डिजिटल पासोमा बेरोजगार नेपाली

8 December, 2025

नेपालीमा चर्चित उखान छ, लोभले लाभ, लाभले विलाप। सित्तैमा पैसा पाइने लोभ गर्दा केही नेपालीको विलाप छ। त्यो कसरी भने आफ्नो नामको बैंक खाता अरूलाई चलाउन दिएबापत पैसा पाइने लोभमा फसेका छन् थुप्रै नेपाली। विदेशीहरूले अनलाइन ठगीका लागि त्यसरी नेपालीको बैंक खाता दुरुपयोग गरेका छन्। अनलाइनहरूमा आउने विज्ञापनमा नेपाली फसेका छन्।

कोही सस्तो सामान किन्ने लोभमा फस्छन् त कोही अनलाइनमा लगानी गर्दा नाफा आइहाल्ने लोभमा। यही मानवीय कमजोरी बुझेका ठगहरू विश्वभर छन्। तिनले नेपालजस्तो अनलाइन र बैंकिङ साक्षरता कम भएका देशलाई निशाना बनाउँछन्। विदेशी ठगले आफ्नो नाममा नेपालमा बैंक खाता नहुँदा पैसा लैजान सक्दैनन्, अनि कुनै नेपालीलाई लोभ देखाएर खाता चलाउन माग्छन्, त्यसबापत कमिसनको लोभ देखाउँछन्। त्यही लोभमा परेकाहरू अहिले धमाधम प्रहरी खोरमा परेका छन्। ठगी जसले गरे पनि ठगीका लागि प्रयोग भएको बैंक खाताको धनी पनि त्यो अपराधको कसुरदार हुने भइहाल्यो। कानुनले आफ्नो खाता जसले चलाए पनि त्यसको जिम्मेवारी खातावालाको मान्छ।

ठगीको जालो कति विस्तार भइसकेको छ भन्ने यसका पीडितले प्रहरीमा गरेका उजुरीको संख्याले देखाउँछ। काठमाडौं उपत्यकामा मात्रै यो आर्थिक वर्षमा ७ सय ११ वटा अनलाइन ठगीका उजुरी दर्ता भएका छन्। करिब १६ करोड रुपैयाँको ठगीको उजुरी छ। साइबर ब्युरोमा ६ हजार १ सय ९२ वटा उजुरी आएका छन्। ९ हजार ५ सयभन्दा बढी बैंक खाता बन्द गरिएका छन्। यो चानेचुने संख्या होइन। नेपालको बैंकिङ र आर्थिक प्रणालीका लागि चुनौती नै बनेर अनलाइन ठगी तथा बैंक खाता भाडाको प्रवृत्ति मौलाएको देखिन्छ। बैंक खाता प्रयोग गर्न अचेल बैंक धाउनु पर्दैन, मोबाइल एपबाटै चलाउन सकिन्छ र इन्टरनेटबाट पनि। त्यसको फाइदा ठगहरूले उठाएका छन्।

मोबाइल बैंकिङ लोकप्रिय हुनुको संकेत नेपालमा महिनामा १२० अर्ब रुपैयाँसम्मको कारोबार मोबाइल बैंक एपबाट हुने तथ्यांकले देखाउँछ। तर यसको दुरुपयोग गर्ने ठगहरू पनि उत्तिकै देखा परेका छन्। नेपालीलाई ठग्ने अन्तर्राष्ट्रिय गिरोहमा धेरैजसो चिनियाँ नागरिक भेटेको छ प्रहरीले। ‘घरमै बसेर कमाउनुहोस्’, ‘लगानी गर्नुहोस्, नाफा पाउनुहोस्’ जस्ता आकर्षक नारासहितका अनलाइन विज्ञापनबाट ठगहरूले जालो फिँजाउँछन्। अनि सोझासादा, बेरोजगार र विपन्न नेपाली फसाउँछन्। तर कतिपय भने जान्नेबुझ्ने र पैसावाला नै पनि फसेका छन्। जस्तो कि मकवानपुरका एक युवकले ७८ लाख अनलाइन ठगीमा गुमाए।

अनलाइन ठगीको दुष्परिणाम के भने पैसा फिर्ता पाउन कठिन हुन्छ। किनभने ठग विदेशमा हुन्छ। मात्रै बैंक खाता नेपालीको हुन्छ, ऊ पक्राउ पर्छ। तर खाताको पैसा विदेशीले लगिसकेको हुन्छ। बैंक खातावालाले समेत त्यो ठगलाई चिनेको हुँदैन। चिन्दै नचिनेको मानिसले पैसा दिन्छ, कमिसन दिन्छु वा नाफा नै दिन्छु भनेकै आधारमा लोभिनु नै यो ठगीको कारण हो। तसर्थ, नेपाली जोकोहीले पनि लोभ गर्दा लाभ होइन, विलाप हुन्छ भन्ने आफ्नै समाजको उखानबाट सिक्नुपर्छ। हरेक गाउँ, हरेक टोलका मानिसले यो बुझ्नुपर्छ। नबुझेकालाई बुझेकाले बुझाउनुपर्छ। त्यसमाथि आफ्नो थैली राम्रोसँग बाँध्नु, अरूलाई चोर दोष नलगाउनु पनि भनिन्छ। नेपालीले आफ्नो खाता अरुलाई चलाउनु दिनु नै मूर्खता हो। थैला खुला राखेर अरूलाई चलाउन दिएपछि त उसले केके गर्छ, गर्छ। त्यति सामान्य ज्ञान नराख्दा पीडित नै ठग जस्तो बनेर बैंक खाता भाडामा दिनेहरू थुनिनु परेको छ। बैंकहरूले पनि खाता र ग्राहक बढाउने होडमात्रै गर्नु हुँदै बैंकिङ र वित्तीय साक्षरता पनि बाँड्नुपर्छ। ग्राहक पहिचान (केवाईसी) का लागि प्रक्रिया कागजीमात्र नगरी बायोमेट्रिक प्रणालीमा जानुपर्छ। औंठाछाप वा आँखाको रेटिना स्क्यान गरेर मात्र कारोबार हुने व्यवस्था मिलाउनुपर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024