विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

2 December, 2025

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो। चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो।

यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो। चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो।

यसैगरी, चालु आवको पहिलो तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड कायम भएको छ। सो अवधिमा वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६८ अर्ब आठ करोड कायम भएको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024