रामेछापमा ७३ प्रतिशत बढी रेमिट्यान्स खाद्यान्नमै खर्च

20 March, 2026

Nawaraj Shrestha

वैदेशिक रोजगारीले रामेछापको ग्रामीण समाज र अर्थतन्त्रमा गहिरो प्रभाव पारिरहेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा गरिएको एक अध्ययन अनुसार यी ठाउँका कम्तीमा २४ प्रतिशत घरपरिवारका एक सदस्य वैदेशिक रोजगारीमा संलग्न छन् । सीमित स्थानीय रोजगारी अवसर, शून्यप्राय: औद्योगिक विकास र खडेरीका कारण कृषि उत्पादनको सीमितताका कारण वैदेशिक रोजगारी ग्रामीण परिवारका लागि महत्त्वपूर्ण आयस्रोत बनेको एक अनुसन्धानले देखाएको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) को दर्शनशास्त्र (एमफिल) को शोधपत्र अनुसन्धानका क्रममा शोधार्थी चेतनाथ अधिकारीले रामेछाप जिल्लामा श्रम बसाइँसराइ, रेमिट्यान्सको उपयोग र घरपरिवारको कल्याणबीचको सम्बन्धलाई उजागर गरेका हुन् ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको योगदान करिब २८ प्रतिशत रहेको भए पनि यसले घरपरिवारको जीवनस्तरमा पार्ने वास्तविक प्रभाव बुझ्न सूक्ष्म स्तरमा अध्ययन आवश्यक रहेको अधिकारीले बताए । सोही विषयमा बुझ्न उनले रामेछापको मन्थली र रामेछाप नगरपालिकामा गत भदौमा २ सय ६० घरपरिवारमा ३१ वटा प्रश्नावलीसहित अध्ययन गरेका थिए ।

अधिकारीका अनुसार नेपालमा विदेश गएका मध्ये औसतमा एक घरले ३२ हजार ३ सय ३८ रुपैयाँ रेमिट्यान्स प्राप्त गर्दछन् । तर रामेछापमा राष्ट्रिय औसतभन्दा कम मात्र रेमिट्यान्स प्राप्त गर्ने परिवारको सङ्ख्या ठूलो छ । जस अनुसार मन्थली नगरपालिकाका ७०.८ र रामेछापका ८६.९ प्रतिशतले औसतभन्दा कम मात्र रेमिट्यान्स प्राप्त गर्दछन् । तर मन्थलीका २९.२ र रामेछापका १३.१ प्रतिशत रेमिट्यान्स रिसिभरले राष्ट्रिय औसतभन्दा बढी रकम प्राप्त गरिरहेका छन् । जातिगत हिसाबले बाहुन क्षेत्रीका ६२ घरले राष्ट्रिय औसतभन्दा कम र २२ घरले बढी रेमिट्यान्स प्राप्त गरिरहेका छन् । यस्तै जनजातिका १ सय १९ घरले औसतभन्दा कम र ३० घरले औसतभन्दा बढी रेमिट्यान्स प्राप्त गरिरहेका छन् ।

अधिकारीका अनुसार वैदेशिक रोजगारीमा जानुपूर्व दैनिक ज्यालादारी गर्नेहरूले पठाउने रेमिट्यान्स अन्य पेसाका संलग्न भएकाहरूको भन्दा बढी छ । उनीहरूमध्ये ३३.३ प्रतिशतले राष्ट्रिय औसतभन्दा बढी नै रेमिट्यान्स घरमा पठाउने गरेका छन् । कृषि पेसामा संलग्नहरूमध्ये १८.४ प्रतिशतले मात्र राष्ट्रिय औसतभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् । वैदेशिक रोजगारी जानुपूर्व व्यापारमा संलग्नहरूमध्ये पनि २९.४ प्रतिशतले राष्ट्रिय औसतभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् ।

अनुसन्धानका अनुसार रेमिट्यान्स ग्रामीण परिवारका लागि आर्थिक ‘जीवन रेखा’ जस्तै बनेको छ। अध्ययनमा सहभागी ५९.६ प्रतिशत घरपरिवारले मासिक रूपमा रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । ६६.९ प्रतिशत शिक्षा र अन्य सेवा खर्चमा जाने गरेको छ ।

प्राप्त रेट्यिान्समध्ये ७३.५ प्रतिशत अर्थात् १ सय ९१ परिवारले दैनिक उपभोगमा खर्च गर्ने गरेका छन् । उत्तरदातामध्ये ३५.८ प्रतिशत अर्थात् ९३ घरपरिवारले रेमिट्यान्सलाई घरजग्गा खरिदमा पनि खर्च गरेको बताएका छन् । उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोग एकदम न्यून देखिएको छ । केवल १३ घरपरिवारले रेमिट्यान्सबाट आएको पैसाले नयाँ व्यापार थालेको बताएका छन् । ४३.५ प्रतिशतले विदेश जाँदा लागेको ऋण तिर्न रेमिट्यान्सको खर्च गरेको बताएका छन् । रेमिट्यान्सलाई स्वास्थ्य बिमामा प्रयोग गर्ने परिवार सङ्ख्या पनि उल्लेख्य रहेको छ । जस अनुसार ४५.८ प्रतिशतले यो प्रयोजनका लागि रेमिट्यान्सको प्रयोग गर्ने गरेका छन् ।

रेमिट्यान्सलाई बचतको रूपमा प्रयोग गर्नेहरू ६८ प्रतिशत रहेका छन् । ‘आर्थिक आम्दानीका अन्य क्षेत्र नहुँदा रेमिट्यान्स नियमित आम्दानीको स्रोत देखिएको छ,’ अधिकारी भन्छन्, ‘यसले घरको गर्जो मात्र टारेको हैन कि गाउँमा इकोनमिक लाइफलाइनका रूपमा भरथेग भएको छ । ’ रेमिट्यान्स अस्थायी आम्दानीको स्रोत भएकाले यसको सदुपयोगबाट स्थायी स्रोतमा रूपान्तरण गर्नुपर्ने उनले बताएका छन् । यसका लागि स्थानीय सरकारको उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोगसम्बन्धी नीति हुनुपर्ने उनको सुझाव छ ।

मध्यपूर्व प्रमुख गन्तव्य

अध्ययनमा समेटिएका सबै घरपरिवारका कम्तीमा एक सदस्य विदेशमा काम गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुष आप्रवासी ६१.२ प्रतिशत रहेका छन्। गन्तव्यका रूपमा मध्यपूर्व सबैभन्दा प्रमुख ४७.७ प्रतिशत रहेको छ भने जापान २३.७ प्रतिशत र दक्षिण कोरिया ६ प्रतिशत गएका छन् ।

अध्ययनले विशेष गरी जापानतर्फ महिला आप्रवासीको उपस्थिति उल्लेखनीय रहेको देखाएको छ । बसाइँसराइअघि अधिकांश युवाहरू (५८.५ प्रतिशत) कृषि पेसामा संलग्न थिए ।

आर्थिक सुधार तर सामाजिक चुनौती

अध्ययनले वैदेशिक रोजगारीपछि अधिकांश घरपरिवारको आर्थिक अवस्थामा सुधार आएको देखाएको छ । सर्वेक्षणमा सहभागी ७३.१ प्रतिशत परिवारले विगत पाँच वर्षमा आफ्नो जीवनस्तर राम्रो भएको बताएका छन्। तर वैदेशिक बसाइँसराइका सामाजिक प्रभाव पनि देखिएका छन् । करिब ३८.१ प्रतिशतले परिवारका सदस्यहरू अलग हुनु ठूलो समस्या भएको बताएका छन् ।

खास गरी वैदेशिक रोजगारीमा हुनेका श्रीमतीले एक्लो महसुस गर्ने, बच्चाहरूले असुरक्षित महसुस गर्ने, कृषि क्षेत्रमा महिला र वृद्धवृद्धाको जिम्मेवारी बढेको देखाएको छ । अध्ययनअनुसार घरमा काम गर्न सक्ने युवा विदेशमा बसाँइसराइ गर्दा रेमिट्यान्समा निर्भरता बढेको छ । जसका कारण ५४.६ प्रतिशत घरपरिवारमा कृषि उत्पादनमा कमी आएको देखिएको छ ।

वैदेशिक रोजगारीले घर-परिवारको निर्णय प्रक्रियामा भने महिलाको पहुँच बढाइरहेको देखिएको छ । तथापि ४९.६ प्रतिशत परिवारमा पुरुषले आर्थिक निर्णय गर्ने गरे पनि ४३.१ प्रतिशत महिलाले रेमिट्यान्सको प्रयोगबारे निर्णय लिन थालेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024