नवलपुरको गैँडाकोटका युवाहरूले हाल बन्द अवस्थामा रहेको भृकुटी कागज कारखानाका श्रमिकहरूले वर्षौँदेखिको बाँकी पारिश्रमिक नपाए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
गैँडाकोटमा क्रियाशील सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार अभियानका संयोजक गणेश सापकोटाको नेतृत्वमा सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय युवा तथा सचेत नागरिकहरूले उद्योगको व्यवस्थापन र श्रमिकको हकहितका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
२०४० सालमा स्थापना भई २०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यस कारखानाका करिब ३३३ जना मजदुरले ४० करोड रुपैयाँभन्दा बढीको पारिश्रमिक अझै पाउन नसकेको ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझाउँदै अभियानका संयोजक गणेश सापकोटाले सरकारी स्वामित्वबाट निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण भएपछि कारखाना खण्डहरमा परिणत भएको र श्रमिकहरू चरम अन्यायमा परेको बताए।
संयोजक सापकोटाले भने, ‘लामो समयदेखि आफ्नो श्रमको उचित मूल्य नपाउँदा श्रमिकहरूको अवस्था अत्यन्त दयनीय बनेको छ। ज्याला पाउने आशामा बसेका कतिपय मजदुरको त मृत्युसमेत भइसकेको छ। यो राज्यका लागि लज्जास्पद विषय हो। हामीले ५ दिनको अल्टिमेटम दिएका छौँ,’ यदि यो समयभित्र ठोस पहल भएन भने हामी बाध्य भएर आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउनेछौँ।’
ज्ञापनपत्रमा कारखाना परिसर हाल दुर्व्यसनीहरूको अखडा बनेको र हावाहुरी आउँदा जीर्ण भवनका टिनका पाताहरू उडेर नजिकैको मानव बस्तीमा पुगेर क्षति पुर्याउने त्रास रहेको उल्लेख छ। करिब ६० बिघा क्षेत्रफलमा फैलिएको यो कारखाना नेपालकै मध्यभाग र गैँडाकोट नगरपालिकाको मुटुमा रहेकाले यसको दुरवस्थाले समग्र नगरको विकास, सुन्दरता र समृद्धिमा गम्भीर असर पुर्याएको ज्ञापनपत्रमा जनाइएको छ।
संयोजक सापकोटाका अनुसार अभियानले मुख्य गरी दुईवटा माग अघि सारेको छ। जसमा ३३३ जना श्रमिकको ४० करोड बक्यौता तत्काल भुक्तानी गरिनुपर्ने र ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्नुपर्ने माग रहेको छ। ज्ञापनपत्रमा आफूहरूको उद्देश्य कुनै टकराव सिर्जना गर्नु नभई गैँडाकोटलाई सफा र समृद्ध बनाउनु रहेको उल्लेख छ। पूर्व–पश्चिम राजमार्गसँगै रहेको सो कारखाना खण्डहरमा परिणत हुँदा यसले नगरको सौन्दर्यता समेत बिगारेको भन्दै त्यसको तत्काल व्यवस्थापनको माग समेत युवाहरूले गरेका छन्।