मध्यपूर्वको तनावका कारण सुरक्षा जोखिममा रहेका श्रमिकमाथि विभेद र शोषणसमेत भइरहेको देखिएको छ । मिसाइलका त्रासमा रहेका श्रमिकमाथि त्यहाँका राज्यले विभेद र कम्पनीले शोषण गरिरहेको देखिएको हो ।
श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले मध्यपूर्वका देशहरूले सुरक्षा मामिलामा आफ्ना नागरिकलाई प्राथमिकतामा राखेर श्रमिकलाई समान व्यवहार नगरेको तथा रोजगारदाता कम्पनीहरूले तलब–सुविधा होल्ड गरिदिने, सहज एक्जिट नदिनेजस्ता शोषण गरिरहेको पाइएको बताए । ‘सामान्यत: युद्ध, महामारीजस्ता विषम परिस्थितिमा श्रमिकमाथि विभेद र शोषण हुने गरेको छ, विगतमा पनि यस्ता घटनाहरू भएका थिए,’ उनले भने, ‘अहिले पनि मध्यपूर्वका देशमा यस्तो भइरहेको छ, त्यहाँ कार्यरत नेपाललगायत मुलुकका श्रमिकले समान व्यवहार नभएको तथा कम्पनीले श्रम शोषण गरेको गुनासो गरेका छन् ।’
आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपालको अर्थतन्त्र’ विषयक छलफल कार्यक्रममा बोल्दै श्रमविज्ञ नेपालले द्वन्द्वग्रस्त मध्यपूर्वमा श्रमिकको अवस्थाका विषयमा विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले गरेको अनुसन्धान र अध्ययनले श्रमिकले द्वन्द्वको जोखिमसँगै त्यसले निम्त्याएका अन्य पीडासमेत भोगिरहेको पाइएको उनले बताए ।
त्यस्तै, मध्यपूर्वमा भइरहेको तनावले विश्वमै मूल्यवृद्धि र आर्थिक मन्दीको जोखिम बढाएको र त्यसबाट नेपालसमेत प्रभावित हुन थालेको अर्थशास्त्री डा. गुणाकर भट्टले बताए । ‘प्रतिब्यारेल पेट्रोलियमको मूल्य १० प्रतिशतले बढ्दा ०.४ प्रतिशत मूल्यवृद्धि हुने अध्ययनले देखाएको छ, अर्थात् इन्धनको मूल्य २५ प्रतिशत बढ्दा एक प्रतिशत मूल्यवृद्धि हुन्छ,’ उनले भने, ‘अहिले मध्यपूर्वको तनावले पेट्रोलियमको भाउ बढिरहेको छ, यसले विश्वव्यापी रूपमा मूल्यवृद्धि गराउने जोखिम छ ।’ विभिन्न समयमा विश्व आर्थिक मन्दीको मुख्य कारक पेट्रोलियम पदार्थको आपूर्ति शृंखलामा भएको अवरुद्धलाई मानिने उनले बताए ।