खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति खोल्न परराष्ट्रको सिफारिस

21 April, 2026

Hom Karki

परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी)ले खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति खोल्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । पश्चिम एसियामा अमेरिका, इजरायल–इरान युद्ध सुरु भएपछि खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति रोकिएको थियो ।

परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा सोमबार बसेको इमर्जेन्सी रेस्पोन्स टिमको बैठकले पश्चिम एसियाको तनावपूर्ण परिस्थिति सहज हुँदै गएको भन्दै श्रम मन्त्रालयलाई नयाँ श्रम स्वीकृति खोल्न सिफारिस गरेको हो । सरकारले पश्चिम एसियाको परिस्थितिअनुसार नेपालीको लागि आवश्यक निर्णय लिन परराष्ट्र सचिवको अध्यक्षतामा इआरटी गठन गरेको थियो ।

अमेरिका–इरानबीच युद्ध सुरु भएपछि श्रम मन्त्रालयले नेपालीको प्रमुख रोजगार गन्तव्य कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, ओमान, इजरायल, टर्की देशमा नयाँ श्रम स्वीकृति र श्रम नवीकरण गर्न रोक लगाएको थियो । तर, श्रमले बिदामा आएका नेपालीलाई फर्कनको लागि श्रम नवीकरण गर्ने निर्णय गरे पनि नयाँलाई श्रम स्वीकृति दिएको थिएन ।

श्रम स्वीकृति स्थगन भएपछि नेपाली दुतावासले मागपत्र प्रमाणीकरण गर्न समेत रोक लगाइएको छ । श्रम मन्त्रालयले रोकिएको नयाँ श्रम स्वीकृति खोल्ने प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024