‘खाडीमा भेटौँला’ भन्ने स्वदेशमै, ‘सहसचिव बनौँला’ भन्ने विदेसिए

16 March, 2026

Upendra Lamichane

मानिसको सोच एउटा हुन्छ, जीवनको लेखान्त अर्कै।

विद्यालयको बिदाइ कार्यक्रममा साथीसँग हाँस्दै, रमाउँदै लेखिएका सन्देशहरू कहिलेकाहीँ जीवनको गहिरो यथार्थमा रूपान्तरित हुन्छन्। सामाजिक सञ्जालमा भाइरल बनेका दुई फरक सन्देश– ‘खाडीमा भेटौँला’ र ‘खरिदारदेखि सहसचिवसम्म’ नेपाली युवाको सपना, बाध्यता र बदलिँदो जीवनको कथा बनेका छन्। जसले विदेश जाने बाध्यता लेखेका थिए, तर आज उनीहरू स्वदेशमै उद्यम गर्दै छन्। जसले स्वदेशमै सरकारी सेवा गरेर देशको सेवा गर्ने सपना लेखेकी थिइन्, तर उनी भने आँसु झार्दै विदेसिन बाध्य भइन्।

यी दुई तस्बिरको कथा सँगै पढ्दा नेपाली समाजको एउटा गहिरो यथार्थ खुल्छ। दुई वर्षअघि कक्षा १२ को परीक्षा सकेपछि विद्यालयमा आयोजना गरिएको बिदाइ कार्यक्रममा इन्दिरा फुयाँल निकै उत्साहित देखिएकी थिइन्। अरू साथीहरू विदेश जाने योजनाबारे कुरा गरिरहेका थिए। कसैले अस्ट्रेलिया जाने योजना सुनाइरहेका थिए, कसैले खाडी देश।तर इन्दिराको सोच फरक थियो।

‘मलाई विदेश जानुभन्दा स्वदेशमै बसेर देशको सेवा गर्ने रहर छ,’ उनले साथीहरूसामु भनेकी थिइन्। विद्यालयका शिक्षक डम्बर थापा मगरले उनको उत्साह देखेर एउटा रोचक काम गरे। उनले इन्दिराको सर्टमा भविष्यको एउटा टाइमलाइन लेखिदिए, ‘–२०८२ – खरिदार, २०८३ – नायब सुब्बा, २०८५ – शाखा अधिकृत,२०९० – सहसचिव’

त्यो सर्टमा लेखिएको सन्देशले धेरैको ध्यान खिच्यो। हँसिलो अनुहारसहितको इन्दिराको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले यसलाई आशाको प्रतीक भने। नागरिक दैनिकको पहिलो पृष्ठमा समेत त्यो कथा छापियो।

त्यो समय धेरैले भनेका थिए– ‘यस्तै सोच भएका युवाले देश बदल्छन्।’

तर समय सधैँ मानिसको योजना अनुसार चल्दैन। दुई दिनअघि सामाजिक सञ्जालमा फेरि एउटा तस्बिर भाइरल भयो।यो तस्बिर पनि इन्दिराकै थियो। तर यस पटक उनको अनुहारमा मुस्कान थिएन। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिइन्। आँखा रसाएका थिए। बिहीबार उनी विदेश जाँदै थिइन्।

‘स्वदेशमै जागिर खाने सपना के भयो?’ नागरिकको प्रश्नमा उनी मौन रहिन्। लामो मौनतापछि छोटो सन्देश आयो– ‘स्वदेशमै केही गर्ने सोच थियो। कोसिस पनि गरेँ। तर विदेसिन बाध्य भएँ।’

नुवाकोटको बेलकोटगढी घर भएकी इन्दिरा बाबुआमाकी एक्ली सन्तान हुन्। सानैदेखि पढाइमा मेहनती थिइन्।

उनले पहिले पनि भनेकी थिइन्, ‘देशमा भ्रष्टाचारका धेरै खबर सुन्छु। त्यसैले यहाँ बसेर केही राम्रो काम गर्न मन लाग्छ।’ गाली गरेर विदेश भाग्नुभन्दा देशमै बसेर काम गर्नु राम्रो हो भन्थिन्। उनको यो सोचले धेरैलाई प्रभावित बनाएको थियो। सामाजिक सञ्जालमा धेरैले उनलाई प्रेरणाको रूपमा हेरेका थिए।

तर अहिले परिस्थिति बदलिएको छ। सपना अझै त्यही होला, तर बाटो फरक बनेको छ। इन्दिराको कथा कुनै एक व्यक्तिको मात्र कथा होइन। यो आज हजारौँ नेपाली युवाको कथा हो।

‘खाडीमा भेटौँला’ भन्नेहरू

इन्दिराको कथा चर्चामा आइरहँदा अर्को पुरानो भाइरल तस्बिर फेरि सम्झन थालियो।

भक्तपुरको बागेश्वरी माध्यमिक विद्यालयबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखेका थिए– ‘खाडीमा भेटौँला।’ २०७९ चैततिर सार्वजनिक भएको त्यो तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित भयो।

धेरैले भने–यो नेपाली युवाको कटु यथार्थ हो।त्यति बेला धेरैले सोचेका थिए। यी विद्यार्थीहरू सम्भवतः केही वर्षपछि खाडी देशतिर काम गर्न जानेछन्। तर समयले फेरि उल्टो कथा लेख्यो।

चिया पसलबाट रोजगारी

त्यही तस्बिरमा देखिएका चार युवामध्ये एक हुन् राजन मानन्धर। अहिले उनी बनेपाको पुल बजारमा चिया पसल चलाइरहेका छन्। दुई वर्ष भयो उनले पसल सुरु गरेको। सानो पसलबाट सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदैछ।

‘चिया पसलबाट राम्रो आम्दानी भइरहेको छ,’ राजन भन्छन्, ‘अहिले चार जनालाई रोजगारी पनि दिएको छु।’ उनी अहिले अर्को योजना बनाइरहेका छन् । यसै वर्ष धुलिखेलमा अर्को शाखा खोल्ने सोच रहेको उनले सुनाए।

राजनका साथीहरू पनि अहिले स्वदेशमै केही गरिरहेका छन्। नीराजन मैनालीले साबुन कारखाना सञ्चालनमा ल्याएका छन्। बिसन नगरकोटी टेलर व्यवसाय सुरु गरेका छन्। अनि नीरज तामाङ स्वदेशमै रोजगारी गरेर बसेका छन्।

‘खाडीमा भेटौँला भन्ने हामी चारै जना अहिले स्वदेशमै भेटघाट गर्दै रमाइरहेका छौँ,’ राजन हाँस्दै भन्छन्, ‘कहिले काहीँ आफैले लेखेको कुरा असफल हुँदा खुसी लाग्दो रहेछ।’

दुई सन्देश, दुई अर्थ

यी दुई भाइरल सन्देशले नेपाली समाजका दुई फरक भावनालाई देखाउँछन्। ‘खाडीमा भेटौँला’ रोजगारी नपाएर बिदेसिनुपर्ने बाध्यता।

‘खरिदारदेखि सहसचिव’ स्वदेशमै बसेर देशको सेवा गर्ने आशा। दुवै सन्देश सत्य हुन्। तर जीवनको वास्तविकता कहिलेकाहीँ उल्टो हुन्छ।

सामाजिक सञ्जालको प्रतिक्रिया

विगतमा इन्दिराको सन्देश सार्वजनिक भएपछि धेरैले सकारात्मक प्रतिक्रिया दिएका थिए।

‘यो सकारात्मक इच्छा हो,’ इन्दीराको जागिर खाने सपना देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यति बेला लेखेका थिए,’ गत वर्ष विदेशमा भेटौँला भन्ने सन्देश देखेको थिएँ। विदेश जानु नराम्रो होइन, तर स्वदेशमै उद्यम र सेवा गर्नु अझ राम्रो हो।’

त्यति बेला ‘खाडीमा भेटौँला’ सन्देश लेख्ने राजन मानन्धर पनि नीराजन मैनाली पनि इन्दिराको सोचप्रति सकारात्मक थिए। ‘त्यो सन्देशले धेरैलाई आशा दिएको थियो,’ उनले भने, ‘तर इन्दिरा विदेसिएको खबर सुन्दा उनलाई केही दुःख लागेको छ।’

स्वदेशमै काम गर्ने राम्रो वातावरण बन्नु पर्ने उनको बुझाइ छ।

‘स्वदेशमै केही गर्न चाहनेलाई पनि अवरोध आइरहन्छ,’ उनी भन्छन्, ‘सायद त्यही भएर उनी बिदेसिन पुगिन् होला। ’उनी अव समय फेरिनेमा आशावादी छन्। ‘अब देशमा वातावरण बन्यो भने अरू इन्दिराहरू बिदेसिन बाध्य हुने छैनन्,’ उनले भने, ‘हामी त्यो दिनको प्रतीक्षामा छौ।’

समाजशास्त्री गणेश गुरुङ वैदेशिक रोजगार नेपालीको बाध्यताको परिणाम रहेको बताउँछन्। मुलुकमा पर्याप्त रोजगारी नहुनु, नीति र अवसरको अभावमा यस्तो अवस्था आएको बताउँछन्। ‘अवसर पाए युवा स्वदेशमै बस्न चाहन्छन्,’ उनी भन्छन्, ‘युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु जरुरी छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024