पुरुषको आप्रवासनले महिला तथा बालबालिकामाथि पारेको सामाजिक असरबारे सर्लाही, सप्तरी र धनुषामा गरिएको एक अध्ययनले श्रीमान् विदेश गएपछि धेरैजसो महिला घरबाट छुट्टिएर सहर वा अन्यत्र बस्न थालेको देखाएको छ । नेपाल इन्स्टिच्युट फर सोसल एन्ड इन्भाइरोनमेन्टल रिसर्चले सन् २०१९ मा गरेको उक्त अध्ययनअनुसार श्रीमान् विदेश गएपछि आफूमाथि हिंसा बढेको भन्दै ८१ प्रतिशत श्रीमतीहरूले प्रतिक्रिया दिएका छन् । साथै, औसतमा ६२ प्रतिशत महिलाले श्रीमान् परदेश गएपछि आफ्नो जीवनमा थप समस्या बढेको बताएका छन् । अध्ययनले महिलाहरूले भोग्ने प्रमुख समस्यामा परिवारको सहयोग नपाउनु, आर्थिक अभाव, चरित्रमाथि शंका, अन्य पुरुषबाट हुने हिंसा, बाहिर आवत–जावतमा रोक, मानसिक तनाव र एक्लोपनजस्ता पक्षहरू रहेको देखाएको छ । त्यस्तै, मानव अधिकार आयोगले ०७६ मा तयार पारेको प्रतिवेदनमा पनि वैदेशिक रोजगारीमा गएकाहरूका श्रीमतीहरूले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहनु परिरहेको छ ।
मुगुको छायानाथ–रारा नगरपालिका– ६, मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहरा र उनका दुई छोरा तथा एक छोरी ०८० कात्तिकमा आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उनीहरूको शव हत्या गरिएको अवस्थामा भेटिएको थियो । सामूहिक हत्याको यो घटनाका वेला उनका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनी एक वर्षअघि मात्र कतार पुगेका थिए ।
त्यस्तै, तेह्रथुममा पाँच वर्षअघि २८ वर्षीया विन्दा पुरीको हत्या भएको थियो । उक्त घटनामा उनका आफ्नै देवरहरू संलग्न थिए । १० वर्ष र १५ महिनाका दुई छोराकी आमा पुरीको घाँटी रेटेर बीभत्स हत्या गरिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार वैदेशिक रोजगारीमा दुबईमा रहेका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने र परिवारका अन्य सदस्यले उक्त रकम प्रयोग गर्न नपाएपछि उत्पन्न विवादका कारण देवरहरूले हत्या गरेको खुलेको थियो ।
मुगुको घटनामा ३१ वर्षीय गोर्खबहादुर शाही र ३१ वर्षीय गोपाल बोहराविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो । उनीहरू नातामा श्रीदेवीका काका र देवर पर्थे । अनुसन्धानका क्रममा चारैजनाको खुकुरी प्रहार गरी हत्या गरिएको खुलेको थियो । दुवैले सुन तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए । तेह्रथुममा विन्दा पुरीको हत्या आरोपमा उनका दुई देवर २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू झापाबाट गाडी रिजर्भ गरी योजनाबद्ध रूपमा तेह्रथुम पुगेको अनुसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार सुरुमा डोरीले घाँटी कसेर हत्या गर्ने प्रयास असफल भएपछि उनीहरूले छुरी प्रयोग गरी घाँटी रेटेर बीभत्स हत्या गरेका थिए ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेका वेला नेपालमा रहेका महिलालाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्वाग्रही रहेको महिलाहरू बताउँछन् । सामान्यतया श्रीमान् विदेश जाँदा श्रीमतीको चरित्रमाथि प्रश्न उठाउने, पठाएको पैसा लिएर अर्कासँग भाग्ने वा विवाहेत्तर सम्बन्धमा रहेकोजस्ता आरोप लगाउने प्रवृत्ति देखिन्छ । तर, श्रीमान् विदेशमा हुँदा महिलामाथि हुने हिंसा र दुव्र्यवहारबारे भने पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ ।
‘परदेशीको श्रीमती भएपछि आफूलाई ‘अभाइलेबल’ ठान्ने मानसिकता रहेछ । गाउँका मानिसहरूले राम्रो नजरले हेर्दैनन्,’ काठमाडौंमा डेरा लिएर बस्दै आएकी बाराकी एक महिलाले भनिन्, ‘घरमा सासू–ससुरासँग बस्दा विभिन्न कुरा लगाएर झगडा गराइदिन्छन्, जसले विदेशमा रहेका श्रीमान्लाई समेत तनाव दिन्छ ।’
उनका अनुसार सासू–ससुरासँग बस्दा श्रीमान्ले पठाएको पैसाले पूरै घरधन्दा चलाउनुपर्ने, आफ्नै खर्चका लागि समेत स्वतन्त्रता नहुने र बालबच्चाको उचित हेरचाहमा समस्या हुने भएपछि उनी छुट्टिएर बस्न बाध्य भएकी हुन् ।सुनसरीमा सुरक्षित वैदेशिक रोजगारी कार्यक्रमका जिल्ला संयोजक धीरज भट्टराईका अनुसार समाज र सञ्चारमाध्यममा महिलासम्बन्धी नकारात्मक घटनाहरू मात्र बढी चर्चामा आउने प्रवृत्तिले वास्तविक अवस्था ओझेलमा परेको छ । ‘श्रीमती विदेश जाँदा श्रीमान् छिट्टै विचलित हुने र अन्यत्र सम्बन्ध राख्ने घटना पनि कम छैनन्,’ उनले भने, ‘तर, धेरैजसो महिलाले घर धानेका छन्, बालबच्चा हुर्काएका छन् र विदेशबाट आएको पैसा नेपालमै लगानी गरेका छन् । तर, यस्ता सकारात्मक पक्षभन्दा नकारात्मक कथाहरू नै बढी फैलिन्छन् ।’
उनका अनुसार श्रीमान् विदेशमा हुँदा महिलाहरू सामाजिक लाञ्छनाको सिकार हुने र सजिलै ‘इजी टार्गेट’ बन्ने अवस्था छ । यसका साथै, श्रीमान्ले पठाएको रकमको उपयोग तथा श्रीमान्को मृत्युपश्चात् पाउने बिमा रकमजस्ता विषयमा पनि परिवारभित्र विवाद उत्पन्न हुने गरेको छ । ‘कानुनले श्रीमतीलाई नजिकको नातेदार मान्छ, तर व्यवहारमा भने देवर वा सासू–ससुराले नै पैसा लिन खोज्ने प्रवृत्ति देखिन्छ,’ भट्टराईले भने, ‘यही कारण धेरै महिला बालबच्चासहित अलग बस्न बाध्य हुने गरेका छन् ।’
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीका अनुसार श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीमाथि हुने हिंसाका उजुरीहरू आयोगमा उल्लेख्य रूपमा आउने गरेका छन् । उनका भनाइमा कतिपय अवस्थामा श्रीमान्ले नै विदेशबाट मानसिक तथा आर्थिक हिंसा गर्ने वा घरका अन्य सदस्यबाट पनि श्रीमतीमाथि दुव्र्यवहार हुने गरेको पाइन्छ ।
उनका अनुसार श्रीमान् विदेशमा बस्दा त्यहीँ वा नेपालकै अन्य महिलासँग सम्बन्ध राख्ने, परिवारलाई आवश्यक आर्थिक सहयोग नपठाउनेजस्ता घटनाहरू पनि देखिएका छन् । यसका साथै श्रीमती सुत्केरी वा बिरामी हुँदासमेत श्रीमान्ले चासो नदिने र बालबच्चाको जिम्मेवारीबाट पन्छिने प्रकृतिका उजुरीहरू आयोगमा पर्ने गरेका छन् । ‘श्रीमान् विदेशमा हुँदा यता श्रीमतीमाथि दुव्र्यवहार र घरेलु हिंसाका घटनाबारे पनि उजुरीहरू आउने गरेका छन्,’ उनले भनिन् । यस्तो अवस्थामा आयोगले सम्भव भएसम्म मिलापत्रमार्फत समस्या समाधान गर्ने प्रयास गर्दै आएको उनले बताइन् ।
०७८ साल भदौको मध्यतिर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको थियो । सोही वर्ष भदौ ५ गते यादवले एक महिलाको घरमा राति पुगेर बलात्कार प्रयास गरेको आरोप लागेको हो ।उक्त घटनाका पीडित महिलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका थिए । परिवार मात्र नभई समाजमा प्रभावशाली मानिने व्यक्तिहरूबाट समेत यस्ता घटना हुने गरेको पीडित पक्षको भनाइ छ । श्रीमान् साथमा नहुँदा कानुनी प्रक्रिया अघि बढाउन कठिन हुने र महिलाले असहाय महसुस गर्नुपर्ने अवस्था रहेको बताइन्छ ।
धनुषाकी एक महिला भने श्रीमान् विदेश गएपछि घरको सम्पूर्ण जिम्मेवारी आफैँले सम्हाल्नुपरेको अनुभव सुनाउँछिन् । सासू लेखपढ गर्न नजान्ने र बिरामी भएकाले घरको सम्पूर्ण व्यवस्थापन आफूले गर्नुपरे पनि समाजले निरन्तर शंका र आरोप लगाउने गरेको उनको गुनासो छ ।
‘स्कुलमा बच्चाको फी तिर्न जाँदा पनि फलानो सरसँग सम्बन्ध छ भन्छन्, एउटै पसलबाट सामान ल्याउँदा पसलेसँग सम्बन्ध जोड्छन् । म दिक्क भइसकेँ,’ उनी भन्छिन्, ‘मैले सबै काम एक्लै सम्हालिरहेकी छु भन्ने मलाई मात्र थाहा छ ।’ उनका अनुसार श्रीमान्का साथीहरूले समेत राम्रो दृष्टिले नहेर्ने, छिमेकी तथा आफन्तहरूले साना–साना विषयमा समेत शंका गर्ने र बारम्बार झगडा हुने अवस्था सिर्जना गर्ने गरेका छन् । यसले गर्दा उनी सधैँ मानसिक तनाव र त्रासमा बस्न बाध्य भएकी छिन् ।
यसरी श्रीमान् विदेशमा रहेका वेला घरमा महिलामाथि हिंसा, शंका र सामाजिक लाञ्छना बढ्ने गरेको देखिन्छ । कतिपय अवस्थामा परिवारका सदस्य वा आपराधिक मानसिकता भएका व्यक्तिहरूले घरमा पुरुषको अनुपस्थितिको फाइदा उठाउने र अपराध गर्न सहज ठान्ने गरेको पनि पाइन्छ ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीका अनुसार नेपाली समाजमा पुरुषलाई घरको प्रमुख आधारस्तम्भका रूपमा लिइन्छ । ‘श्रीमान् बाहिर भएपछि श्रीमतीमाथि हिंसाका घटना हुने गरेका छन्,’ उनले भनिन्, ‘घरकै सदस्यबाट नै महिलामाथि हिंसा हुने उजुरीहरू आयोगमा आउने गरेका छन् ।’
सामाजिक अध्येता तथा अधिकारकर्मी रिता साहका अनुसार मधेशमा हुने लैंगिक हिंसा, महिला हत्या र आत्महत्याका घटना कतै न कतै वैदेशिक रोजगारीसँग जोडिएका देखिन्छन् । उनका भनाइमा विवाहपछि श्रीमती वैदेशिक रोजगारीमा जाने प्रचलन बढे पनि श्रीमान्–श्रीमतीबिच शारीरिक तथा भावनात्मक आवश्यकताका विषयमा खुलेर संवाद नहुने अवस्था रहेको छ ।
‘वैदेशिक रोजगारीको ठुलो सामाजिक मूल्य महिला र बालबालिकाले चुकाइरहेका छन् । तर, यस विषयमा सरकारबाट व्यापक र औपचारिक अध्ययन नहुनु दुःखद हो,’ साह भन्छिन् । उनका अनुसार वैदेशिक रोजगारीको परिभाषामा छिमेकी देश भारतमा काम गर्न जानेहरूसमेत समेटिनुपर्ने आवश्यकता छ । समाजमा भने महिलामाथि बढी दोषारोपण हुने गरेको उनको भनाइ छ ।
अध्ययन भन्छ– वैदेशिक रोजगारीमा गएका महिला हिंसाको उच्च जोखिममा
पुरुषको आप्रवासनले महिला तथा बालबालिकामाथि पारेको सामाजिक असरबारे सर्लाही, सप्तरी र धनुषामा गरिएको एक अध्ययनले श्रीमान् विदेश गएपछि धेरैजसो महिला घरबाट छुट्टिएर सहर वा अन्यत्र बस्न थालेको देखाएको छ । नेपाल इन्स्टिच्युट फर सोसल एन्ड इन्भाइरोमेन्टल रिसर्चले सन् २०१९ मा गरेको उक्त अध्ययनअनुसार श्रीमान् विदेश गएपछि आफूमाथि हिंसा बढेको भन्दै ८१ प्रतिशत श्रीमतीहरूले प्रतिक्रिया दिएका छन् । साथै, औसतमा ६२ प्रतिशत महिलाले श्रीमान् परदेश गएपछि आफ्नो जीवनमा थप समस्या बढेको बताएका छन् ।
अध्ययनले महिलाहरूले भोग्ने प्रमुख समस्यामा परिवारको सहयोग नपाउनु, आर्थिक अभाव, चरित्रमाथि शंका, अन्य पुरुषबाट हुने हिंसा, बाहिर आवत–जावतमा रोक, मानसिक तनाव र एक्लोपनजस्ता पक्षहरू रहेको देखाएको छ ।त्यस्तै, कतिपय महिलाले परिवारकै सदस्यबाट समेत यौनहिंसा भोग्नुपरेको अनुभव सुनाएका छन् । ससुराबाट बलात्कार प्रयास भएको, देवर, जेठाजु तथा श्रीमान्का साथीहरूबाट समेत यौनहिंसामा परेको घटनाहरू अध्ययनमा उल्लेख छन् । यीमध्ये धेरै पीडित महिलाका श्रीमान् वैदेशिक रोजगारीमा रहेका थिए ।
यो विषय मानव अधिकार आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । ०७६ सालमा आयोगले गरेको ‘वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकाहरूको अवस्था तथा मानव बेचबिखनको जोखिमता प्रारम्भिक अध्ययन प्रतिवेदन, २०७६’ अनुसार वैदेशिक रोजगारीमा गएकाहरूका श्रीमतीहरूले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहनु परिरहेको छ ।
कतिपय अवस्थामा यस्ता महिला हत्या र बेचबिखनमा परेकोसमेत प्रतिवेदनमा औँल्याइएको छ । सामी परियोजनाबाट भएको अध्ययन उल्लेख गर्दै उक्त प्रतिवेदनमा धनुषामा ४४ प्रतिशत र सिन्धुपाल्चोकमा ५० प्रतिशत श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाले घरेलु हिंसा भोग्दै आएको बताइएको छ ।
धनुषा र सिन्धुपाल्चोकमा अध्ययन गरी तयार गरिएको आयोगको प्रतिवेदनमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा रहेका युवाहरूका श्रीमतीहरू यौनजन्य हिंसाको पनि उच्च जोखिममा रहने गरेको पाइएको छ । उनीहरूलाई घरभित्रको सदस्यहरूबाट नै पनि यौनजन्य हिंसाको जोखिम उच्च रहेको पाइएको छ ।’ आयोगले गरेको अध्ययनका क्रममा बलात्कारको प्रतिकार गर्दा ससुराको मृत्यु भएका घटना पनि भेटिएका थिए भने श्रीमान् वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि नै कोसँग यौन सम्बन्ध स्थापित गर्ने भन्ने तय गरेर जाने र आएपछि पुनः आफूसँग नै रहनुपर्ने सम्झौता श्रीमान्–श्रीमतीबिच हुने गरेकोसमेत पाइएको थियो ।
प्रतिवेदनमा तराईको र पहाडको एक–एक जिल्लालाई लिइएको थियो । निष्कर्षमा भनिएको छ, ‘धनुषा जिल्लामा घरभित्रबाट हुने यौनजन्य हिंसा नभोग्ने त सायदै कोही होला भन्ने स्वरहरू एकैसाथ आउनुले धनुषा जिल्लामा सामाजिक मूल्यले ठुलो जमाएको पाइएको छ । सिन्धुपाल्चोकमा विदेशमा रहेका युवाका श्रीमतीहरूलाई घरगाउँमा नै रहेका युवाले नकारात्मक दृष्टिले हेर्ने ‘फसाएर मोज गर्नुपर्छ’ भन्ने जस्ता धारणाहरू बनाउने गरेकोले पनि उनीहरूलाई निकै समस्यामा पर्ने गरेको देखाउँछ ।’
श्रीमान् विदेश रहँदा नेपालमा रहेकी श्रीमती बेचबिखनको जोखिममा पर्ने सम्भावना रहेको समेत प्रतिवेदनमा उल्लेख छ । आयोगको प्रतिवेदनले वैदेशिक रोजगारमा रहेका युवाका श्रीमतीहरूले भोग्नुपरेको सामाजिक मूल्य र मानव बेचबिखनको सम्बन्धका बारेमा राष्ट्रव्यापी अध्ययन अनुसन्धान गरी यथाशीघ्र आवश्यक कदम चाल्न सिफारिस गर्नुपर्ने औँल्याएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेमा मधेश प्रदेशका साथै कोशी प्रदेशका जिल्ला छन् । सबैभन्दा बढी धनुषाबाट त्यसपछि झापा अनि मोरङ, सिरहा, महोत्तरी, सुनसरी, रूपन्देही, सर्लाही र सप्तरीबाट वैदेशिक रोजगारीमा जानेहरू छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल लैंगिक हिंसाका घटनामध्ये ८१ प्रतिशत घरेलु हिंसासँग सम्बन्धित छन् । सो आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी १७ हजार ४९६ वटा मुद्दा दर्ता तथा उजुरी परेका थिए । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी घरेलु हिंसाका उजुरी मधेस प्रदेशमा दर्ता भएका छन् । त्यहाँ ६ हजार ९४६ वटा मुद्दा तथा उजुरी परेका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा २ हजार ८७६ र कोशी प्रदेशमा १ हजार ३५६ वटा घरेलु हिंसासम्बन्धी उजुरी तथा मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार सबै उजुरीहरू अनिवार्य रूपमा मुद्दा दर्तामा रूपान्तरण हुँदैनन् । सामान्य प्रकृतिका घटनामा प्रहरी मिलापत्र गराउने अभ्यास पनि हुने गरेको छ भने गम्भीर प्रकृतिका घटनामा भने अदालतमार्फत कानुनी प्रक्रिया अघि बढाइने गरिएको छ । मुद्दा दर्ता संख्या प्रायः उजुरीकै आधारमा गणना हुने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीसँग जोडिएका घटनाहरू पनि ठूलो संख्यामा आउने गरेका छन् । नेपाली समाज प्रायः संयुक्त परिवारमा आधारित भएकाले परिवारका सदस्यहरू काम खोज्ने क्रममा देश–विदेश जाने प्रचलन रहेको छ । यसक्रममा घरमा रहेका श्रीमती वा अन्य सदस्यहरूमाथि शंका, झै–झगडा र पारिवारिक विवाद बढ्ने गरेको देखिन्छ ।
विशेषगरी सासू–ससुरासँगको विवाद, बुहारीमाथि अनावश्यक शंका, छोरालाई उक्साउने र पारिवारिक कलह बढाउने प्रवृत्तिले घरेलु हिंसाका घटना बढाएको प्रहरीको विश्लेषण छ । यद्यपि सबै घटनाहरू एउटै प्रकृतिका नभएको पनि उनीहरू बताउँछन् ।
‘प्रहरीका अनुसार घरेलु हिंसा रोकथामका लागि प्रत्येक जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा शाखा सञ्चालनमा छन्, जहाँ महिला प्रहरी कर्मचारीहरूसमेत कार्यरत छन् । यसैगरी केन्द्रस्तरमा निर्देशनालय स्थापना गरिएको छ र दलित समुदायका लागि छुट्टै डेस्क पनि सञ्चालनमा छन्’ प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘घरेलु हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू, सामाजिक सञ्जालमार्फत सचेतना अभियान तथा समन्वयात्मक कार्यहरू भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घरेलु हिंसामा शून्य सहनशीलताको नीति अपनाएको र गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा उच्च प्राथमिकता दिइने गरेको छ ।’
कमला पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग
वैदेशिक रोजगारीसँग सम्बन्धित दुई प्रकारका उजुरीहरू आयोगमा आउने गरेका छन् । श्रीमान्ले विदेशमा अन्य सम्बन्ध राख्ने, श्रीमती र बालबालिकालाई खर्च नपठाउने, सुत्केरी वा बिरामी अवस्थामा पनि बेवास्ता गर्ने घटनाहरू छन् । साथै श्रीमान् विदेशमा हुँदा घरमा श्रीमतीमाथि हुने घरेलु हिंसा र दुव्र्यवहारसम्बन्धी उजुरीहरू पनि आउने गरेका छन् । उजुरीहरू न्याय पाउने र मिलापत्रमार्फत समस्या समाधान हुने अपेक्षासहित आयोगमा आउने गर्छन् ।
धीरज भट्टराई, जिल्ला संयोजक, सुरक्षित आप्रवासन कार्यक्रम (सुनसरी)
श्रीमती विदेश जाँदा बरु श्रीमान् छिट्टै विचलित हुने र अन्यत्र सम्बन्ध राख्ने प्रवृत्ति बढी देखिन्छ । यसको विपरीत धेरैजसो श्रीमतीहरूले घरधन्दा सम्हाल्ने, बालबच्चाको जिम्मेवारी बहन गर्ने र विदेशबाट आएको पैसालाई नेपालमै लगानी गर्ने गरेका छन् । त्यसैगरी श्रीमान् विदेशमा हुँदा महिलाहरू सामाजिक लाञ्छनाको सिकार हुने र सजिलै ‘इजी टार्गेट’ बन्ने अवस्था देखिन्छ ।
रीता साह, अधिकारकर्मी तथा अध्येता
प्रायः विवाहपछि पुरुष वैदेशिक रोजगारीमा जाने गर्छन्, जसका कारण २० देखि ४० वर्ष उमेर समूहका महिला एक्लै घर सम्हाल्न बाध्य हुन्छन् । यस्तो अवस्थामा पुरुषहरूमा पनि विवाहेत्तर सम्बन्ध हुने देखिए पनि समाजमा भने महिलाका यस्ता सम्बन्धको बढी चर्चा र आलोचना हुने प्रवृत्ति छ । कतिपय अवस्थामा पुरुषहरू विदेशमा असुरक्षित यौन सम्बन्धमा संलग्न हुँदा रोग महिलामा सर्ने घटनाहरू पनि देखिएका छन् ।
अविनारायण काफ्ले, प्रवक्ता, प्रहरी
वैदेशिक रोजगारीसँग जोडिएका सबै घटना हिंसासँग सम्बन्धित हुँदैनन्, तर यस्ता प्रकृतिका थुप्रै उजुरी आउने गरेका छन् । विशेषगरी संयुक्त परिवारमा श्रीमान् वैदेशिक रोजगारीमा हुँदा घरमै रहेका बुहारीमाथि सासू–ससुरा वा परिवारका अन्य सदस्यबाट घरेलु हिंसा हुने घटनाहरू देखिएका छन् । सामान्य अवस्थामा मिलापत्र गराइने र गम्भीर प्रकृतिका घटनामा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइने गरिएको छ ।