घरको छत प्लास्टर गर्ने क्रममा चार तलाबाट खसेर दुईजना मिस्त्रीको मृत्यु

14 May, 2026

सर्लाहीको मलंगवामा घरको चार तलामाथिबाट छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ मलंगवा नगरपालिका–१०, मा रहेको रञ्जित यादवको चार तलामाथि पक्की घरको छत प्लास्टर गर्ने क्रममा दुईजना मिस्त्री घरको छतसहित खसेका थिए ।

पक्की घरको छतसहित चार तला माथिबाट खसेका मलंगवा नगरपालिका– २ बस्ने अन्दाजी ५० वर्षका छटु साह र हरिपुर्वा नगरपालिका– २ बस्ने अन्दाजी ४० वर्षका राजकिशोर यादवको मृत्यु भएको हो । पानीट्यांकी राख्ने छत प्लास्टर गर्ने क्रममा उनीहरू प्लास्टर गर्दै गरेको छतसहित खसेर गम्भीर घाइते भएका थिए ।

दुवैजनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बताए ।

दुवैजनाले निर्माणाधीन घरमा राजमिस्त्रीका रूपमा मजदुरी गर्ने गरेका थिए । शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024