वैदेशिक रोजगारीमा जानेले फोनबाटै सूचना पाउने

18 December, 2025

Ajabi Poudyal

रोजगारीका लागि विभिन्न देश जान खोज्ने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउनेछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सही सूचना दिने भन्दै ‘हेल्प टु हेल्प टेन सेल’ सेवा दिने भएको हो। यो सेवाअन्र्तगत सेवाग्राहीले ऊ जान लागेको देशमा के कस्तो अवस्था छ ? जान मिल्छ मिल्दैन ? कति लागत लाग्छ ? के कस्ता प्रक्रिया अपनाउनुपर्छ सबै जानकारी पाउनेछ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले प्रलोभनमा पर्दा धेरै रकम गुमाउने र ठगीमा पर्ने घटना धेरै बढेकाले श्रम मन्त्रालयले फोनबाटै जानकारी दिने सेवा ल्याउन लागेको हो। श्रम मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले वैदेशिक रोजगारमा जाने श्रमिकलाई आवश्यक पर्ने सूचनालाई १० वटा तहमा वर्गीकरण गरेर सेवा सुरु गर्न लागेको जानकारी दिए।

डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा मन्त्रालयले यही पुस १ देखि ७ सम्म विभिन्न कार्यक्रम आयोजना गर्दैछ। श्रम आप्रवासनका चक्रमा सुशासन ः सुरक्षित मर्यादित र सीपयुक्त आप्रवासन भन्ने नाराको साथ सरकारले यो कार्यक्रम गर्न लागेको हो। यही कार्यक्रमको जानकारी दिने क्रममा श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमको क्षेत्रमा धेरै सुधान गर्न खोजिए पनि पूर्णरूपमा नसकिएको बताए। उनी भन्छन्, ‘हरेक वर्ष लाखौं व्यक्ति नेपाली श्रम बजारमा लागि तयार हुन्छन्। तर, उनीहरूलाई आवश्यक काम नेपालमा छैन। फेरि पछिल्लो समय रोजगारीको लागि विभिन्न मुलुक जाने व्यक्तिहरूको संख्या निकै बढ्दो छ। एक खालको ट्रेन्ड नै चलेको छ। कसले लैजाने हो ? के कसरी जाने हो ? बुझदै नबुझी प्रलोभनमा परेर पैसा बुझाउँदा धेरै व्यक्ति ठगीमा पर्ने गरेको उनले बताए।

यस्ता घटना कम गर्नका लागि श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प टेन सेल’ सेवा सुरु गर्न लागेको हो। यो सेवामा सेवाग्राहीले जाने देश, रोजगारदाताबाट आएको मागपत्र, योग्यता, आवश्यक पर्ने सीप, राज्यले तोकेको शुल्क, भुक्तानी गर्ने विधि, जाने सुरक्षित प्रक्रिया र योसँग सम्बन्धित आधिकारिक निकायका विषयमा फोनबाटै जानकारी पाउनेछ। यसले सही सूचना दिन्छ। श्रमिकलाई डिजिटल ट्रयाप हुनबाट जोगाउनेछ भन्ने मन्त्रालयको दाबी छ।

मन्त्रालयका अनुसार यो सेवा पुस ८ देखि सुरु हुनेछ। सचिव पुष्कर भन्छन्, ‘वैदेशिक रोजगारका जानेहरू नफसुन भनेर सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। हरेक पालिकामा रोजगार सेवा केन्द्र छ। श्रमाधान कल सेन्टर छ। श्रम कार्यालयहरू छ। यी सबै निकायबाट कार्यालय समयभित्र फोनबाटै सूचना दिने सेवा सुरु गर्न लागिएको हो।’

सामाजिक सञ्जालको भ्रममा पर्दा ठगी बढ्यो

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागमा हरेक दिन अनेक ठगीका उजुरी आउने जानकारी दिए। उनले भने, ‘विदेश जानको लागि पैसा दिएको भन्नुहुन्छ, कुनै प्रमाण हुँदैन । कसलाई दिएको हो भन्ने पनि थाहा हुँदैन ? , अनि कसरी पैसा उठाउन सकिन्छ ? ’

उनले दयनीय अवस्थामा पीडितहरू विभाग आउने गरेको बताउँदै कानुनी उपचारका लागि प्रमाण नै आवश्यक पर्ने जोड दिए। प्रमाण भएका उजुरी दर्ता गर्न केही मिनेटमात्रै लाग्ने बताउँदै उनले प्रक्रिया नपुगेका उजुरी दर्ता नहुने जानकारी दिए। निवेदन लेख्न नजान्नेका लागि विभागले नै कर्मचारी खटाएर लेखिदिने पनि उनले बताए। ‘विदेश जानका लागि पैसा बुझाउँदै हुनुहुन्छ भने, कृपया प्रमाण सुरक्षित राखिदिनुहोस,’ उनले आग्रह गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026