ओमानस्थित नेपाली दुतावासले कामको लागि ठूलो रकम तिरेर ओमानमा नआउन अनुरोध गरेको छ ।
कामको खोजीको लागि भिजिट भिसामा पुगेर अलपत्र पर्नेको संख्या बढ्न थालेपछि दुतावासले यस्तो अनुरोध गरेको हो । ‘भिजिट भिसामा आएको, ओभर स्टे भएर गैरकानुनी रुपमा बसेको अवस्थामा उद्धारमा निकै समस्या हुन्छ,’ दूतावासद्धारा बुधवार जारी सूचनामा भनिएको छ, ‘कामको लागि भनेर भिजिट भिसामा कोही पनि नआउन अनुरोध गरिन्छ ।’
ओमानले ३१ अक्टोवर २०२३ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान आइसकेपछि काम गर्न पाउने भिसामा परिवर्तन हुन नपाउने व्यवस्थालाई लागु गरिरहेको छ । तर, मानवतस्करहरूले ओमानलाई ट्रान्जिट बनाइ घरेलु श्रमिकको ओसारप्रसार भने गरिरहेको छ ।