परराष्ट्रमन्त्री शिशिर खनालले पछिल्लो समय बिदेसिने विद्यार्थीहरूको संख्या बढ्नुलाई उनीहरूको सिकाइ र ज्ञान आर्जनसँग दाँज्नुपर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘विद्यार्थी बसाइँसराइः नीतिगत आकांक्षा र विश्वव्यापी गतिशीलता’सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले सिक्न र ज्ञान आर्जनका लागि विद्यार्थी बिदेसिनु सकारात्मक रहेको बताएका हुन्।
‘म पनि पहिले विदेश गएर पढेर आएको हुँ, अहिले ब्रेन ड्रेनको विषयलाई गाम्भीर्य नबुझी अलि एकांकीका रूपमा मात्रै हेरेको पाइन्छ, अहिले प्लस टू पढेकालाई विदेश पढ्न जान नदिऊँ भनेको सुनिन्छ, यो हल्ला परराष्ट्रमा पनि चलेको सुन्छु, तर यो राम्रो होइन, विदेशमा धेरै गए भनेर भनिरहनुभन्दा सिकाइसँग दाजेर हेर्न जरुरी छ,’ उनले भने, ‘मानव सभ्यताका चरणमा हेर्दा मानिस सिक्नका लागि घर छाड्थे, के पढ्नको लागि विदेश वा अन्य ठाउँमा जाने विषय नयाँ हो त? होइन गुरुकुल, रामायणमा पनि सिक्नको लागि आफ्नो ठाउँ छाड्नुपर्ने कथा समेटिएको छ, गौत्तम बुद्धले ठाउँ छाडेका थिए, त्यसकारण सिक्नका लागि यो ठाउँमा जान्छु भन्नु स्वभाविक हो, सिकाइलाई बाँध्नुभन्दा पनि खुला गर्नुपर्छ।’
उनले नर्फकिने गरी ठूलो संख्यामा विद्यार्थी तथा युवाहरु विदेशीए भने त्यसले देशलाई नै असर पार्न सक्ने बताए । तर शिक्षाप्राप्त गर्न गएकाहरुका कारण मुलुकलाई बेफाइदा नहुने उनको भनाई छ । पछिल्लो समय कतिपय विद्यार्थी पढ्न विदेश जाने, त्यही पैसा कमाउने र त्यहि बस्ने चलन बढेकोले त्यसतर्फ सचेत हुन आवश्यक रहेको उनले बताए । ‘मुलभूतमा अध्ययनको लागि विद्यार्थी विदेशीने हुन् तर उनीहरुलाई पढेर यहाँ फर्किदा फाइदा हुन्छ भन्ने सम्भावना पनि हामीले देखाउन सक्नुपर्छ,’ मन्त्री खनालले भने, ‘ठूलो संख्यामा विदेशिएको संख्यालाई नेपालमा आकषर्ण गर्ने विषय निकै पेचिलो छ, विदेश पढेर फर्कन यहाँ अवसरहरु चाहिन्छ, कानुन सहज हुनुपर्छ, स्पेस र ज्ञानलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा राज्यले सोच्नुपर्छ ।’
उनले अहिले एकैठाउँमा बसेर सिक्दा सिकाईमा प्रगति नहुने बताए। सिकाईमा सुधार र विद्यार्थी पलायन रोक्न यहाँ रोगजार सिर्जना गर्नुपर्ने र दैनिकीलाई सहज पार्नतिर लाग्नुपर्ने मन्त्री खनालले बताए । उनले यहाँ राम्रो वातावरण नभएकोले विदेशमा भएका क्षमतावान नेपालीलाई फिर्ता बोलाउन नसकिएको बताए । ‘हामीले आर्थिक विकास गर्न सकेका छैनौंँ, रोजगारको विकास पनि हुन सकेको छैन, त्यसकारण पनि कतिपय राम्रा साथिहरुलाई विदेशबाट आउनुस भन्न सकेको छैन्, विदेशमा गएकाहरुले विद्यार्थी हुँदा नै काम गरिरहेका हुन्छन्, पैसा कमाउन सक्छन्, नेपालमा त्यस्तो किसिमको शिक्षा नीति छैन, मुख्य त यहाँको शिक्षाको क्यालेन्डर ठिक छैन्,’ मन्त्री खनालले भने, ‘विश्वविद्यालयकोे एकाडेमिक क्यालेन्डर पनि ठिक छैन, चार वर्षको कोर्श पढ्न ६ वर्ष लाग्छ, नजिता समयमा आउँदैन, त्यसकारण हरेक वर्ष एक लाखदेखि डेढ लाख विद्यार्थीले एनओसी लिएका हुन्छन्, जहाँ रिसर्च हुन्छ त्यहा इनोभेसन हुन्छ, हामीले त्यस अनुसारको शिक्षा दिनु आवश्यक छ ।’