाइने, प्रतिशोधका लागि विभागमा उजुरी दर्ता गर्ने वा गराउने कार्यमा पनि बन्देज लगाइएको छ । कर्मचारीलाई राजनीतिक प्रभाव, गतिविधि र दलको सदस्यताबाट मुक्त हुन पनि आचारसंहिताले निर्देश गरेको छ । आचारसंहिताविपरीत कार्य भएको ठहरे कानुनी कारबाहीको व्यवस्था गरिएको महानिर्देशक आचार्यले जानकारी दिइन् । ‘निजामती ऐन र नियमावलीमा पनि कर्मचारीको आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्न सकिने व्यवस्था छ,’ उनले भनिन्, ‘अर्कातिर, सेवा प्रभावलाई प्रभावकारी बनाउने उद्देश्यले पनि आचारसंहिता लागू गरिएको हो ।’

नून म्यानपावरलाई पैसा बुझाउने श्रमिकलाई रकम फिर्ता लिन सूचना

जावलाखेलस्थित नून रिसोर्सेज प्रालिबाट जफत भएको सात लाख ९० हजार रुपैयाँमध्ये विभागले छापा हानेको २५ वैशाखमा कुनै श्रमिकले सो म्यानपावारलाई रकम बुझाएको भए प्रमाणसहित सम्पर्क गर्न विभागले सूचना जारी गरेको छ । तोकिएभन्दा बढी रकम तिरेको बिल वा भरपाई वा अन्य प्रमाणित कागजात लिएर श्रमिक उपस्थित भए पैसा फिर्ता दिइने विभागकी महानिर्देशक मीरा आचार्यले जानकारी दिइन् । ‘छापा हानेको दिन कुनै श्रमिकले सो म्यानपावरमा रकम बुझाएको प्रमाणित कागजातसहित उपस्थित भए पैसा फिर्ता दिन्छौँ,’ उनले भनिन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024