वैदेशिक सहायता, वैदेशिक रोजगार र वैदेशिक व्यापार विभाग परराष्ट्रमा गाभ्ने तयारी

6 April, 2026

परराष्ट्र मन्त्रालयले हाल अन्य मन्त्रालयअन्तर्गत रहेका तीन प्रमुख विभागलाई आफ्नो मातहतमा ल्याउने तयारी गरेको छ।

वैदेशिक सहायता, वैदेशिक रोजगार र वैदेशिक व्यापार विभागलाई आफ्नो मातहतमा ल्याउन परराष्ट्र मन्त्रालय लागिपरेको हो।

परराष्ट्र मन्त्री शिशिर खनाल र मन्त्रालयका उच्च अधिकारीहरू ती तीन मुख्य विभागलाई आफ्नो मातहतमा ल्याएमा हालका चुनौतीहरूको प्रभावकारी रूपमा समाधान गर्न सहज हुनेमा विश्वस्त छन्।

यी विभागहरूलाई परराष्ट्र मन्त्रालयअन्तर्गत ल्याउन सके कार्यक्षेत्र स्पष्ट र व्यवस्थित बनाउन सहज हुने बताइएको छ।

यसअघि पनि विभिन्न परराष्ट्र मन्त्रीहरूले यस्तै प्रयास गरेका थिए, तर पर्याप्त जनशक्ति अभाव र मन्त्रालय पुनर्संरचनामा स्पष्ट र दृढ अडान नलिएका कारण ती प्रयास सफल हुन सकेनन्।

मन्त्री खनालले यस विषयलाई अघि बढाउन आन्तरिक अध्ययन गर्न परराष्ट्र सचिव अमृत बहादुर राईलाई निर्देशन दिएका छन्।

वैदेशिक रोजगारीका आन्तरिक र बाह्य पक्ष हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार विभागले हेर्दै आएको छ।

तर, परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार कामदारहरूको प्रमाणीकरण, आपतकालीन अवस्थामा उद्धार, मृत्यु भएका श्रमिकको शव स्वदेश फिर्ता जस्ता विषयमा अन्ततः सबैले परराष्ट्र मन्त्रालयतर्फ नै हेर्ने गरिन्छ।

त्यस्तै, नेपालमा थप प्रत्यक्ष वैदेशिक लगानी र सहायता भित्र्याउन र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न पनि वैदेशिक सहायता र वैदेशिक व्यापार विभाग आफ्नो मातहत चाहिने परराष्ट्र मन्त्रालयको तर्क छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024