मध्यपूर्वका सबै देशमा रोजगारीका लागि जान चाहने कामदारका लागि पुनः श्रम स्वीकृति खुला गरिएको छ । तर, नयाँ श्रम स्वीकृति भने रोक्का गर्ने निर्णय यथावत् छ । सरकारको यस्तो निर्णयले मध्यपूर्वमा भएको तनावले नेपाल फर्किएका युवाहरूलाई पुनः ती देशमा काम गर्न जाने बाटो खुलेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै युद्धरत इजरायलसहित कुवेत, बहराइन र लेबनानमा पुनः श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको हो । यसअघि ३ चैतबाट लागू हुने गरी साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको थियो ।
अमेरिका–इजरायल र इरान युद्धका कारण मध्यपूर्वका सबै देशमा अहिले तनाव छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गरी मिसाइल प्रहार गरिरहेका कारण अधिकांशमा देशमा भौतिक संरचना सहित मानवयीय क्षति समेत भएका छन् । मध्यपूर्वमा युद्धको प्रभाव देखिनासाथ सरकारले १७ फागुनदेखि लागू हुने गरी १२ देशमा नयाँ र पुराना सबै श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको थियो ।
तर, युद्धको असर कम हुँदै गएको रिपोर्टिङ पछि गत ३ चैतमा सात देशका लागि पुनः श्रम स्वीकृति खोलिएको थियो । अहिले युद्ध रोक्न बार्ता जारी भएको र युद्धको प्रभावसमेत कम देखिएको भनेर परराष्ट्र मन्त्रालयले नै रिपोर्टिङ गरेपछि सबै देशका लागि पुनः श्रम स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ । बिदामा नेपाल आएर काम गर्नका लागि पुनः विदेश जान नपाएका युवाहरूले श्रम स्वीकृति खोल्न दबाब दिँदै आएका थिए ।
वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले मध्यपूर्वको वर्तमान अवस्था र छुट्टीमा नेपाल आएर पुनः रोजगारीका लागि विदेश जान चाहेको युवाको मनस्थितिलाई हेरेर सरकारले निर्णय गरेको बताए । ‘पहिले सातवटा देशमा पुनः श्रम स्वीकृति खोलिएको थियो । अहिले थप देशमा पनि खुला गरिएको हो,’ उनले भने, ‘नयाँ श्रम स्वीकृति भने जारी गर्ने निर्णय भएको छैन ।’ मध्यपूर्व नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य मुलुक हुन् । यीमध्ये पनि युएई, साउदी अरब, कुबेत, कतार, बहराइन, ओमान, जोर्डनलगायतका देशमा धेरै नेपाली कामदार कार्यरत छन् ।
विभागको तथ्यांकअनुसार मध्यपूर्वका १६ देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत छन् । यी देशमा थोरै संख्यामा रहेका नेपालीहरू ! व्यवसाय गरिरहे पनि ठुलो संख्यामा कामदारहरू छन् ।