मिर्गौला बिग्रिरहेको नेपाली परिदृश्य

13 March, 2026

Dr. Pukar Chandra Shrestha

विश्व मिर्गौला दिवस २०२६ को सन्देश सान्दर्भिक र महत्त्वपूर्ण छ– सबैका लागि मिर्गौला–स्वास्थ्य मानिसको हेरचाह, पृथ्वीको संरक्षण । यस वर्षको मूल नाराले हामीलाई सम्झाउँछ– मिर्गौलाको स्वास्थ्य केवल मधुमेह वा उच्च रक्तचाप जस्ता रोगहरूसँग सम्बन्धित छैन । यो हाम्रो वातावरण, जलवायु परिवर्तन र काम गर्ने अवस्थासँग पनि गहिरो रूपमा जोडिएको छ ।

‘नेपालमा मिर्गौला रोगको उपचार, विशेषगरी प्रत्यारोपण सेवाको विकास’ यस वर्षको हाम्रो नारा हो । यो राष्ट्रिय यथार्थसँग प्रत्यक्ष सम्बन्धित छ । विश्वभर करिब ८५ करोड जनसंख्या गम्भीर मिर्गौला रोगबाट ग्रसित हुने अनुमान छ, जसमा करिब ४६ लाख रोगी डायलाइसिस वा प्रत्यारोपणमा आश्रित छन् । वार्षिक करिब १५ लाख मृत्यु दीर्घकालीन मिर्गौला रोगका कारणले हुने गर्दछ । यो संख्या भनेको प्रत्यक्ष २० सेकेन्डमा एक जनाको मृत्यु हुनु हो । र, सन् २०५० सम्ममा दीर्घकालीन मिर्गौला रोग मृत्युको तेस्रो प्रमुख कारण बन्ने अवस्था छ ।

नेपालमा मिर्गौला रोगको बढ्दो भार

नेपालमा दीर्घकालीन मिर्गौला रोगका बिरामीहरू निरन्तर बढिरहेका छन् । मधुमेह र उच्च रक्तचाप प्रमुख कारण भए पनि हामीले अर्को चिन्ताजनक प्रवृत्ति देखिरहेका छौं– पिसाबबाट प्रोटिन चुहिने रोग । देशमा करिब ३० लाखभन्दा बढी मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान छ भने ३ हजार जतिको वर्षमा मिर्गौला फेल हुने विश्वास छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूमा मिर्गौला फेल हुने समस्या झनै बढी पाइन्छ ।

पंक्तिकारद्वारा ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ मा गरेको अनुसन्धान अनुसार, नेपालमा मिर्गौला फेल भएर उपचारमा आएका बिरामीहरूमध्ये करिब एक तिहाइ वैदेशिक रोजगारबाट फर्किएका कामदार छन् । यो अत्यन्तै गम्भीर तथ्यांक हो ।

सन् २०१३ मा केन्द्र स्थापना हुनु केही वर्षअघिसम्म देशमा मिर्गौला फेल भएकाहरूमध्ये ९० प्रतिशत भन्दा बढीकाे केही महिनामै ज्यान जाने गर्दथ्यो । २०८२ भाद्र २३ गते अर्थात् जेन–जी आन्दोलनकै दिन राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा स्थापनाको १३ वर्षमा एक हजार पाँच सय जनाको मिर्गौला र ३५ जनाको कलेजो प्रत्यारोपण भएको उपलक्ष्यमा विशेष समारोहको आयोजना भएको थियो । देशको सरकारी संस्थामा छोटो समयमै यत्तिको प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता मानिएको छ, जुन राष्ट्रकै गौरवको विषय हो । केन्द्रले औसत वार्षिक २ सय को दरले प्रत्यारोपण गरेको छ ।केन्द्रमा देशकै दुईतिहाइ प्रत्यरोपण हुने मात्रै होइन– यहाँको सफलताको दर पनि ९९ प्रतिशतसम्म भएको इतिहास छ ।

नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकैदिन चार जना जीवित व्यक्तिको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट मिर्गौला र कलेजो प्रत्यारोपण, मस्तिष्क मृत भएको व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण, एकै व्यक्तिमा तेस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरी यो अब्बल केन्द्रको रूपमा स्थापित हुन सफल भएको छ ।

उक्त सफलता प्राप्तिमा केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीको अथक योगदान छँदै छ । केन्द्रले गरेको उपलब्धिभन्दा धेरै गुणा बढी सेवा गर्ने क्षमता हुँदाहुँदै पनि तत्कालीन राजनीतिक नेतृत्वको सन्की मानसिकताकै कारण केन्द्रको बिस्तार हुन सकेन । र, धेरै नेपाली दाजुभाइ, दिदीबहिनी सेवाबाट वञ्चित हुन बाध्य भएका छन् ।

गर्मीको प्रभाव र मिर्गौला क्षति

यस पंक्तिकारले राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरेको एक अध्ययनअनुसार, विदेशबाट फर्किएका २ सय १७ कामदारमध्ये ५६.२५ प्रतिशत खाडी देशबाट फर्किएका थिए, जसमा दुई तिहाइले ४० प्रतिशतभन्दा माथिको तापक्रममा काम गरेका थिए । ७ सय ५५ भन्दा बढीले दैनिक १० घण्टाभन्दा बढी काम गरेका थिए । चासोको कुरा, ७८.१५ प्रतिशतले दैनिक २ लिटरभन्दा कम पानी पिएका थिए । उनीहरू प्रायः सुरक्षागार्ड, निर्माण कार्यका श्रमिक, बगैंचाका कामदार, समुद्री किनारमा निगरानी गर्ने जस्ता काममा संलग्न थिए । लामो समयसम्म चर्को घाममा काम गर्नुपर्ने, पर्याप्त पानी पिउन नपाउनु, आरामको अभाव र नियमित स्वास्थ्य परीक्षणको अभावले गर्दा उनीहरूको मिर्गौलामा गम्भीर असर पर्ने गर्दछ ।

वातावरणीय प्रदूषण र मिर्गौला स्वास्थ्य

गर्मी मात्र होइन, वायु प्रदूषण, दूषित पानी, रसायन, कीटनाशक र भारी धातुहरू (जस्तैः क्याडमियम, सिसा, मर्करी र पार्टिकुलेट म्याटर) पनि मिर्गौलाका लागि हानिकारक छन् । प्रदूषणले शरीरमा दीर्घकालीन सुजन र रक्तचाप बढाएर मिर्गौलामा क्षति पुर्‍याउन सक्छ ।

मिर्गौला उपचार र वातावरणीय जिम्मेवारी

मिर्गौला रोगको उपचार पनि स्रोतसाधनको दृष्टिले गम्भीर विषय हो । डायलाइसिस जीवनरक्षक उपचार हो, तर यसका लागि ठूलो मात्रामा शुद्ध पानी, बिजुली, प्लास्टिक सामग्री र औषधिजन्य सामग्री आवश्यक पर्छ । यसबाट जैविक फोहोर पनि धेरै उत्पादन हुन्छ र वातावरणीय प्रदूषण बढ्दै जान्छ । पानी बचत गर्ने डायलाइसिस प्रविधि, ऊर्जा–दक्ष अस्पताल प्रणाली र जिम्मेवार फोहोर व्यवस्थापन आजको आवश्यकता हो ।

मिर्गौला प्रत्यारोपण : दीर्घकालीन समाधान

मिर्गौला प्रत्यारोपण नै मिर्गौला फेल हुँदाको सर्वोत्तम उपाय हो । सफल प्रत्यारोपणपछि बिरामी सामान्य जीवनयापन गर्न सक्छन् र समाजमा पुनः सक्रिय भूमिका निर्वाह गर्न सक्छन् । उनीहरूको जीवनस्तर उच्च रहने मात्रै होइन, परिवार पनि सुखी र समृद्ध हुने गर्दछ ।

निष्कर्ष

विश्व मिर्गौला दिवस– २०२६ को सन्देशलाई हामी सबै मनन गरौं :

– जलवायु परिवर्तनविरुद्ध सचेत बनौं ।

– स्वच्छ पानी र स्वच्छ हावाको संरक्षण गरौं ।

– वैदेशिक कामदारहरूको स्वास्थ्य सुरक्षामा जोड दिऔं ।

– दिगो र वातावरणमैत्री स्वास्थ्य विकास गरौं ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024