खाडी मुलुक र टर्कीमा कार्यरत नेपालीलाई पुनः श्रम स्वीकृति खुला, ६ देशमा अझै रोक

18 March, 2026

सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरू गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिदामा नेपाल आएका श्रमिकहरूलाई कार्यथलोमा फर्किन सहज हुने गरी यो निर्णय गरेको जनाएको हो।

मन्त्रालयका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई ), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउने छन्।

यी देशमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भएर समस्यामा परेको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो कदम चालेको हो।

परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा मन्त्रालयले चैत ३ गते यो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

मध्य–पूर्वको सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै सरकारले ६ वटा देशमा भने व्यक्तिगत र संस्थागत दुवै प्रकारका श्रम स्वीकृतिमा लगाएको रोकलाई निरन्तरता दिएको छ। विज्ञप्ति अनुसार ६ देश— इरान, इसराइल, बहराइन, कुवेत, इराक र लेबननका लागि भने हाललाई श्रम स्वीकृति प्रदान गरिने छैन।

यसअघि २०८२ फागुन १७ गतेको निर्णय अनुसार पश्चिम एसियाका विषम परिस्थितिका कारण ती क्षेत्रमा जाने श्रमिकको सुरक्षाका लागि भन्दै श्रम स्वीकृति स्थगन गरिएको थियो।

अहिले स्थिति हेरेर केही देशहरूमा पुनः श्रम स्वीकृति खुला गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024