गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर कुमार

14 July, 2025

रोजगारी र अवसरका लागि गाउँ छाड्ने क्रम बढिरहेको छ। तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन्। गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गरे पनि सफलता नमिलेपछि गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाए।

गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गरेका पुर्जा विगत चार वर्षदेखि आफ्नो जन्मगाउँ काफलडाँडा फर्केका छन्। गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाएका छन्। डेमरकटेरा टोलमा उनको तरकारी खेतीको कृषि फार्म छ। दुईवटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडाखेती गरेका पुर्जाले कृषि फार्मबाट आम्दानी गर्न सुरु गरेका छन्। टनेलमा स्थानीय स्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेँडाखेती गरिएको छ।

एउटा टनेलबाट वार्षिक चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेका पुर्जाले गोलभेँडाखेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको बताए। ‘मैले उत्पादन गरेको गोलभेँडा स्थानीय स्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुन्छ, स्थानीय प्रविधि प्रयोग गरेर गोलभेँडा उत्पादन गर्छु, गाइभैँसी र कुखुराको मल प्रयोग गर्छु, रोग कीरा लागेमा गाईभैँसीको गहुत र तितेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन,’ उनले भने।

कुमार पुर्जा कृषि तथा पशुपन्छी फार्म दर्ता गरेका पुर्जाले फार्म स्थापना गर्न अहिलेसम्म करिब रु छ लाख लगानी गरेको जानकारी दिए। लामो समयसम्म नवलपरासीमा घर निर्माणसम्बन्धी काम गरी घरपरिवारको जीविकोपार्जन गरेका पुर्जाले रोजगारको सिलसिलामा कतारमा २० महिना बसेर फर्केका थिए भने इराकमा दुईपटकसम्म पुगेर फर्कनुपरेको थियो। श्रीमती, छोराबुहारीलगायत परिवार नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थालेका छन्।

जीवनमा धेरै दुःख, कष्ट र हण्डर खेपेका पुर्जाले बाउबाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुनेका छन्। बिहानदेखि बेलुकीसम्म आफ्नै कृषि फार्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरूलाई समेत अस्थायी रूपमा रोजगारी दिने गरेका छन्। गोलभेँडाखेतीसँगै पुर्जाले काफलडाँडामा परीक्षणको रूपमा स्याउखेती विस्तार गरेका छन्।

करिब पाँच रोपनी जग्गामा कृषिखेती गर्दै आएका पुर्जाले ७० वटा स्याउका बिरुवा लगाएका छन्। यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिक रूपमा स्याउको खेती विस्तारमा जुटेको उनले बताए। कृषिलाई व्यावसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फार्ममा थोपा सिँचाइको प्रबन्ध गरेका छन्। गत चैत महिनामा लगाएको गोलभेँडा फल्न थालिसकेको छ। तीनवटा टनेलमा पुर्जाले करिब एक हजार पाँच सय गोलभेँडाका बिरुवा लगाएका छन्। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026