शिक्षालाई रोजगारसँग जोडियो भने मात्रै विद्यार्थी पलायन रोकिन्छ

26 May, 2026

डा. पिटर लेप्चा

भारतको शिक्षा क्षेत्रमा थुप्रै सुधारका काम गरेका शिक्षाविद् डा. पिटर लेप्चाको नेपालको शिक्षा क्षेत्रसँग विशेष सम्बन्ध छ । सेन्ट जेभियर्स स्कुल, गोदावरीमा प्रिन्सिपल भएर काम गरेका उनले त्यसअघि भारतका थुप्रै स्कुल सुधार गरी नमुना बनाएका छन् । उनै शिक्षाविद् तथा हाल चौधरी ग्रुपअन्तर्गत सिजी एजुकेसन विभागको नेतृत्व गरिरहेका डा. लेप्चासँगको कुराकानी :

नेपालबाट उच्च शिक्षाका लागि विद्यार्थी पलायन हुनुको मुख्य कारण के हुन सक्छ ?

अहिलेका विद्यार्थीले नेपालको सीमा पार गर्दासाथ आफूलाई अरू देशका विद्यार्थीसँग तुलना गर्छन् । विश्वमा चलेको शिक्षा हासिल गर्न खोज्छन् । उनीहरू आफूलाई विश्व दुनियाँको रोजगार क्षेत्र र बजारसँग प्रतिस्पर्धा गराउन खोज्छन् । बिकाउ शिक्षा मात्रै नभएर विश्व वरीयताको स्ट्यान्डर्ड शिक्षा लिन चाहन्छन् । यसैकारण विद्यार्थी पलायन भएको हुनुपर्छ ।

हाम्रो शिक्षाको मूलभूत समस्या के हो ?

यहाँको शिक्षाको मूल समस्या, विद्यार्थी यहाँ नबस्ने अवस्था हो । शिक्षाकै कारण विद्यार्थी बिदेसिएका हुन् ? यहाँको विद्यालय र उच्च शिक्षा ठिक छैन ? वास्तवमा अहिले उच्च शिक्षा पढ्नुपर्ने विद्यार्थी नेपालबाट बिदेसिएका छन् । त्यसमध्ये कतिपय मात्रै नेपाल फर्किएको देखिन्छ । त्यसकारण नेपालको शिक्षा र रोजगार प्रणालीलाई अब पुनर्विचार गर्न जरुरी छ ।

नेपालमा रोजगार क्षेत्र कम छ । अहिले विद्यार्थीले पढेपछि रोजगार खोज्दै भौँतारिरहेका हुन्छन् । उनीहरूलाई आफूले पढेको क्षेत्रमा जागिर पाउन कठिन छ । यहाँको शिक्षा क्षेत्र, रोजगार क्षेत्र र स्टेकहोल्डरबिच राम्रो समन्वय छैन । भारतमा शिक्षा क्षेत्रका स्टेकहोल्डरहरू उद्योगसँग जोडिएका हुन्छन्, जसकारण विद्यार्थीले पढ्नेबित्तिकै उसलाई उद्योग क्षेत्रले लिन्छ । शिक्षा क्षेत्रले जन्माएको जनशक्तिलाई त्यही देशको रोगजार क्षेत्रले लिन्छ । त्यसकारण नेपाल सरकारले यसमा ध्यान दिएर रोजगार क्षेत्रसँग समन्वय गरी विद्यार्थीलाई रोजगारीका लागि सहजीकरण गर्न सक्नुपर्छ । यसले एउटा विद्यार्थीले रोजगार मात्रै पाउँदैन, त्यो देशले लगानी गरेर तयार पारेको दक्ष जनशक्ति पलायन हुँदैन । दक्ष जनशक्ति पलाउन हुन नदिनु भनेको त्यो देश धनी हुनु पनि हो । त्यो समाज समुन्नत र विकसित हुनु पनि हो । अरू देशमा शिक्षा र अन्य रोजगार क्षेत्रबिच भइरहेको त्यस्तै नेटवर्किङ अभ्यास नेपालमा पनि जरुरी देखिन्छ ।

स्कुल तहको शिक्षा र सिकाइ कस्तो पाउनुहुन्छ ?

कुनै पनि देशमा आधारभूत शिक्षा भनेको देशको जग हो । आज यसमा सरकारले गरेको लगानी र योगदान कस्तो छ ? सोहीअनुसार भोलि देशको फाउन्डेसन तयार हुने हो । तर, नेपालमा हेर्दा आधारभूत तहको सिकाइ र लगानी कमजोर देखिन्छ । अतः यसलाई सुधार गर्नैपर्छ । घर बलियो बनाउन जग बलियो हुनुपर्छ भनेजस्तो सक्षम जनशक्ति उत्पादनका लागि तल्लो तहको शिक्षामा बढी ध्यान दिनुपर्छ ।

यहाँ निजी शिक्षा महँगो छ भनिन्छ । तपाईंले भारतको निजी शिक्षा क्षेत्रमा समेत काम गर्नुभएको अनुभवका हिसाबले यसलाई कसरी हेर्नुभएको छ ?
मेरो बुझाइ र अनुभवमा कुनै पनि देशमा गुणस्तरीय शिक्षा सजिलो कुरा होइन । स्कुल खोल्दैमा गुणस्तरीय शिक्षा दिन पनि सकिँदैन । लगानी गर्नुपर्छ । आज निजी स्कुलले आफूले दिने शिक्षा र त्यसभित्रको सुविधाका आधारमा शुल्क लिन्छन् । साधारण तरिकारले पढाउँदा र सीमित स्रोत–साधन वितरण गर्दा गुणस्तरीय शिक्षा नहुन सक्छ । आजको दिनमा डिजिटल प्रणालीसँगै कक्षाकोठा, पाठ, शिक्षक, प्रयोगात्मक सिकाइलगायतमा लगानी गर्नुपर्ने देखिन्छ ।

सिजी एजुकेसनले शिक्षालाई रोजगारसँग कसरी जोडेको छ ?

अहिले शिक्षा क्षेत्रमा नेपालका निजी र सरकारी क्षेत्रको योगदान छ । केही सरकारी स्कुल अब्बल छन्, निजी क्षेत्रका पनि केही स्कुल राम्रा छन् । त्यही निजी शिक्षा रूपान्तरण गर्न चौधरी ग्रुपले यहाँको शैक्षिक क्षेत्रमा लगानी गरेको छ । यस ग्रुपले चलाएको स्कुलबाट सयौँले छात्रवृत्ति पाएका छन् । यद्यपि, यो क्षेत्रमा आर्थिक रूपमा फाइदा छैन । तर, समाजको समुन्नति र रूपान्तरणका लागि सिजीले शिक्षामा लगानी गरेको हो । साथै, सिजीका बिजनेस युनिट धेरै भएकाले यस ग्रुपभित्र अध्ययन गरेका विद्यार्थीलाई काम दिलाइरहेका छौँ । यसलाई शिक्षामा रोजगारसँग जोडिएको एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।

भारत र नेपालको शिक्षा प्रणालीबिच के–कस्ता खाडल छन् ?

भारतको शिक्षा प्रणाली स्थापित भइसकेको छ । त्यसो त नेपालको शिक्षा क्षेत्र पनि सुधारोन्मुख देखिन्छ । भारतमा निजी क्षेत्र र सरकारी क्षेत्रबाट विद्यालयदेखि विश्वविद्यालय चलिरहेका छन् । गुणस्तरीय पनि छन् । नेपाल भनेको काठमाडौं मात्रै होइन । यहाँ पोलिसी र प्रोग्राम गर्दा काठमाडौंलाई नै लक्षित गरिन्छ । यो तरिका ठिक होइन । त्यसैले नेपालका सामुदायिक विद्यालयमा धेरै नै सुधार गर्नुपर्ने देखिन्छ । सरकारले सहरी क्षेत्रका मात्रै होइन, ग्रामीण क्षेत्रका विद्यालयलाई समेटेर हेर्नुपर्छ । शिक्षाका कार्यक्रम र लगानी सबैतिर समानान्तर हुनुपर्छ ।

निजी र सार्वजनिक शिक्षाका चुनौती र कमजोरी के–के छन् ?

जिडिपी र आयस्रोत हेर्दा नेपालले शिक्षामा ठुलो लगानी गरेर सीधै सुधार गर्न सक्छजस्तो लाग्दैन । अर्को कुरा, देशको सबैभन्दा ठुलो धन भनेको दक्ष जनशक्ति तथा मावन स्रोत–साधन हो । यसमा हामीले जति फोकस गर्न र लगानी गर्न सक्छौँ, त्यसको दीर्घकालीन फाइदा देशलाई नै हुने हो । अहिलेको अवस्थामा निजी विद्यालयलाई बढी कडाइ गर्नुभन्दा सरकारी स्कुल र युनिटलाई व्यवस्थित गर्न जरुरी छ । सरकारले शिक्षा दिने संघ–संस्थालाई सुधार त गर्नैपर्छ । निजी स्कुलहरूको शुल्क निर्धारण र अन्य कानुनी पक्षलाई सरकारले मनिटरिङ गर्नु ठिक नै हुन्छ । तर, नेपालका निजी शिक्षा क्षेत्रलाई त्यति राम्ररी हेरिएको छैन । त्यसकारण सरकार र निजी क्षेत्र मिलेर गुणस्तरीय शिक्षामा काम गर्न जरुरी छ ।

सुधार गर्नुपर्ने पाटाहरू के–के देख्नुहुन्छ ?

आजका विद्यार्थी भोलिको भविष्य हुन् । उनीहरूलाई उसैगरी तयार पार्नुपर्छ । गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको देशका लागि ठुलो उपलब्धिको विषय हुन सक्छ । नेपालको शिक्षा प्रणालीमा रूपान्तरणको जरुरी पनि छ । वर्षौँ पुरानो शिक्षा प्रणाली र नीतिले चल्दैन । भारतमा पनि समयानुकूल शिक्षा नीति र प्रणाली लागू भएको छ । नेपालमा हेर्दा ०२८ कै शिक्षा ऐन विद्यमान छ । अन्य थुप्रै शिक्षा क्षेत्रका नीतिहरू रूपान्तरण गर्नुपर्ने अवस्था छ । त्यस्तै, कृषि, पर्यटन, रोजगार र विश्व दुनियाँमा बिकाउ हुने किसिमका शिक्षा कार्यक्रम आवश्यक छन् । सोहीअनुसार नीति बनाउनुपर्छ ।

अर्को कुरा, नेपालको विद्यालय शिक्षा सञ्चालन कता–कता अलमल भइरहेजस्तो देखिन्छ । शिक्षा क्षेत्रमा खेलबाड गर्नुहुँदैन । किनभने, यो त देशको दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्र हो । तर, शिक्षामा अपरिपक्व कदम चाल्नु, आवश्यकता नबुझ्नु, विद्यार्थी र अभिभावकको माग नबुझ्नु, समयानुकूल शिक्षामा रूपान्तरण गर्न नसक्नु ठुलो कमजोरी हो ।

सहरी र ग्रामीण शिक्षालाई कसरी हेर्नुभएको छ ?

सहरी क्षेत्रको शिक्षा राम्रो नै छ । तर, ग्रामीण क्षेत्रमा दयनीय पनि देखिन्छ । सरकारले चाह्यो भने हरेक क्षेत्रमा सुधार गर्न सक्छ । काठमाडौंको मात्रै होइन, दूर–दराजको शिक्षालाई नै कायापलट गर्न सक्छ ।

हाम्रो पाठ्यक्रम घोकन्ते र सैद्धान्तिक भयो, जसले गर्दा पढेलेखेका पनि बेरोजगार भए भनिन्छ, यहाँको बुझाइ के छ?

नेपालको पाठ्यक्रममा कमजोरी र समस्या खासै देखिँदैन । यहाँका विद्यार्थी विश्व दुनियाँमा पुगेका छन् । तर, अहिले विद्यार्थीले जुन विषय माग गरिरहेका छन्, त्यसमा ध्यान दिनुपर्छ । करिकुलम समय–समयमा परिमार्जन गर्नुपर्छ । विद्यार्थी पलायन हुनाको कारण यहाँको करिकुलम मात्रै होइन, रोजगार क्षेत्रलाई पनि हेर्नुपर्छ । अहिलेको शिक्षालाई अर्थतन्त्र र रोजगारसँग जोड्न अपरिहार्य देखिन्छ । कुनै पनि देशमा शिक्षासँग उसले पढेका आधारमा अवसर दिन सकियो भने विद्यार्थी टिकाउन र आकर्षण गर्न सकिन्छ । विद्यालयको परीक्षा, सिकाइ, मूल्यांकनमा पनि ध्यान दिनुपर्छ । त्यसैगरी, अवसर खोज्दै बसाइँसराइ गर्ने मध्यमवर्गीय परिवारलक्षित शिक्षाका कार्यक्रम पनि ल्याउनुपर्छ ।

बालबालिकामा ग्याजेटको प्रयोग बढ्दो छ, यसले उनीहरूको सिकाइ र क्षमता विकासमा असर पर्छ ?

नेपालमा मात्रै होइन, विश्वभरकै विद्यार्थीमा मोबाइल र अन्य डिभाइसको प्रयोग अत्यधिक छ । अहिलेको युगमा उनीहरूलाई प्रविधिबाट वञ्चित गराउनुहुँदैन । मोबाइल बच्चाहरूको सूचनाको माध्ययम पनि हो । त्यसैले बच्चालाई दिइने मोबाइल र डिभाइसबारे अभिभावकले मनिटरिङ गर्नुपर्छ । यद्यपि, शिक्षण सिकाइमा डिजिटल माध्यमको भरपूर प्रयोग गर्नुपर्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024