जब अनिल सुतिरहेको कोठामा ड्रोन खस्यो

16 March, 2026

Hom Karki

ओमानको सोहार क्षेत्रमा रहेका नुवाकोट ककनीका अनिल तामाङको शुक्रबार बिदा थियो । उनी क्याम्पमा सुतिरहेका थिए । शुक्रबार बिहान ७ बजे एक्कासि उनी सुतेको कोठाभित्रै ड्रोन खस्यो । मस्त निद्रामा रहेका उनी त्यही ड्रोन खस्दाको ठूलो आवाजले ब्युँझिए । ‘उठेर हेर्दा कोठाभरि धूवाँ थियो,’ उनले कान्तिपुरलाई फोनमा सुनाए, ‘हतार–हतार बाहिर भागें । भाग्दाभाग्दै रगत बग्न थालेपछि मात्र छर्रा लागेको थाहा पाएँ ।’

अनिलको शरीरमा तीनवटा छर्राले भेटेको छ । ‘ठूलो घाउ त छैन तर भित्र दुखिरहेको छ । दुईवटा छर्रा तिघ्रामा लगेको छ,’ उनले भने, ‘एउटा अनुहारको चिउडोमा लागेको छ ।’ कन्स्ट्रक्सन कम्पनीमा कार्यरत अनिलसँग सात जना बसेका थिए । अरू कसलाई के भयो भन्ने उनलाई थाहा छैन । उनले थपे, ‘आफैं घाइते भएपछि आफ्नै ज्यान जोगाउनुपर्ने भयो, अरूका बारेमा थाहै भएन ।’

ओमानको सरकारी समाचार संस्था ओमान न्युज एजेन्सीका अनुसार त्यस घटनामा दुई भारतीय श्रमिकको मृत्यु भएको छ । घाइते हुनेको संख्या खुलेको छैन । इरानले पठाएका दुईवटा ड्रोनमध्ये एउटा खाली ठाउँमा झरेको थियो । एउटा क्याम्पमा झरेको हो ।

सोहार अस्पतालमा अनिलको उपचार भइरहेको छ । गैरआवासीय नेपाली संघ, ओमानका केन्द्रीय सदस्य देवन खड्काका अनुसार ओमान सरकारले नै उपचारको प्रबन्ध मिलाएको छ । ‘उपचार र खानपिनमा केही समस्या छैन । सबै प्रबन्ध अस्पतालले गरेको छ,’ उनले भने, ‘अनिलको अवस्थामा धेरै सुधार भइसकेको छ ।’ अनिललाई कम्पनीले दुई महिनाको बिदामा पठाउने तयारी गरेको छ । हवाई टिकट र सबै तलब उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

इरानले ओमानको सलालाह र सोहर बन्दरगाहमा आक्रमण गरेको छ । ती बन्दरगाहमा नेपाली श्रमिकसमेत कार्यरत छन् । ओमानमा करिब २५ हजार नेपाली श्रमिक छन् । अनिल बसेको क्याम्पमा रहेका अन्य २० नेपाली भने सकुशल छन् ।

अमेरिका–इजरायल र इरानबीचको युद्धमा हालसम्म एक नेपालीको मृत्यु भइसकेको छ । यूएईको आबुधावी विमानस्थलमा कार्यरत गोरखाका दिवस श्रेष्ठले इरानको ड्रोन हमलामा परी दुई साताअघि ज्यान गुमाएका थिए । त्यसबाहेक यूएईमै इरानी हमलामा कम्तीमा १५ नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले ती १५ जनाको पहिचान खुलाएको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाका १२ मुलुकमा १७ लाख नेपाली श्रमिक कार्यरत छन् । अमेरिका–इरान युद्धका तनाव पूरै पश्चिम एसियामा बढेपछि त्यहाँ रहेका नेपाली पनि त्रसित छन् । नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकको विवरण संकलन गर्न अनलाइन फाराम भर्ने व्यवस्था गरेको छ ।

कन्सुलर सेवा विभागका अनुसार बिहीबारसम्म ६६ हजार ७ सय २१ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । विवरण उपलब्ध गराएकामध्ये ५ हजार नेपालीले आफूलाई असुरक्षित भएको जनाएका छन् । दर्ता भएको विवरण अध्ययन गरी आवश्यकताअनुसारको प्रक्रिया अगाडि बढाइएको पनि विभागले जनाएको छ ।

सरकारले कतार, कुवेत र बहराइनबाट स्वदेश फर्कन चाहने नेपालीलाई साउदी अरबमार्फत उड्न सक्ने व्यवस्था मिलाएको छ । म्याद भएको आवासीय परिचयपत्र भएका नेपालीले साउदी भिसा सेन्टरमार्फत साउदीको भिसा लिन सक्नेछन् । बिहीबार कुवेतमा ‘ट्रान्जिट’मा रहेका ६६ नेपालीलाई साउदी हुँदै सम्बन्धित देशमा पठाइएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024