‘श्रमिकले विमानस्थलमा बिल देखाउनु नपर्ने’

13 April, 2026

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगार विभागले टिकटको बिल र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबिच अध्यागमन विभागले उक्त सूचनामार्फत स्पष्ट पारेको हो ।

अध्यागमन विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानीलगायतका न्यूनतम आवश्यक कागजातबाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख छ । अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुन अनुसार प्रक्रिया स्पष्ट गरेको जनाएको छ ।

विभागका अनुसार गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णय तथा विद्यमान कानुनी व्यवस्था अनुसार भ्रमण भिसामा विदेश जाने नेपालीका हकमा कम्तीमा छ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पुग्ने छ ।

यस्तै वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा श्रम स्वीकृति र राहदानीलगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाइएको छ । विभागले विदेश जाने नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रहसमेत गरेको छ ।

यसअघि वैदेशिक रोजगार विभागले चैत २९ देखि लागु हुने गरी हवाई टिकट, त्यसको बिल तथा म्यानपावरलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024